चाइनिज कम्पनीका स्मार्टफोन किन स्थापित ब्राण्डभन्दा धेरै सस्ता हुन्छन् ?

 कात्तिक १५, २०७५ बिहिबार १५:१४:४२ | साजन सुबेदी
unn.prixa.net

हिजोआज नाम चलेका ब्राण्डबाहेक धेरै चाइनिज कम्पनीहरुले पनि आधुनिक सुविधायुक्त स्मार्टफोनहरु निकालेका छन् । 

चाइनिज कम्पनीहरुले निकालेका यस्ता फोनहरु झट्ट हेर्दा एपल, सोनी, एचटिसी, सामसङजस्ता ठूला ब्राण्ड र नाम चलेका कम्पनीहरुले निकालेका विभिन्न मोडेलसँग मेल खाने वा तीभन्दा पनि आकर्षक पनि देखिन्छन् ।

त्यस बाहेक भित्र प्रयोग गरिएका प्रोसेसर, अपरेटिङ सिस्टम, क्यामेरा, डिस्प्ले, मेमाेरी लगायतका मुख्य सामग्रीहरु पनि उस्तै गुणस्तरका प्रयोग गरिएका हुन्छन् ।

डिजाइन, पार्टपूर्जालगायतका सबै सामग्री उस्तै गुणस्तरको प्रयोग भए पनि चाइनिज कम्पनीका फोनहरु किन नाम चलेका ब्राण्डका स्मार्टफोनहरुभन्दा झण्डै आधा वा एक तिहाइ मूल्यमा नै उपलब्ध हुन्छन् ? के तिनिहरुमा नक्कली सामान प्रयोग भएका हुन्छन् ? के तिनिहरु कम विश्वासिला हुन्छन् ? के तिनिहरु देख्दा चिटिक्क तर धेरै टिकाउ नहुने खालका हुन्छन् ? यस्तै यस्तै प्रश्न तपार्इ‌ हाम्राे  दिमागमा उब्जनु स्वाभाविकै हाे ।

थोरै मूल्यमा पाइयो भनेर चाइनिज स्मार्टफोनहरु किन्नु कतै गल्ती त हुँदैन ?

वास्तवमा नाम चलेका ब्राण्डका स्मार्टफोन र नेपालमा उपलब्ध हुआवे, जियोनी, स्याओमी, लेगो, टम्बो, वन प्लस, लेनोभो, भिभो, ओप्पो, ओट्टोजस्ता चाइनिज कम्पनीका स्मार्टफोनहरु पनि उत्तिकै भरपर्दा र आकर्षक हुन्छन् ।

अत्याधुनिक प्रोसेसर र अपरेटिङ सिस्टमयुक्त हुन्छन् । क्रेताहरुले आफ्नो बजेट अनुसार ढुक्क भएर यस्ता कम्पनीका स्मार्टफाेनहरु खरिद गरेर उपयाेग गर्न सक्छन् ।

गुणस्तरमा तलमाथि त हुँदैन ?

सामान्यतया धेरैजस्ता स्मार्टफोन कम्पनीहरुले एउटा स्मार्टफोनमा प्रयोग हुने सबै पार्टपूर्जाहरु जस्तै क्यामेरा, प्रोसेसर, डिस्प्ले आदि आफैं उत्पादन गर्ने नभइ यस प्रकारका सामग्री उत्पादन गर्ने कम्पनीहरुसँग किनेर आफ्नो डिजाइनमा फिट गर्ने हो ।

यो भनेको हामीले आफूलाई आवश्यक भएको र अाफ्नाे बजेटअनुसारकाे र्‍याम, हार्ड डिस्क, ग्राफिक्स कार्ड हालेर कम्प्युटर एजेम्बल गर्न लगाए झैं विभिन्न पार्टपूर्जा फिट गरेर आफ्नो ब्राण्डको नाम र मोडेल दिएर बेच्ने हो । त्यसैले गुणस्तरमा तलमाथि हुने कुरै अाउँदैन ।

चिपसेट: स्मार्टफोनमा अहिले प्रचलनमा रहेका चिपसेटहरु क्वालकम, मिडियाटेक, सामसङ, इण्टेल, हुआवेजस्ता कम्पनीले बनाउँछन् र यिनीहरुलाई किनेर ठूला ब्राण्डलगायत चाइनिज कम्पनीहरुले पनि प्रयोग गर्छन् ।

हामीले सोनीको महँगो फोनमा पनि मिडियाटेक या क्वालकमको चिपसेट प्रयोग भएको देख्न सक्छौं भने ओप्पोको फोनमा पनि देख्न सक्छौं । एपल कम्पनीले भने आफ्नै अपरेटिङ सिस्टम आईओएस मात्र चलाउने भएकाले उसले आफ्नै चिपसेट प्रयोग गर्छ ।

तर एपलको चिपसेट पनि एपल आफैंले वा सामसङ कम्पनीले बनाउँछ ।

क्यामेरा: त्यस्तै स्मार्टफाेनमा प्रयाेग हु्ने क्यामेरा सोनी, तोशिबा, ओम्निभिजन आदि कम्पनीहरुले बनाउँछन् र त्यसैलाई किनेर विभिन्न स्मार्टफोन कम्पनीहरुले आफ्ना विभिन्न मोडेलहरुमा प्रयोग गर्छन् ।

एपल, सामसङ, एलजी आदिले पनि यिनै क्यामेरा किनेर फिट गर्छन् भने चाइनिज कम्पनीले पनि यिनै कम्पनीबाट उत्पादित क्यामेरा किनेर आफ्नो स्मार्टफोनमा फिट गर्छन् । त्यसैले गुणस्तर उस्तै नै हुन्छ ।

डिस्प्ले: यदि सामसङको कुनै मोडेलमा सुपर अमोलेड डिस्प्ले प्रयोग भएको छ र कुनै चाइनिज कम्पनीको फोनमा पनि त्यसै कम्पनीको सुपर अमोलेड डिस्प्ले प्रयोग भएको छ भने दुवैको गुणस्तर उस्तै नै हुन्छ ।

दुवैले प्रयोग गरेको सुपर अमोलेड डिस्प्ले एउटै कम्पनीले बनाएको हुन्छ र त्यो किन्दा  मूल्य पनि दुवै कम्पनीर्लाइ उत्तिकै पर्दछ ।

फरक यत्ति हो कि सामसङ आफैं डिस्प्ले पनि निर्माण गर्ने कम्पनी हो र भने चाइनिज कम्पनीहरुले बजारमा उपलब्ध सामसङलगायत एलजी, सोनी, एपल, नोकिया, पानासोनिक आदि कम्पनीको डिस्प्ले किनेर फिट गर्नुपर्ने हुन्छ ।

अपरेटिङ सिस्टम अाेएस: त्यस्तै अपरेटिङ सिस्टमको कुरा गर्दा सोनीको भर्खरै निस्किएको मोडेलमा एण्ड्रोइडको ओरियो भर्जन प्रयोग भएको छ र स्याओमीको कुनै नयाँ मोडेलमा पनि एण्ड्रोइडको ओरियो भर्जन नै प्रयोग भएको छ भने दुवैले प्रयोग गरेको गुणस्तर एउटै नै हुन्छ ।

सामसङ नाम चलेको ब्राण्ड भएका कारण उसले प्रयोग गरेको ओरयिो उच्च गुणस्तरको र चाइनिज भएका कारण स्याओमीले प्रयोग गरेको ओरियो कम गुणस्तरको हुँदैन ।

नाम चलेका ब्राण्डभन्दा किन सस्तो हुन्छन ?

मोडेल, डिजाइन, प्रयोग भएका पार्टपूर्जा, हार्डवेयर, सफ्टवेयर सबै उस्तै हुँदा पनि चाइनिज फोनहरु सस्तो पाइनुमा विशेष कारणहरु यस्ता छन् :

आर एण्ड डी (रिसर्च एण्ड डेभलपमेण्ट) अनुसन्धान र विकास खर्च : सामसङ, एपल, सोनीजस्ता कम्पनीहरु डिस्प्ले, मेमोरी, क्यामेरा आदिमा नयाँ कुराहरु पत्ता लगाउन र त्यसलाई आफ्नो कम्पनीको पेटेण्ट बनाउनका बर्सेनि लाखौं डलर अनुसन्धान तथा विकासमा खर्च गरिरहेका हुन्छन् ।

तर चाइनिज कम्पनीहले बजारमा उपलब्ध पार्टपूर्जा किनेर आफ्नाे डिजाइनमा फिट गर्ने भएकाले यस्ता खर्चहरु बिल्कुलै गर्नुपर्दैन जसले गर्दा कम मूल्यमा फोन बेच्दा पनि कम्पनी नाफामा नै रहन सक्छ ।

बजारीकरण/प्रचार प्रसार खर्च: ठूला र नाम चलेका कम्पनीहरुले आफ्ना नयाँ मोडेलहरुबारे जानकारी दिन विभिन्न नाम चलेका च्यानल, वेबसाइट, पत्रपत्रिकाहरु आदिमा थुप्रै विज्ञापन दिने गर्दछन् भने चाइनिज कम्पनीहरुले यिनीहरुको तुलनामा कमै मात्र प्रचार प्रसार र विज्ञापनमा खर्च गर्छन जसले गर्दा खर्च कटौति हुने भएकाले कम मूल्यमा बेच्दा पनि घाटा हुँदैन ।

कम्पनीको आकार र सञ्चालन खर्च: ठूला कम्पनीहरुको विश्वभर नै शाखाहरु हुन्छन् । त्यसै अनुसार कामदारको सँख्या पनि बढी हुन्छ । यसरी धेरै कामदारहरुलाई परिचालन गर्दा दैनिक सञ्चालन खर्च निक्कै धेरै हुने गर्दछ ।

त्यसैले गर्दा यस्ता कम्पनीले आफ्ना उत्पादनहरु महँगो मूल्यमा बेच्नुपर्ने हुन्छ । तर अधिकाँश चाइनिज कम्पनीको खासै शाखा विस्तार भएको हुँदैन र सञ्चालन खर्च पनि नाम चलेका ब्राण्डको तुलनामा धेरै गुण कम हुन्छ । यस हिसाबले पनि उस्तै गुणस्तरको चाइनिज फोन सस्तो मूल्यमा उपलब्ध हुन्छन् ।

कम्पनीकाे छवि: स्थापित ब्राण्डहरुले बजारमा आफ्नो विशेष छाप छोडिसकेका हुन्छन् । कहिलेकाहीँ कुनै मोडेलमा समस्या आए उनीहरुले फिर्ता लिएर अर्को नयाँ सामान दिन्छन् । उनीहरु ग्राहकमा आफ्नो कम्पनीको साख र छवि नधमिल्लियोस् भन्ने चाहन्छन् । 

केही समय अघि सामसङको नोट ७ मा संसारभर नै ब्याट्री पड्किने समस्या देखिएका कारण कम्पनीले सबै फिर्ता मागेर नयाँ वा रकम फिर्ता गरेको थियो ।

नेपालमा उपलब्ध केही चाइनिज कम्पनीहरुले भने वारेण्टी दिन थालेका छन् भने बिग्रेको खण्डमा मर्मत गर्ने केन्द्रहरु पनि स्थापित गर्न थालेका छन् । अधिकाँशले भने कम्पनीको नभइ बेच्ने पसलको वारेण्टी दिने गर्दछन् जुन आफैंमा वारेण्टी नभइ बिग्रिएमा मर्मत गरिदिने आश्वासन हो ।

बिक्रीपछिकाे सेवा: बिक्रीपछिकाे सेवामा पनि स्थापित ब्राण्डहरुले विशेष ध्यान दिन्छन् । सकेसम्म स्पेयर पार्ट्स तथा अन्य सेवाहरु पनि सहज र सुलभ बनाउने प्रयास गर्छन् ।

जबकी चाइनिज कम्पनीले छविलाई भन्दा पनि कतिवटा बिक्यो भन्नेमा बढी जोड दिन्छन् भने बिक्रीपछिको सेवा पनि त्यति भरपर्दो हुँदैन । यद्यपी नेपालमा उपलब्ध चाइनिज स्मार्टफाेन ब्राण्डहरुले भने हिजाेअाज सकेसम्म मर्मत केन्द्र र बिक्रीपछिकाे सेवामा जाेड दिन थालेका छन् ।

ग्राहककाे विश्वास: मार्केट शेयर स्थापित ब्राण्डहरुले फोनको भाउ जति बढाए पनि त्यसै ब्राण्डको छाप परेका ग्राहकहरुले जसरी पनि किन्छन् । प्रयोगका  आधारमा विश्वास कमाइसकेपछि मूल्य गौण हुन पुग्छ । 

तर बजारमा भर्खरै आएका र भविष्य थाहा नभएका कम्पनीहरुले एक त धेरै मूल्य राख्दा ग्राहक भड्किने र अर्कोतिर नयाँ कम्पनी भएका कारण ग्राहकले विश्वास गर्ने आधार पनि हुँदैन ।

कम मूल्य राखियो भने ग्राहकले जोखिम नै मोलेर भए पनि किनिदिन्छन् । यसरी चाइनिज ब्राण्डहरुले एउटै सामानमा बढी फाइदा खोज्नुभन्दा कम नाफामा धेरै सामान बिक्री गरेर बजारमा आफ्नो अस्तित्व कायम राख्न खोज्छन् ।

यति हुँदाहुँदै पनि कतिपय चाइनिज कम्पनीहरु आजभोलि निक्कै आक्रामक रुपमा प्रचार प्रसार तथा ब्राण्डिङ गर्ने र विश्वभर आफ्नो उपस्थिति र सकारात्मक छवि कायम राख्न प्रयासरत छन् ।

विभिन्न अन्तरराष्ट्रिय खेलहरु प्रायोजन गरेर होस् वा सामाजिक कार्यहरुमा संलग्नता जनाएर होस् चाइनिज कम्पनीहरु स्थापित ब्राण्डहरुसँग गुणस्तरमात्र नभइ मूल्यमा पनि प्रतिस्पर्धा गर्न तयार हुँदै गइरहेका छन् । 

उदाहरणका रुपमा भारतमा सञ्चालन हुने आईपीएलको पछिल्लाे संस्करणकाे  मुख्य प्रायोजक चिनिया स्मार्टफोन कम्पनी भिभो थियो जसका कारण त्यस संस्करणको नाम नै भिभो आईपीएल राखिएको थियो । 

 

अन्तिम अपडेट: चैत २९, २०८०

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया