मालाले मालामाल : भक्तपुरमा उनेको माला अष्ट्रेलियासम्म

 कात्तिक ११, २०७५ आइतबार १०:२९:१ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – बारी र खेतमा फूल फुलेर ढकमक्क भएको छ । मखमली र सयपत्रीले बस्ती नै पँहेलपुर र राताम्मे देखिन्छ । तिनै फूल उनेर बनाइएका मालाले घर भरिएका छन् । माला बनाउने काम धमाधम भैरहेको छ । 

भक्तपुर सूर्यविनायक नगरपालिका टिकाथलीका विश्वराज नगरकोटीलाई पनि मखमलीको माला उन्न भ्याईनभ्याई छ । धान पाकेर पहेँलपुर भैसक्यो, तर उहाँसहित परिवारका पाँचैजना सदस्य माला बनाउने काममा व्यस्त छन् । धानले दिनेभन्दा बढी आम्दानी माला बेचेर हुने भएपछि नगरकोटी यही काममा लाग्नुभएको हो । 

तिहार नजिकिएसँगै माला उन्ने चटारो बढेको छ । आफू र परिवारका सदस्यले समेत नभ्याएपछि नगरकोटीले फूल टिप्ने र माला बनाउने काममा अरु मान्छेलाईसमेत खटाउनुभएको छ  । केही दिनको लागि स्कुल, कलेज समेत नगएर छोरीहरुले माला गाँस्ने काममा सघाइरहेका छन् ।

फूल फुलेको बेला माला माला नगाँसे बारीमै फूल बिग्रिने र अहिलेदेखि नै माला गाँसे मात्र तिहारको लागि माग अनुसारको पूर्ति गर्न सकिने भएपछि उहाँहरु अहिले सबैजना माला गाँस्ने काममा लाग्नुभएको हो । 

नगरकोटीले दश वर्ष अघिदेखि फूल खेती गर्दै आउनुभएको छ । उहाँले करिब दुई रोपनी जग्गामा फूल रोप्नुभएको छ ।  फूल खेतीबाट राम्रो आम्दानी हुने र बजारको अभाव पनि नहुने भएपछि उहाँ यो व्यवसायमा लाग्नुभएको हो । एउटा मालाको मूल्य होलसेलमा २० देखि ३० रुपैयाँसम्म र खुद्रामा ५० देखि एकसय रुपैयाँसम्म पर्ने उहाँ बताउनुहुन्छ । 

फूल टिपेको र बनाउन लगाएको सबै ज्याला कटाएर अघिल्लो वर्ष ८० हजार रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो । यो वर्ष डेढलाख रुपैयाँ जति आम्दानी हुने उहाँको आशा छ । यो वर्ष फूल पनि राम्रो उत्पादन भएको र माला उन्ने काम पनि समयमै भएकोले राम्रो आम्दानी हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । 

उहाँले अहिलेसम्म आठ हजार माला उनिसक्नुभएको छ र बारीबाट फूल टिप्ने र उन्ने काम भैरहेको छ ।

सूर्यविनायककै अर्का फूल व्यवसायी सूर्यनारायण नगरकोटीले पनि फूल खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । वार्षिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँले पनि फूल गाँस्ने र फूल टिप्ने काममा ज्याला दिएर मान्छे लगाउनुभएको छ । फूल टिपेको र एउटा माला गाँसेको पाँच रुपैयाँ ज्याला दिने गरेको उहाँ बताउनुहुन्छ । 

आफूले उनेका माला अष्ट्रेलियासम्म पुगेकोमा उहाँ खुसी हुनुहुन्छ । अघिल्लो वर्ष तीन हजार मखमलीको माला अष्ट्रेलियाबाट माग भएको थियो । उहाँ भन्नुहुन्छ, ‘यो वर्ष पनि माग हुन्छ होला । अहिले धरान र पोखराबाट अर्डर आइसक्यो ।’

उहाँहरु मात्र होइन, यहाँका अरु बासिन्दा पनि फूल खेतीमा लागेका छन् । टिथलीबाट मात्रै तिहारको लागि पाँच लाख जति माला बाहिरिन्छन् । 

‘तरकारी खेती गर्नको लागि सिँचाईको सुविधा नभएकाले फूल खेती गर्न थालेका हौं । अहिले यसैले राम्रो आम्दानी दिन थालेपछि ढुक्क छौं’  विश्वराज नगरकोटीले भन्नुभयो, ‘सरकारी पक्षबाट केही सहयोग मिल्यो भने अझै राम्रो हुने थियो, तर कुनै पनि सहयोग मिलेकोे छैन ।’ 

सरकारले बजारमा मालाको मूल्य निर्धारण गर्नुपर्ने उहाँको माग छ । ‘भण्डारणको अभावले गर्दा भनेजस्तो सुरक्षित राख्न समस्या हुने गरेको छ । सरकाले भण्डारको लागि सहयोग गरिदिए यहाँका बासिन्दा सबैले व्यवसायी फूल खेती गर्ने थिए’ उहाँ भन्नुहुन्छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया