सहकारीको बचतलाई उत्पादनमा परिचालन गरिने

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो साकोस गोष्ठी

 जेठ २५, २०७५ शुक्रबार २०:४५:५२ | उज्यालो सहकर्मी

काठमाडौं- सहकारीको बचतलाई उत्पादनमा परिचालन गर्ने प्रतिवद्धतासहित १२ बुँदे घोषणापत्र जारी गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को तेस्रो शिखर गोष्ठी सम्पन्न भएको छ । 

काठमाडौंमा दुई दिनसम्म चलेको गोष्ठीले वित्तिय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गरी विपन्न वर्गमा उद्यमशीलता, स्वरोजगारी र बचत वृद्धि गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यस्तै घोषणापत्रमा स्थानीय तह, प्रदेश र संघमा कानुनी संहितालाई व्यवस्थित र साकोसमैत्री बनाउन संघको अगुवाई र पहलमा भूमिका निर्वाह गर्ने, सहकारी ऐन २०७४ ले व्यवस्था गरेको स्थिरीकरण कोषलाई जोखिम बहन गर्न सक्ने तहमा पु-याउन पहल गर्ने उल्लेख गरिएको छ । 

सदस्यको बचत तथा शेयर सुरक्षाको लागि संचालन हुने सुरक्षण कोषको प्रभावकारी संचालन गर्ने, साकोस एकरुपता प्रणाली कार्यान्वयनको लागि संघको अगुवाईमा नीति, विधि र प्रविधिको अवलम्बन गर्ने नीति पनि अगाडि सारेको छ । 

साकोस क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न संघको तालिम केन्द्रलाई व्यवस्थित रुपमा विकास एवम् प्रयोग गरी मानव संसाधन श्रोत केन्द्र स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । 

सहकारीको जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितताका  कार्यक्रम विस्तार गर्ने, वित्तीय क्षेत्रमा नविनतम प्रविधिहरुको विकास एवं उपलब्ध प्रविधिहरुको अबलम्बन गर्दै उच्चस्तरको प्रतिष्पर्धी र भरपर्दो विधुतिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाइएको छ । 

गुणस्तरीय र सक्षम संस्था निर्माणको लागि एकिकरण अभियानलाई अगाडि बढाउने, सदस्यहरुलाई स्थानीय श्रोतमा आधारित प्रतिस्पर्धी उत्पादनमा लगानी केन्द्रित गर्दै व्यवसाय विकास केन्द्र स्थापना गरी बजारीकरण गर्न प्रोत्साहन गर्ने पनि घोषणापत्रमा समेटिएको छ ।

घोषणापत्रमा  साकोस मार्फत प्रदान गरिने सेवालाई मानव जीवन र सामुहिक समृद्धिप्रति जिम्मेवार बनाई दिगो विकास लक्ष्य प्राप्तिमा योगदान गर्न प्रतिवद्ध भएको उल्लेख छ ।

समावेशी आर्थिक विकास, सञ्जालिकृत साकोस अभियानको लागि कानूनी संंहिताको पूनर्संरचना भन्ने मूल नाराका साथ विहीबारबाट सुरु भएको गोष्ठी शुक्रबार सम्पन्न भएको हो ।  

कृषि, पर्यटन र उर्जामा लगानी गर —मन्त्री खनाल

यस्तै समापन कार्यक्रमलार्इ सम्बाेधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री खनालले कृषि, पर्यटन र उर्जामा लगानी गर्न आग्रह गर्नुभयाे ।  

सहकारीबाट उत्पादन सुनिश्चित अहिलेको आवश्यकता भएको भन्दै सहकारीले प्रर्याप्त मात्रामा उद्यमशीलता र रोजगारी सिर्जना गर्न नसकेको बताउनुभयो ।  
सहकारीलाई व्यवसायिक बन्न आग्रह गर्दै उहाँले कृषिमा आत्मनिर्भर हुने गरि काम अगाडी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कृषिमा गरिएको लगानी र संरचना परिवर्तन नगर्दासम्म कृषिमा आत्मनिर्भर सम्भव नभएको उहाँको भनाई थियो । 

खाडी मुलुकमा रहेको २८ लाख युवा तथा स्वदेशमा रहेका बेरोजगार युवालाई परिचालन गर्नेगरी सहकारी तथा राज्य मिलेर बृहत कृषि योजना ल्याउनुपर्नेमा उहाँको जोड थियो 

। सरकारको मुख्य एजेन्डा आर्थिक समृद्धि भएको भन्दै मन्त्री खनालले आर्थिक विकास र सुशासनमा केन्द्रीत भएर उत्पादनमा प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।   

नियमावली, ऐनले सहकारीलाई लगानीमा प्राथमिकता दिन नसकेको भए अझै सहजीकरण गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष डबी बस्नेत, महासचिव चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष केशव पोखरेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
दुई दिनसम्म चलेको गोष्ठीमा देशभरबाट ६ सय भन्दा बढी सहकारीकर्मी र अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता  थियो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया