मेरो त विवाहपछि लभ परेको हो : चेतनाथ आचार्य

 कात्तिक १०, २०७५ शनिबार १२:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

२०६१ साल माघ ८ गते दाङबाट दुलाहादुलही बोकेर आउँदै गरेको विवाहको गाडी प्यूठानमा दुर्घटनामा पर्‍यो । जसमा दुलाहा, दुलाहाका बाबुलगायत ४१ जना जन्तीको घटनास्थलमा नै मृत्यु भएको थियो । ४ जना बाँचेका थिए, जसमा दुलही निर्मला अधिकारी पनि थिइन् ।

सञ्चारकर्मी तथा लेखक चेतनाथ आचार्यले उनै निर्मलासँग विवाह गरेका थिए । आचार्य हाल ७२ भाषामा प्रसारण हुने संसारकै सबैभन्दा ठूलो रेडियो चिनिया अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा बेइजिङमा विदेशी भाषाविशेषज्ञको रूपमा कार्यरत छन् । प्रस्तुत छ उनै सञ्चारकर्मी तथा लेखक चेतनाथ आचार्यसँग गरिएको कुराकानी ।

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?

म यतिबेला बिदामा छु । पछिल्लो समय मैले लेखेको उपहार नामक कथासङ्ग्रह मकालु प्रकाशनबाट प्रकाशन भइसकेको छ र त्यसको बिक्री वितरण र त्यसलाई सार्वजनिक गर्न लागि रहेको छु । व्यस्त, अतिव्यस्त, अस्तव्यस्त सबै छु । हाहाहा ।
दसैँ कसरी मनाउनुभयो?

मेरो भर्खरै प्रकाशित ‘उपहार’ नामको कथासङ्ग्रहको बिक्री वितरणको व्यवस्थापन पनि गर्नुपर्यो । वर्षको एक पटक पाइने १ महिना छुट्टी मनाउनका लागि म चीनबाट नेपालमा आएको हूँ । दसैँको अवसर पारेर । दसैँमा छोरा छोरीलाई लिएर इलाम गए । झण्डै ७९ वर्ष पुग्नु भएकी आमा हुनुहुन्छ । दाजुभाउजु र आफन्तजनहरु हुनुहुन्छ  । उहाँको हातबाट टीका थापे र ससुराली दाङ गए । ससुराली घर इलामबाट निकै टाढा पर्छ । झण्डै एक र आधा दिन लाग्छ पुग्न । सबैसँग दसैँ मनाएर पूर्णिमाका दिन काठमाडौं फर्किएँ । 

इलाममा जन्मेको हुर्केको हिसाबले तपाईँलाई यो ठाउँ कस्तो लाग्छ ?

इलामले महानन्द सापकोटा जन्मायो, यम बराल जन्मायो, तारानाथ शर्मा जन्मायो कुबेर राई जन्मायो, रोशन गुरुङलाई जन्मायो । यहाँको वातावरण साँच्चिकै अति नै रमाइलो स्वच्छ र वर्णन गरेरै नसकिने छ । प्रकृतिप्रेमीहरूका लागि, साहित्यप्रेमीका लागि, आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि अति नै मनोरम र रमाइलो स्थान छ । यहाँ आइसकेपछि फर्कन मनै लाग्दैन ।

यहाँको हावापानीले अलिकति भने पनि आयु बढाउँछ जस्तो लाग्छ । हो, कसैकसैले मन नपराएको पनि पाउँछु किनकी इलाम घुम्न भनेर आएको जहिले पनि हुस्सु मात्र लागेको हुन्छ भनेको सुन्छु । बादलुको घुम्टोले इलाम बजार छोपिँदा..... भन्ने गीत त्यसै सिर्जना भएको होइन । भूपी शेरचनले ‘नेपालभरी अलिअलि इलाम छर्न पाए हुन्थ्यो’ भनेर कविता लेख्नु भएको छ । 

विद्यार्थी जीवनको एउटा रमाइलो घटना सुनाउँछु । काठमाडौ पढ्दै गर्दा मलाई २०५३ सालमा पाल्पा घुम्न जान मन लाग्यो र क्यामरासहित म  घुम्नका लागि म त्यहाँ गएँ । त्यहाँ श्रीनगरलगायत अन्य रमाइला ठाउँहरू घुमेँ । हिमालहरू देखिँदो रहेछ भनेँ । बस्नका लागि होटल खोज्ने क्रममा एक जना व्यक्तिलाई मेरो फोटो लिन अनुरोध गरेँ । फोटो लिएपछि  उहाँ र मेरोबीच भलाकुसारी चल्यो । उहाँले पहिलो पटक आएको हो पाल्पा घुम्न भनेर सोध्नु भयो । हो भने । कस्तो लाग्यो त पाल्पा ? असाध्यै रमाइलो लाग्यो भनेँ ।  त्यसो भए तपाईँ इलाम जानुभयो भने फर्कनु हुन्न भन्नुभयो । अनि मैले भनेँ, हुन त म मेरो घर नै इलाम हो र म त्यहाँको बासिन्दा हूँ । म त अहिले काठमाडौं पढ्ने सिलसिलामा बसेको बेलामा घुम्न मात्र आएको हूँ भन्दा उहाँ हल्का रिसाउनु भयो । किनभने प्राकृतिक र रमणीय दृष्टिले इलामलाई दाइ र पाल्पालाई भाइ भनिँदो रहेछ । म होटल खोज्न हिँडेको मान्छे त्यो रात उहाँको अनुरोधमा उहाँकै घरमा बसें ।

इलाम एउटा यस्तो ठाउँ हो । यहाँको धाराको पानी उमालेर खानै पर्दैन । म यहाँको पानीको दूध चिया खाँदा चिनी नहाली  खान्छु । काठमाडौं जस्तो उमालेर खानु पर्ने वाध्यता छैन । न त यहाँको पानी खाँदा जण्डिस नै हुन्छ न पखाला नै लाग्छ । मेरो ३ कक्षामा पढ्ने ८ वर्षको छोरा र ६ मा पढ्ने  १२ वर्षकी छोरी छ । तिनीहरू घर आउँदा यहाँको वरपरको दृश्य देखेर अति रमाउँछन् र फोटो खिचेर फेसबुकमा राख्न अनुरोध गर्दछन् । यहाँको डाँडा–काँडा, पाखा–पखेरा, उकाली–ओराली, कान्ला–कुन्ली, बाटो–घाटो र प्राकृतिक छटा एकदमै राम्रो र प्रशंसा र बयान गरेरै नसकिने छ यी सबैले खुशी दिन्छन् र यो ठाउँ खुशीको श्रोत हो ।

यहाँको वातावरण यस्तो छ कि म जतिबेला सरकारी स्कूलमा पढ्थें त्यतिबेला मैले कैयौँ दिन स्कूलै नगएर यहाँको वातावरणीय प्रभावबाट मुग्ध भएर त्यसमै बहकिएको छु । २०१९ सालमा जन्मेर ४७ सालमा काठमाडौं जानुभन्दा पहिले १८ वर्ष त्यहाँ बिताएँ र त्यसबेला के के गरे सुनाउँछु । मैले कुनै दिन चराले खुम्ले किरा बोकेको देख्दा यसले बच्चालाई ख्वाउनैका लागि लिएर उडेको हुनुपर्छ भनी त्यसका पछि लागेर चराको गुँड खोज्दै हिँडेको छु । ऐसेलु मात्र खाएर पनि दिन बिताएँ । सरकारी स्कुलको कतिबेला कहाँ गयो मतलबै हुँदैनथ्यो । 

हुलाकमा गएर आफूले चिनेको या घर वरपरको कसैको चिठी आएको रहेछ भने म लगिदिन्छु भनेर बाटोमै खोलेर हेर्ने लभलेटर रहेछ भने त खोजी खोजी पढ्ने यस्ता चिठी पढ्न झनै रमाइलो लाग्थ्यो मलाई । पछिपछि प्रकाश कोविदका उपन्यासहरूमा पनि त्यस्ता चिठी र त्यसका अंशहरू पढ्न पाइन्थ्यो । अहिले पनि धरान, धनकुटा, इटहरी, सुनसरीबाट पिकनिका लागि जाने ठाउँ कन्यामको चिया बगान पनि यहीँ नै पर्छ र त्यो कति चर्चामा आएको ठाउँ हो मैले भनिरहनु नै पर्दैन ।

सञ्चार क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?

यसक्षेत्रमा लाग्ने मेरो कुनै उद्देश्य नै थिएन । म इलामबाट काठमाडौं साइन्स पढ्न आएको थिएँ ।  अमृत साइन्स क्याम्पस भर्ना भएर आइएससी पढेँ र पास भएँ । बाँच्नका लागि दैनिक खर्चका लागि भए पनि सानो आम्दानीको स्रोत आवश्यक देखियो । त्यसका लागि मैले नेपाली विषय लिएर स्नातक स्तरमा अध्ययन गर्ने निर्णय गरेँ । बेला बेलामा विभिन्न पत्रपत्रिकाहरूमा लेखहरू लेख्न थालेँ । मेरा लेखहरू छापिन थाले ।

बोर्डिङ पढाउन थालेँ । खुल्लाबजार भन्ने पत्रिकामा काम पाएँ । पछि गएर नयाँ सडक दैनिकको सम्पादकसम्म भएँ र काम गर्न थालें । बोर्डिङमा नेपाली पढाउन थालेपछि स्कुलमा हुने कार्यक्रमहरूमा उद्घोषक पनि भएँ यो क्रम चलि नै रह्यो ।  यहाँसम्म आइपुग्दा  पत्रकारितालाई छोड्नै नसकिने भइयो र यो क्षेत्रमा छिरियो ।

लेख रचना गर्दा विषयको छनौट कसरी रोज्नु हुन्छ ? 

बसमा यात्रा गर्दा मान्छेले गर्ने गुनासाहरू । दुइ पक्षबीच भएका कुराहरूलाई लिएर । मोबाइलमा कुरा गर्दा । कहिँकतै यात्रा गरिरहँदा सुनेका कुराहरू संवाद एवम् विवाद भएका विषयहरू पनि हुन सक्छ । यही बिषयमा नै लेख्छु भनेर लेखिने विषयहरू कम नै हुन्छ जस्तो लाग्छ । २०७२ सालमा भूकम्प गयो एउटा गाउँमा एउटै नाम थर भएका दुई व्यक्ति रहेछन् । एक जनाको धरहरा लड्दा मृत्यु भएछ र श्रद्घाञ्जली अर्कोलाई दिइएछ र उसले बाध्य भएर भन्नु परेछ मृत्यु हुनेमा म होइन उहाँ अर्को साथी हो भन्नु परेको अवस्था परेको थियो । त्यो कुरा लाई उपहार कथासङ्ग्रहमा मृत्युकम्प शीर्षकमा समेटेको छु ।

बसाई सोच्नुहोस् त मलेसिया कतार बस्ने पनि बसाई हो ओखलढुङ्गाबाट इटहरी सर्नु भयो त्यो पनि बसाईं हो । आजकलका युवा अमेरिका अष्ट्रेलीया बेलायत जाने र त्यहाँको ग्रीन कार्ड पाउन खोज्छ त्यो पनि बसाई । उपहार कथामा लेखिएको बसाई वास्तविक हो । सत्य घटनामा आधारित छ । त्यहाँ लेखिएका ठाउँको नाम पनि सत्य नै हो । संवाद पनि सत्य । घटना सत्य हो जे छ त्यो सबै सत्य हो ।

म रिसाहा पनि छु, म भावुक पनि छु । आफैले लेखेको कथाले कहिलेकाहिँ रुवाउँछ रुन्छु पनि । तीन पटकसम्म मुख धुनुपर्ने अवस्था आउँछ । र्‍याल सिँगान नै भइन्छ । जो रिसाउँछ उ खुशी पनि हुन्छ । म धेरै खुशी पनि हुन्छु । मैले पहिलो पटक कथासङ्ग्रह ‘रित्तो कोठाको तस्बिर’ (२०६८) काठमाडाै‌मा लेखेको हूँ । मेराआँखामा चीन, बुद्धको उपहार, चीन चिहाउँदा र उपहार कथासङ्ग्रह पछिल्लो कृति हो ।

एउटा कथा लेख्न कति समय लाग्छ ?

एकै बसाईमा पनि सकिन्छ । सल्लाह सुझाव माग्ने र सम्पादन गर्दा २–३ दिन देखि हप्तौंसम्म पनि लाग्न सक्छ । म कहिले कथा लेखेर श्रीमतीलाई सुनाउँछु । साथी भाइलाई सोध्छु । साथीभाइहरूसँग सोध्दा पूनर्लेखन पनि गरेको हुन्छु । कहिलेकाहिँ लेख्दालेख्दैै विषयले अर्के मोड पनि लिएको हुन्छ ।

म ९०–९५ प्रतिशत वियोगान्त कथा लेख्छु । वियोगान्तले  पीडा पनि दिन्छ । त्यसैले होला यसले खाली वियोगान्त कथा लेख्छ भन्ने आरोप लाग्ने गरेको छ मलाई । संयोगान्त कम लेख्छु । कारण वियोगान्तले मन छुन्छ थकथकी लाग्छ र फेरि पनि पढ्न मन लाग्ने हुन्छ । संयोगान्तले आनन्द दिन्छ, बिर्सन्छ ।

नेपाल कहिले–कहिले आउनु हुन्छ ?

वर्षमा एक पटक एक महिना बिदा हुन्छ । त्यो एक महिना बिदालाई प्रत्येक वर्ष दसैँको बेला पारेर नेपालमा आउँछु । काठमाडौं बसेर पढेका केटाकेटीसँग भेट गर्छु, इलाम जान्छु आमाको हातको टीका लगाउँछु र दाङ ससुराली पुग्छु त्यतिबेला म्म बिदा सकिनै लागिसकेको हुन्छ अनि काठमाडौं फर्कन्छु ।

भाउजुसँग फोन गर्दा कस्ता कुरा हुन्छन् ? रमाइलो क्षण ?

भिडियो च्याटमार्फत कुरा हुन्छ । दिनहुँ सम्पर्क हुन्छ । कहिलेकाहीँ २ पटक सम्म कुरा हुन्छ । त्यसबेला खासै कुरा त केही हुँदैन । कुरा हुने विषय भनेको केटाकेटीको पढाइकै विषय बढी हो । पढ्दैनन् । पढ्न मान्दैनन् । सम्झाउनु पर्‍यो भन्ने नै बढी हुन्छ । कहिलेकाहीँ बच्चाहरूलाई पढपढ भनेर मात्रै पनि हुँदैन । आफ्नो पालाको जस्तो नसोच भन्छु । उनीहरूलाई भिडियो मार्फत सम्झाउँछु ।

छाेराछाेरीकाे परीक्षाफल प्रकाशित भएको बेला खुशी हुन्छु । त्यसैगरी आमासँग पनि कुरा गर्छु । आफूले काम गरेको अफिस देखाउँछु, त्यहाँ काम गर्ने बहिनीहरूसँग कुरा गर्नुहोस् भन्छु, रातिको समयमा बजारमा घुम्न  निस्केको भए त्यो दृश्यहरू देखाउन भन्छु । त्यति मात्र होइन एकपटक चैत्र महिनामा नेपालमा विद्यालय बन्द भएको अवसरमा श्रीमती ससुरा र छोराछोरीलाई उतै बोलाएर घुमाएको पनि छु ।

भाउजुसँग कसरी भेट भयो ?

मेरो घर इलाम कर्मथलो काठमाडौं मेरो ससुराली दाङ । मेरी श्रीमतीको नाम निर्मला अधिकारी हो ।  धेरैले प्रेम विवाह गरेको भने तर मैले परम्परागत हिसाबले मागी विवाह नै गरेको हूँ । मेरो त विवाहपछि लभ परेको हो । पत्रकारिता गर्ने भएकोले घर आउँदा कहिलेकाहीँ ढिलो हुन्थ्यो । उनी रिसाउँदै भन्थिन्, ‘आज किन ढिला ?’ अनि म पत्रकारको खाना चिसो श्रीमती तातो भन्थे हँसाउँथे । विवाह मागी भए पनि त्यसका पछाडि एउटा घटना जोडिएको पनि छ । जसका कारण मैले खोजीखोजी नै यो विवाह गरेको हूँ ।

२०६१ साल माघ ८ गते दाङबाट दुलाहादुलही बोकेर आउँदै गरेको विवाहको गाडी प्यूठानको गर्जेनी भन्ने ठाउँमा दुर्घटनामा पर्‍यो । जसमा दुलाहा, दुलाहाका बाबुलगायत ४१ जना जन्तीको घटनास्थलमानै मृत्यु भएको थियो । ४ जना बाँचेका थिए  । तीमध्ये एक जना दुलही निर्मला अधिकारी थिइन् । प्यूठान टारी गाउँका लोकराज रिजाल सँग विवाह भएर माइतीबाट बिदाई भएपछि दुलाहाको घरतर्फ आउँदै गरेको बेलामा त्यो दुर्घटना भएको थियो । मैले खोजेरै भेटेको थिएँ ।

विवाहको लागि प्रस्ताव कसरी राख्नुभयो ?

म ३४ वर्षको भैसकेको थिएँ । साथीहरूले पनि ढिला भइसक्यो भन्नु भएको थियो । खासमा म इलामतिरकै केटी विवाह गर्न चाहन्थेँ तर अनुकुल भएन । त्यसभन्दा अलिकति तल झापा तिर झरियो त्यहाँ पनि फेला परेन । काठमाडौंमा पनि साँखुसम्म पुगियो कुरा मिलेन । म चाहन्थे राम्रो बानी व्यहोरा भएकी तर दुःख पाएकी गरिब टुहुरी पाराको केटी भए हुन्छ भन्ने लाग्थ्यो ।

म अलि फरक धारको हिसाबमा विवाह गर्न चाहन्थेँ अर्थात प्रगतिशील खालको विवाह गर्नुपर्छ अलिकति परिवर्तनको म्यासेज दिनु पर्छ भन्ने खालको कुरा उठ्यो । त्यो दुर्घनामा परेकी निर्मला अधिकारी कहाँ के गर्दै होलिन् भन्ने कुराले मेरो मन खुल्दुली मच्चायो । मैले एक जना दाङतिरकै साथीलाई यो कुरा राखेँ । साथीले पनि मलाई यो कुरामा साथ दिनुभयो ।

निर्मला उपचारपश्चात आफ्ना दाजुहरूसँग कीर्तिपुरमा बसेर ताहाचल क्याम्पसमा पढ्ने गरेको थाहा पाएँ । एकै चोटीमा त्यहाँ गएर उनीसँग भेटेर विवाहको कुरा राख्ने अवस्था त थिएन । केटीको स्वास्थ्य, मानसिक, शारिरीक अवस्था बुझेर राम्रो अवस्था भए विवाह गर्ने मनस्थिति थियो र त्यो अवसरको खोजीमा म थिएँ । 

बैक अफ् काठमाडौंमा काम गर्ने केटीको ठूली आमाको छोरी ज्वाईं(भिनाजु) छवि सुवेदी मार्फत यो कुरा अगाडि बढ्यो । उहाँ हाँडीगाउँ बस्नु हुने रहेछ । दाङ खबर पठाउनु भयो । उता बाट हुन्छ भनेर खबर आएछ । दाङ तिरका दुईजना साथी लिएर म त्यहाँ गएँ  चिया खाइयो मलाई चित्त बुझ्यो । त्यो दिनसम्म निर्मलाको विवाह गर्ने विषयलाई लिएर कुनै कुरा कसैले उठाएको थिएन । किनकी यो घटना भएको १२–१३ महिना मात्र भएको थियो ।

भोलिपल्ट भिनाजुले यसो एउटा सालीको पूर्वतिर विवाह गरिदिन पाए पनि पूर्वतिर घुम्न जाँदा बास बस्ने ठाउँ हुन्थ्यो होटल खोजी हिँड्न पर्दैनथ्यो । कि विवाह गर्ने हो र पूर्व तर । हिँजो यहाँ चियाखान आउने तीनजना मध्ये एउटा पत्रकारले तिमीलाई मन पराएछ भनेर छवि सुवेदीले भनेपछि तीन जना थिए कुन हो कुन हो जस्तो भएछ । त्यसपछि हामीहरूलाई भोलिपल्टै आउन भनियो ।

त्यसपछि भोलिपल्टै समय मिलाएर बेलुकातिर गइयो । हामी त्यहाँ पुग्दा लोडसेडिङ भएको थियो । टुकी बालेरै कुराकानी गर्न बसियो । मैले आफ्नो कुरा राखेँ । बिहे गर्ने हो त म त सामान्य परिवारको मान्छे जसोतसो गुजारा गरेर पढ्न बसेको छु संघर्ष मै जीवन बितिरहेछ भनेपछि । अन्त्यमा हुन्छ भन्ने जस्तो कुरा भयो । सायद यो कुरा २०६२ साल फागुन महिना तिरको थियो । अन्त्यमा २०६३ साल वैशाख ११ मा लोकतन्त्रको घोषणा आयो वैशाख २४ गते विवाह सम्पन्न भयो ।

पहिलो पटक देख्दा कस्तो महसुस गर्नुभयो ?

नहेरीकन त विवाह नगर्ने नै मेरो विचार थियो । शारिरीक, मानसिक, स्वास्थ्यको हिसाबले ठीक भए मात्र विवाह गर्र्छु भन्ने विचार बोकेको थिएँ । किनकी मानसिक रुपले त्यत्रो घटना उनीमाथि पर्दा उनको अवस्था कस्तो थियो त मलाई थाहा थिएन ।

उनले प्रस्ताव ल्याउन सक्ने त अवस्था पनि थिएन । तर जब हाँडीगाउँ गएर कुराकानी भयो । हेर्दैमा विवाह हुन्छ नसम्झनु होला । यहाँ एक अर्काले अस्वीकार गर्न सक्ने अवस्था छ । म अहिले हेर्न मात्र आएको हो भनेँ । कुरा चल्यो । यत्तिको केटीसँग विवाह गर्दा हुन्छ भन्ने लाग्यो र हुन्छ भनेँ कुरा अघि बढ्यो ।

घर परिवारमा कसरी प्रस्ताव राख्नुभयो के भनेर कुरा उठाउनुभयो ?

घटनासँग जोडिएका नकारात्मक पक्षलाई चिरफार गर्न र त्यस्ता कुरालाई अँगाल्न सक्नु पर्छ भन्ने मनमा लाग्यो प्रस्ताव राखेर नै मैले यस्तो निर्णय गरेको थिएँ ।

जनआन्दोलनपछि म इलाम गएँ । यो घटना परिघटना बताएँ । दाजुभाउजु दिदीहरूसँग पनि कुरा राखेँ । हो, यस्तो राम्रो काम गर्नु पर्छ भन्नु भयो आमालाई पनि भनें आमाले पनि हुन्छ भन्नुभयो । मैले थाहा पाएसम्म मेरो हजुरबुवाले पनि विधवा विवाह गर्नु भएको थियो । इलामको समाज यस्ता विषयमा अलि अगाडि नै छ । सबैबाट तँलाई मन पर्छ भने गर भन्ने सल्लाह पाएँ ।

पहिलो पटक ससुराली जाँदाको क्षण ?

विवाहपश्चात् म असारमा ससुराली गएको थिएँ । त्यतिबेला निर्मलालाई विवाह गर्ने पूर्वतिरको केटो आज आउँदैछ भनेर ससुरालीतिर गाइँगुइँ चलेछ । पत्रकार हो अरे पनि भनेछन् । बसको लामो यात्रा धुलैमैलो भएर गइएको थियो । त्यहाँ पुगेपछि नुहाईधुहाई गरी बसियो ।

भोलिपल्ट हामी आउँदै छौं भनेर थाहा पाउनेहरू कस्तो रहेछ त यस्ती केटीलाई विवाह गर्ने केटो भनेर हेर्नैका निम्ति भए पनि बाटोभरी बसेको देखिन्थ्यो । मानिसहरू यताउता गरिरहेका हुन्थे । उनी कम बोल्ने ब बोली रहनु पर्ने । बोलीचाली त राम्रै भएको केटा रहेछ भन्ने कुरा पछि थाहा पाएँ खुशी लाग्यो  ।

अन्त्यमा केही भन्नुहुन्छ ?

मकालु प्रकाशनले छपाई गरेको मेरो पछिल्लो कृति उपहार भन्ने मूल्य रू.२५०।–को कथासङ्ग्रह भरखरै प्रकाशित भई बजारमा आएको छ त्यसलाई किनेर पढीदिन हुन अनुरोध गर्दै बिदा हुन चाहन्छु ।

चीन कहिले फर्कनु हुन्छ ?

कार्तिक १२ गतेतिर फर्कन्छु ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: मंसिर ३, २०७५

तपाईको प्रतिक्रिया