रुकुम कप फुटबलको चौथो संस्करण सुरु

 कात्तिक १०, २०७५ शनिबार १७:६:१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व –  रुकुम पश्चिम र पूर्वकै सर्वाधिक पुरस्कार राशीको रुकुम कप फुटबल सुरु भएको छ ।

समृद्ध समाज नेपाल रुकुम पूर्वले हरेक वर्ष आयोजना गर्दै आएको रुकुम कपको चौथो संस्करण शनिबारबाट सुरु भएको हो । कपको ५ नम्बर प्रदेशका सभामुख पूर्ण घर्तीले उद्घाटन गर्नुभयो ।  

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको शहीद स्मृति रुक्मिणि रंगशालामा १४ गतेसम्म चल्ने प्रतियोगीतामा रुकुम पूर्व र पश्चिमका ११ वटा फुटबल क्लबहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगीताको विजेताले नगद ८० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले ४० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक तिलक रेउलेले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने दुई टिमले नगद १५÷१५ हजार प्राप्त गर्नेछन् । यसका साथै अनुशासित क्लबले १० हजारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट खेलाडीले मायाको चिनो प्रमाणपत्र सहित नगद ७ हजार पाउने आयोजकले जनाएको छ ।

त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले मायाको चिनो प्रमाणपत्र सहित ५/५ हजार नगद प्राप्त गर्ने छन् भने यस बर्षबाट उत्कृष्ट प्रशिक्षक पुरस्कार समेत दिइने बताइएको छ । उत्कृष्ट प्रशिक्षकले मायाको चिनो प्रमाणपत्रसहित नगद ५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगीतामा शिद्ध गुफा युवा क्लब मुसिकोट नगरपालिका १ सल्ले, मुसिकोट नगरपालिका १३ छिवाङ, रुकुमकोट युथ क्लब ए र बी, सृजनशील युवा समाज रुकुमकोट ए र बी, हिमशिखा बोर्डिङ स्कुल रुकुमकोट, झुल्खेत सिटी, कमल दह युवा क्लब रुकुमकोट, चुनवाङ युवा समूह र शेरिगाउँले सहभागीता जनाएका छन् ।

प्रतियोगीताको मुख्य प्रायोजकका रुपमा सिस्ने गाउँपालिका रहेको छ । गाउँपालिकाले प्रतियोगीता सञ्चालनका लागि दुई लाख ७५ हजार रकम सहयोग गरेको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष सुवोधराज शिर्पालीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया