भागेर दोस्रो अन्तरजातीय विवाह गरेकी रुवीको श्रीमानले गरे हत्या

 कात्तिक १०, २०७५ शनिबार १३:५०:२८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २८ वर्षका संजय यादवले २४  वर्षकी पत्नी रुवी ठाकुरलाई कुटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ ७ बजे पत्नी रुवीलाई संजयले कुटपिट गरेर बेहोस् छाडेर स्थानीय एकजना डाक्टर बोलाउन गएका थिए । डाक्टर आएर उपचार गरेपछि एकपटक होस् आएको र केहीबेरमा उहाँको ज्यान गएको डाक्टरको भनाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले बताउनुभयो ।

तर डाक्टर बोलाउन गएका पति संजय भने उत्तैबाट फरार भएका छन् । स्थानीयका अनुसार तीनदिनदेखि श्रीमान–श्रीमतीबीच भएको थियो । त्यही विवादका क्रममा यादवले श्रीमती रुवीमाथि कुटपिट र यातना दिएको र त्यसै क्रममा रुवीको ज्यान गएको प्रहरी निरीक्षक कुशवाहाले बताउनुभयो ।

शवलाई राति नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र फरार यादवको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
 
यता रुवीका माइतपक्षले छोरीको छातीमा ढुंगा प्रहार गरी हत्या भएको छिमेकीहरुको बताएको बताएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका ७ तरापट्टी बस्ने रामप्रसास ठाकुरकी छोरी रुवीको ६ वर्ष अघि समाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासामा संजय ठाकुर भन्ने केटासँग विवाह भएको थियो ।

तर त्यसको एकवर्ष नबित्दै रुवी भागेर धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका संजय यादवसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । त्यसपछि रुवीको माइतसँग सम्बन्ध चिसिएको र आवत–जावत समेत नरहेको रुवीका भाइ विनोद ठाकुरको भनाई छ ।

शुक्रबार साँझ ८ बजेतिर रुवीको हत्या भएको कुरा छिमेकहरुले बताएपछि आफूलाई थाहा भएको भाइ विनोदले बताउनुभयो । भाइ विनोदका अनुसार संजय बदमास केटो रहेको र केही दिन अघि रुवीले आफ्नो सुन बेचेर पैसा राखेको कुरा थाहा पाएपछि संजयले पैसा लिन रुवीलाई कुटपिट र यातना दिँदै आएका थिए ।

सुन बेचेको पैसा लिनकै लागि शुक्रबार साँझ रुवीमाथि उनकै श्रीमानले कुटपिट गरी हत्या गरेको आफूलाई स्थानीयले जानकारी गराएको विनोदले बताउनुभयो । 

उहाँले रुवीको हत्यामा संलग्न यादवलगायत सबैलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो । संजय ट्रक चालक रहेको र बिहे भएकै बेलादेखि संजयले बेला बेला रुवीलाई कुटपिट गर्दै आएको स्थानीयले बताएका छन् ।   

अन्तिम अपडेट: चैत ११, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया