आफ्नै पौरखमा विश्वास गरौं

 कात्तिक १०, २०७५ शनिबार १४:२९:१७ | सुजता सुनुवार

इलाम – कात्तिक ३१ गते अथवा दसैँको टिकाको तीन दिन अघि । परदेशीहरु दसैँको खुसी लिएर गाउँ छिर्दै थिए । तर इलामको इलाम नगरपालिका शान्तिडाँडाँका रोशन थापा झोला बोकेर काठमाडौं हिड्नुभयो । 

असोज १ गते कुवेत जाने टिकट भएकाले उहाँले परिवारसँग दसैँ मनाउन पाउनुभएन । कहिले विदा मिलेन त कहिले समय मिलेन । राेशन परदेश लागेको सात वर्ष भयो । यी सातै वर्ष उहाँले परिवारसँग चाडवाड मनाउन पाउनुभएको छैन । 

रोशनले सन् २०१० देखि २०१५ सम्म साउदी र २०१६ देखि २०१८ सम्म युएईमा बिताउनु भयो । साउदीमा उहाँले लेनमार्क गु्रप कम्पनीमा स्टोर इन्चार्ज भएर पाँच वर्ष काम गर्नुभयो ।

युएईमा हुण्डाई कम्पनीमा लेवर इन्चार्ज भएर दुई वर्ष काम गर्नुभयो । अहिले युएईमै काम गरेको हुण्डाई कम्पनीकै कन्ट्रयाक्टमा कुवेत जान लाग्नुभएको हो रोशन । 
कम्पनीले  र म्यानेजर राम्रो परेकाले त्यती दुःख भोग्नु परेन भन्नुहुन्छ रोशन । सात वर्षको कमाइले उहाँले जग्गा किनेर घर पनि बनाउनुभयो । 

दुई छोरीलाई पनि उहाँले बोर्डिङ्ग स्कुलमा पढाइ रहनुभएको छ । ‘आफ्नै लगानीमा पछि केही गर्ने योजना छ, त्यसैले कमाउन फेरि पनि विदेश नै जान लागेको हुँ,’ राेशनफेरि विदेश जानुको कारण बताउनुहुन्छ । 

तर फाकफोकथुम गाउँपालिका ७ फूयतप्पाका जयप्रकाश मगरले भने कतारबाट दसैँको छेको पारेर फेरि विदेश नफर्किने गरी फर्किनुभएको छ । 

जयप्रकाश सन् २०१५ मा कतार जानु भयो । सय कडा तीन रुपैयाँका दरले ८५ हजार रुपैयाँ ऋण काढेर उहाँ कतार जानुभएको थियो । कतारको कमाइले उहाँले गाउँमा किराना पसल सुरुवात गर्नुभयो । 

कतारमा गरेको कामले नै उहाँलाई नेपालमा केही गर्ने प्रेरणा मिल्यो । कतारमा काम राम्रो थियो जयप्रकाशको । ‘काम त राम्रो थियो, तर त्यहाँ गर्ने दुःख यही गर्दा राम्रो हुन्छ भनेर आएको हुँ, अब यही केही गर्छु,’ जयप्रकाश भन्नुहुन्छ । 

सरकारका योजनामा विश्वस्त छैनन् 

‘नियम छ तर लागू हुँदैन, कार्यन्वयनमा आएका चिजको पनि सर्वसाधरण सदुपयोग गर्न गाह्रो छ अनि नेपालमा के गर्नु,’ रोशन प्रश्न गर्नुहुन्छ । 

रोशनले वर्षैदेखि नभेटेको प्रश्नको जवाफ परिवारले त कसरी भेटुन । युवालाई स्वदेशमै रोजगारी दिने भन्दै सरकारले ल्याएका विभिन्न योजनाले त रोशनलाई छुनुपर्ने हो तर सरकारका नीति र योजनासँग पनि त्यती विश्वास छैन रोशनलाई । ‘सरकार फेरिइरहन्छ, पहिले जस्तै हुने हो कि, विस्वास गर्ने आधार नै के छ र,’ रोशन भन्नुहुन्छ, ‘त्यसैले फेरि विदेश जान लागेको हुँ ।’

रोजगारीका लागी कुनै पनि नेपाली विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्न भन्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ । तर सरकारले ल्याएको योजना र कार्यक्रमप्रति रोशन र जयप्रकाश दुवै विश्वस्त हुन सक्नुभएको छैन । 

‘यस्ता नीति तथा कार्यक्रम लागु भए एकदम राम्रो, नभए पनि सरकारी सहयोग होला र गरुँला भनेर पर्खिन्न, ’ जयप्रकाश भन्नुहुन्छ , नेपालीले विदेशमा पाएको दुःख देखेर नेपालमा नै केही गरुँ भनेर नेपाल आएको छु ।’ 

सरकारकै योजनामा भर नपरे पनि जयप्रकाशलाई आफ्नो पौरखमा भर छ । 
    
 

अन्तिम अपडेट: चैत ६, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया