बैतडीमा एनपीएल क्रिकेट : शिवनाथ र पाटन विजयी

 कात्तिक १२, २०७५ सोमबार १९:६:२२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल सम्पन्न भएका छन् ।  निंगलासैनी  खेल मैदान देहीमाडौंमा सम्पन्न पहिलो खेलमा दशरथचन्द ‘बी’लाई २० रनले स्तब्ध पार्दै शिवनाथ गाउँपालिकाले विजयी सुरुवात गरेको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको शिवनाथले भानदेव ओझाको सर्वाधिक ९० रनको मद्दतमा २० ओभरमा २०७ रन बनायो । दशरथचन्द ‘बी’का लागि सुनिल कार्कीले ३ तथा हिमाल ऐरीले २ विकेट हात पारे । २०८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दशरथचन्द ‘बी’ले २० ओभरमा १८७ रन मात्रै बनाउन सक्यो । उसका लागि सुभम चन्दले ३७ तथा तिलक बोहराले ३१ रनको योगदान गरे पनि त्यसले हार टार्न सकेन । शिवनाथका सुरत तिरुवाले ३ तथा भानदेव ओझाले २ विकेट लिए । शिवनाथका भानदेव ओझा म्यान अफ् द म्याच चुनिए । 

यस्तै सोमबार नै सम्पन्न दोस्रो खेलमा पुर्चौडी नगरपालिकालाई १२८ रनले स्तब्ध पार्दै पाटन नगरपालिकाले पनि प्रतियोगितामा शानदार विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्ता पाएको पाटन  १८६ रनमा समेटियो । जसमा विकास विष्टको ४८ योगेश भाट क्षेत्रीको ४३ तथा दिपक विष्टको ३४ रनको योगदान रह्यो । पुर्चौडीका अनुप विष्ट र पञ्कज चन्दले १÷१ विकेट लिए । १८७ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको पुर्चौडी १५ दशमलब ५ ओभरमा ५८ रनमा समेटियो । 

पुर्चौडीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेनन् ।   प्रतियोगितामा सबैभन्दा कम स्कोरमा समेटिने पहिलो टोली बनेको पुर्चौडी लगातार दोस्रो पराजयसँगै घर फर्किन बाध्य भएको छ । पुर्चौडीलाई सस्तैमा समेट्न पाटनका धिरेन्द्र चन्दले ३ तथा दिपक विष्टले २ विकेट लिए । दिपक विष्ट खेलका म्यान अफ द म्याच घोषित भएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।  

सोमबार खेल सुरु गर्नुभन्दा अघि  आइतबार निधन भएका राष्ट्रिय अम्पायर( लेभल टु) दिपक पौडेलको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो । 
यसैबीच प्रतियोगिता अन्तर्गत मंगलबार पनि २ खेल हुने भएका छन् ।  पहिलो खेलमा पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका भिड्दा दोस्रो खेलमा दशरथचन्द नगरपालिका बी र मेलौली नगरपालिकाबीच भिडन्त हुनेछ । 

निंगलाशैनी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिताको  प्रथम पुरस्कार १ लाख ११ हजार १११ रहेको छ ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया