अध्यक्ष पिट्ने शिक्षिकाले तिरिन् क्षतिपूर्ति

 कात्तिक ९, २०७५ शुक्रबार १७:१०:५९ | शिव ढुंगाना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ओखलढुंगा– विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गर्ने शिक्षिकाले उपचार खर्च वापतको रकम तिर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा भएको छलफलमा शिक्षिका क्षतिपूर्ति तिर्ने, प्रधानाध्यापकले राजीनामा गरेर नयाँ नियुक्ति गर्ने सहमति भएको हो । उहाँले क्षतिपूर्ति वापत् ४ हजार २ सय रुपैयाँ दिने सहमति भएको पीडित नवराज खड्काले बताउनुभयो  ।

सुनकोसी गाउँपालिका वडा नम्बर ३ स्थित कालिका माध्यमिक विद्यालय सिस्नेरीको विद्यालय व्यवस्थापन समितिको बैठकका विषयमा विवाद हुँदा शिक्षिका देवकुमारी कट्वाल खड्काले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खड्कालाई कुटपीट गर्नुभएको थियो । 

विद्यालयमा पर्व बिदा लगायतका विषयमा निर्णय गर्न बैठक बोलाउन माग गर्दा विद्यालयका प्रधानाध्यापक शिव दाहालले विद्यालयमा सहायक प्रधानाध्यापक भए पनि कट्वाललाई निमित्त दिएर हिँडेपछि विवाद शुरु भएको थियो ।

प्रअ  दाहाल हिँडेपछि निमित्त पाएकी कट्वालले समेत बैठकको निर्णय पुस्तिका नदिँदा विवाद भएपछि १५ दिन पहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खड्कामाथि कुटपीट गर्नुभएको थियो ।  

घटनापछि दुवै पक्षले प्रहरी कार्यालयमा उजुरी गरेपछि छलफल हुँदा सहमति भएको थिएन । प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको उपस्थितिमा भएको छलफलमा भने शिक्षिकाले उपचार खर्च व्यहोर्ने, प्रअ हटाएर अभिभावक भेलाबाट नयाँ प्रअ चयन गर्ने सहमति भएको छ ।

दुवै पक्षबीच छलफलमा सहमति भएको प्रजिअ न्यौपानेले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया