मालपोत कर्मचारीको मिलेमतोमा राजमार्गको जग्गा बिक्रि

 जेठ २५, २०७५ शुक्रबार २०:९:१९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – वन, मठ मन्दिर र गुठीका जग्गाहरु, बगिरहेको खोला, बिक्रि गरेको घटना त सुनेकै हो । उदयपुरमा अर्को त्यस्तै घटना भएको छ । एक व्यक्तिले राजमार्गको जग्गा नै बिक्रि गरेका छन् ।

उदेयपुरको त्रियुगा नगरपालिका–३, मोतिगडामा रहेको सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडकखण्डमा पर्ने करिब ८ कठ्ठा जग्गा बिक्रि भएको हो । बिक्रि भएको जग्गा सदरमुकाम गाईघाटबाट दुई किलोमिटरको दूरीमा पर्छ ।

मालपोत कर्मचारीको मिलेमतोमा स्थानीय शिवप्रसाद दाहालले सडकको नाममा रहेको ७ कठ्ठा १९ धुर जग्गा बिक्रि गरेको भेटिएको हो । दाहालले ललितपुर खोकना ३ का नेपाल डंगोललाई १ करोड २७ लाख २० हजार रुपैयाँमा जग्गा रजिष्ट्रेनसन पास गरेका हुन । मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा जग्गा किनबेच गरिएको जग्गा खरिदकर्ता डंगोलको आरोप छ ।

‘त्रियुगा नगरपालिका वडा ३ का अध्यक्षले समेत घरबाटोको सिफारिस गर्नु भएको छ’, डंगोलले भन्नुभयो, ‘सडकमा जग्गा पर्छ भने कसरी उहाँले सिफारिस दिनुभयो ?’ आफूलाई जग्गा खरिदमा फसाइएको जग्गा खरिदकर्ता नेपाल डंगोलले गुनासो  गर्नुभयो । ‘म जग्गा खरिद गर्ने मान्छे, नापीमा गएर नक्सा हेरेँ, दुरुस्त छ’, डंगोलले भन्नुभयो, ‘मालपोतमा गएर मोठ हेरेँ, त्यो पनि ठीक छ ।’

मालपोत र नापीका कर्मचारीको मिलेमतोमा डेढ करोड रकम फसाइएको डंगोलको दाबी छ । ‘सरासर मातपोतका कर्मचारीको गलत निर्णयको कारण म पीडामा परेको छु’, डंगोलले प्रतिप्रश्न गर्नुभयो, ‘यहाँ जग्गा धनीलाई पनि दोष दिने ठाउँ छैन्, सडकमा जग्गा पर्छ भने मेरो नाममा कसरी जग्गा दर्ता गरियो ?’

हजुबाको नाममा रहेको जग्गा सडकमा पर्छ भनेर आफूलाई थाहा नभएको शिवप्रसादका नाती वीरेश दाहालले बताउनुभयो । ‘यो जग्गा काण्डमा सरासर मातपोत कार्यालयको गल्ती छ’, दाहालले मातपोत कार्यालयको लापरबाहीबारे प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘मेरो जग्गा सडकमा परेको छ भने मालपोत कार्यालयले किन पास गरिदियो ?’

आफूहरुले २०३८ सालदेखि भोगचलन गर्दै आएको जग्गा बेचिसकेपछि मात्र सडकमा पर्छ भनेर थाहा पाएको दाहालको भनाई छ । सडकको जग्गा बिक्रि हुनै नसक्ने कदमाहा गाईघाट सडक खण्ड हेर्ने सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख रामकुमार देवले बताउनुभयो ।

‘सडक डिभिजनले २०६२ सालमै जग्गा प्राप्त गरिसकेको छ, सबै लेखापढी समेत भएको भन्ने बुझेको छु’, डिभिजन प्रमुख देवले भन्नुभयो, ‘१३ वर्षअघि नै नापी र मालपोतलाई लगत कट्टा गर्न भनेका थियौं, अहिले किन व्यक्तिको नाममा पास भयो, मलाई थाहा भएन ।’

जानी–जानी प्रलोभनमा परेर वा मालपोत र नापीले समयमै काम नगर्दा सडकको जग्गा बिक्रि गरेको हुनसक्ने उहाँको भनाई छ । मोठमा लगत रोक्का भनेर नजनाउँदा सडक नै एक व्यक्तिबाट अर्को व्यक्तिमा गएको मालपोत कार्यालयका प्रमुख नवराज खड्काले जानकारी दिनुभयो ।

‘ससिम कित्ता नम्बर भएको जग्गा रहेछ’, कार्यालय प्रमुख खड्काले भन्नुभयो, ‘बेच्ने र किन्ने दुवै पक्ष आवश्यक प्रमाण र नगरपालिकाको वडाको सिफारिससहित आएपछि जग्गा पास गरेका हौँ ।’

जग्गाको कारोबार भइसकेपछि मात्र बिक्रि भएको जग्गा राजमार्गको हो भन्ने थाहा भएको अधिकृत खड्का बताउनुहुन्छ । जग्गा सडकमा परेको थाहा पाउनेबित्तिकै मोठ रोक्का राखेको खड्काको भनाई छ ।

जग्गा पास गर्दा रजिष्ट्रेसन दस्तुर वापत ५ लाख ८ हजार ८ सय र लाभ कर २ लाख ९२ हजार ९ सय ५८ रुपैयाँ राजस्व समेत जम्मा भएको मातपोत कार्यालय जनाएको छ ।

यस अघिका कार्यालयका कर्मचारीको कमजोरीको कारण जग्गा पास हुन गएको खड्का स्वीकार गर्नुहुन्छ । जग्गा पास गर्नुमा कार्यालयका कर्मचारीका संलग्नता भएको भए कारबाही हुने खड्काले जानकारी दिनुभयो । 

सडकको जग्गा बिक्रि भएकोबारे आफूलाई थाहा नभएको बुझेर कारबाही थाल्ने प्रमुख जिल्ला अधिकारी विष्णु काकीले बताउनुभयो । सीडीयो काकीले भन्नुभयो, ‘यो विषयमा मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन । अब के भएको हो सत्य तथ्य पत्ता लगाउछु ।’

नापी कार्यालयले २०६२।१०।९ गते र २०६३।३।५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो तर मालपोत कार्यालयले अहिलेसम्म लगत कट्टा नगर्दा राजमार्ग नै बेचिन पुगेको छ ।

तत्कालिन निर्माण तथा यातायात मन्त्रालयको २०४६ माघ २३ गते सार्वजनिक सूचना जारी गरी सडकको नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो । पछि २०६० सालमा कदमाहा गाईघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भू–संरक्षण तथा व्यवस्थापन विभागको निर्णयको आधारमा सडकको दायाँ २५ मिटर र बायाँ २५ मिटर जग्गाको लगत कट्टा गरेको हो । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया