पूर्व राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै पूजाको तयारी !

 कात्तिक ११, २०७५ आइतबार ९:२४:३३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – स्वर्गीय राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै अर्घाखाँचीमा एक महिलाले पूजाको तयारी गरेकी छिन् ।

सन्धिखर्क नगरपालिका १२ लहरेबाँध निवासी ५१ वर्षीया छमकला श्रेष्ठले सपनामा राजा वीरेन्द्र रुँदै आएको र भगवानले पूजा गर्न भनेकाले त्यसैअनुसार पूजा गर्न लागेको बताउनुभयो ।

पूजाको लागि रेखी, प्रसाद, जौ, तिल, कुस, टपरी, कपडा, दियो, कलश, बत्ती , चकटी, चामल, महाप्रसाद, घिउ, तेल, हवन सामग्री सबै तयार भएको पनि उहाँको भनाई छ । स्वर्गीय राजा वीरेन्द्रको जहाँ हत्या भएको थियो, त्यही ठाउँमा गएर पूजा लगाउनु पर्ने भएकाले यसमा सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘एक वर्ष लगाएर सामग्री तयार पारें । सामग्री तयार पार्दा कसैलाई नभन्नु भनेकोले भनिनँ । अब भन्न सक्छौ भनेपछि सहयोग गर्न आग्रह गरेको हो’ उहाँले भन्नुभयो ।  

सूर्य भगवानले भनेअनुसार सात हातको २१ सय २१ सराको बत्ती बनाएको र त्यो बत्ती कात्तिक औंसीमा बाल्न सकेमा राम्रो हुने देवताले बताएको पनि उहाँको भनाई छ ।

स्वर्गीय राजा त्रिभुवनले सपनामा झाँक्रीलाई पाठो, देवीलाई फरहरा,  राजगद्धीको सत्यता हरायो,, भत्कियो धरहरा भनेर गीत समेत गाउने गरेको श्रेष्ठले बताउनुभयो ।

उहाँले कपालमा जटा बनाउनुभएको छ । नुहाउनु पनि भएको छैन । भगवानले नै नुहाउन नहुने भएकाले यसै गरेको उहाँको भनाई छ ।

अन्तिम अपडेट: चैत २, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया