घलेगाउँ पुग्ने पर्यटकको रोजाई बन्यो पर्यटन संग्रहालय (तस्बिरसहित)

 जेठ २६, २०७५ शनिबार ७:३४:५६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सार्क राष्ट्रकै नमूना पर्यटकीय गाउँको रुपमा परिचित घलेगाउँको बीच भागमा रहेकोे पर्यटन संग्रहालय पर्यटकको पहिलो रोजाई बन्न थालेको छ । 

क्व्होलासोँथर गाउँपालिका–३, मा रहेको सार्क भिलेज पर्यटन संग्रहालयको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या दिनदिनै बढ्दै गइरहेको छ । घलेगाउँ आउने पर्यटकहरु पर्यटन संग्रहालयमा धेरै रमाउने गरेको ग्रामिण पर्यटन व्यवस्थापन घलेगाउँका सचिव उमलबहादुर बिकले बताउनुभयो ।

‘गाउँसम्म आउने सबै पर्यटकको मुख्य रोजाई नै पर्यटन संग्रहालय बन्न पुगेको छ, संग्रहालयमा पुगी फोटो खिच्ने र खिचाउने भीड नै लाग्ने गर्दछ,’ उहाँले भन्नुभयो । 

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), साविक उत्तरकन्या गाविस, तत्कालीन जिविस र स्थानीयको सक्रियतामा झण्डै १२ लाखभन्दा बढीको लागतमा घलेगाउँमा पर्यटन संग्रहालय बनाइएको छ । संग्रहालयको २०७३ साल माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

हराउँदै गइरहेको गुरुङ संस्कृतिको संरक्षणका साथै पर्यटकलाई आकर्षित गर्न संग्रहालय बनाइएको क्वहोलासोँथर गाउँपालिकाका अध्यक्ष एवम् पर्यटन व्यवस्थापन, ग्रामिण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

यो संग्रहालयमा गुरुङ समुदायको जन्मदेखि मृत्यूसम्मका कार्यमा आवश्यक पर्ने सामग्रीका साथै दैनिक जीवनमा प्रयोग हुने औजारहरु राखिएको छ । यस्तै, संग्रहालयमा तमू भेषभूषा, लत्ताकपडा, हस्तकलाका सामग्री, बाँसको चोयाबाट निर्मित वस्तुहरु, ऊनबाट बनेका राडीपाखीलगायतका सामग्री पनि राखिएको छ ।

ग्रामिण पर्यटन घलेगाउँका अनुसार अहिले घले गाउँमा ३० घरमा होमस्टे सञ्चालन भैरहेका छन् । दैनिक एक सयको हाराहारीमा पर्यटक घलेगाउँ पुग्ने गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया