जेलमै बसेर अपराध धन्दा

 कात्तिक १५, २०७५ बिहिबार १६:३९:२५ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं - निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार भनिएका गुन्डा नाइके समीरमान सिंह बस्नेत अहिले केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।  

काठमाडौंको नख्खु कारागारमा रहेका बस्नेतको चालचलन शंकास्पद देखिएको भन्दै मुस्ताङ कारागार सारिएकोमा फेरि केन्द्रीय कारागारमा ल्याइएको हो । पक्राउ परेको एक वर्ष पनि नबित्दै तीनवटा जेल सारिएका तीनै बस्नेतले जेलभित्रै रहेर पनि आपराधिक गतिविधि सञ्चालन गरिरहेको खुलेको छ ।

प्रहरीले त्यही हत्या अभियोग लागेका तीनजनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती, असुलीलगायतका आपराधिक गतिविधि अहिले पनि सञ्चालन गरिरहेको खुलेको हो । 

गौचन हत्याका ‘मास्टरमाइन्ड’ समिरमान सिंह बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले यही साता भारतको सिक्किमबाट उनीहरूलाई पक्राउ गरेको हो ।

गौचन हत्याका ‘मास्टरमाइन्ड’ समेत रहेका बस्नेत समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकी पक्राउ परेसँगै बस्नेतले जेलमै बसेर पनि अपराध धन्दा चलाउने गरेको खुलेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताउनुभयो ।  
यस अघि केन्द्रीय कारागारमा कैदी रहेका चक्रे मिलनले पनि जेलबाटै फिरौतीको आतंक मच्चाएको खुलेको थियो ।  

अपराध गरेकाहरुलाई सजाय स्वरुप जेल राख्ने गरिन्छ । पछिल्लो समयमा जेललाई सुधारगृह पनि भन्ने गरिन्छ । तर जेल गएकाहरु फर्केर आउँदा झनै बढी आपराधिक गतिविधि गर्ने भएर निस्कने गरेको भेटिन्छ । समीरमान र चक्रे मिलन जस्ता कतिपय गुण्डा नाइके भनिएकाहरुले भने पहुँचका भरमा जेलभित्रै बसेर त्यस्ता आपराधिक गतिविधिलाई निरन्तरता दिइरहेका हुन्छन् । 

कसरी हुन्छ जेलबाटै धन्दा ?

कारागारभित्र कैदीहरूलाई आर्थिक स्वतन्त्रता दिनुले नै यस भित्रैबाट अपराधका योजना बन्ने गरेको देखिन्छ । जेलका चौकिदार, नाइके, भाइनाइके हुँदा कैदीहरुले आर्थिक चलखेल गर्न पाउँछन् । जेलमा आवश्यक सामग्री खरिदका लागि उनीहरू बाहिर पनि निस्कन पाउने सुविधाको दुरुपयोग गरेर आफ्नो ग्याङसित भेट्ने र अपराधलाई छाड्ने भन्दा पनि झनै निरन्तरता दिने गर्छन् । 

कारागार व्यवस्थापन विभागका एक पूर्व अधिकारीले कमजोर सुरक्षाका कारण पनि जेलभित्र यस्ता अपराधका योजना बन्ने गरेको बताउँछन् । सुरक्षा कमजोरीका कारण विसंगतिहरू बढेको उनको दावी छ ।  

तर पूर्व गृहसचिव श्रीकान्त रेग्मीले त्यसको जवाफदेही प्रहरी मात्र नभई जेलरको मुख्य भूमिका रहने बताउनुहुन्छ । जस जति आफू लिएर अपजस मात्रै प्रहरीलाई थुपार्ने काम गलत हुने उहाँको भनाई छ ।  

कारागार प्रशासनले जेलको आन्तरिक प्रशासनको जिम्मा दिँदा प्रहरीसँग समन्वय नगरेसम्म अपराध कम हुनुको साटो झनै बढ्ने उहाँले बताउनुभयो । ‛कारागार लगिएका अपराधी सुध्रिनुको साटो झन् अपराधी भएर निस्कने छन्′ उहाँले भन्नुभयो । 

जेलमा भेट्न आउने मान्छेबारे नियमित अनुगमन र जानकारी राख्नु जेलरको मुख्य दायित्व हो । तर जेलरले हेलचेक्र्याईं गर्दै जाँदा अपराधको सजाय काटिरहेकाहरु जेलभित्रै अपराधका योजना  बनाउने र जेलभित्र विभिन्न सामाग्री भित्रिने गर्छ । 

जेलमा नाइके, भाइनाइकेहरु कुन प्रयोजनका लागि राखिएका हुन्, त्यसबारे जेलर स्पष्ट हुन नसक्दा पनि यस्ता घटना हुने गरेको उहाँ बताउनुहुन्छ ।  

फितलो सुरक्षा

कैदीलाई भेट्न जाने बहानामा पैसा, सञ्चार साधन तथा हतियार जेलभित्रै भित्रिने गरेको घटना बेला बेला बाहिरिने गरेको छ । केही वर्षअघि केन्द्रीय कारागारभित्रै युनुस अन्सारीमाथि भएको गोली प्रहारले समेत यसको खुलासा गरेको थियो । 

सामान्यतया कैदीलाई भेट्न जाने व्यक्तिमाथि अनुसन्धान गर्ने, खानतलासी लिने जिम्मा प्रहरीको हो । विद्युतीय यन्त्रले अनुसन्धान गर्दासमेत हतियार पत्ता नलगाउनु प्रहरीको लापरबाही भएको प्रहरी अधिकारीहरू नै स्वीकार्छन् ।

यसले जेल प्रशासन, सुरक्षाकर्मी र कैदीको मिलेमतोमा भित्रबाटै संगठित अपराधको योजना बन्ने गरेको देखिन्छ । आर्थिक चलखेल र प्रभाव निर्माणका लागि जेलमा कैदीहरूबीच नाइके वा भाइनाइके बन्ने होड चल्छ ।

यस्तै होड चल्दा बेला बेला कारागार भित्रै कैदीहरूबीच आपसमा झडप हुने गर्छ । नाइके भएपछि जेल प्रशासनले दिने सुविधाका कारण पनि यस्तो अपराधका घटना बढाएको विश्लेषकहरू बताउँछन् । नाइके बन्न अपराधीहरुले राजनीतिक दल तथा नेताको सहयोग लिने गरेको पनि भेटिने गरेको छ ।   

‘स्रोत साधन नहुँदा केही गर्न सकिएन’

कारागार व्यवस्थापन विभागका निर्देशक एवं सूचना अधिकृत कृष्णबहादुर कटुवाल आफूहरुसँग सीमित स्रोत साधन रहेकाले केही गर्न सक्ने अवस्था नरहेको बताउनुहुन्छ । ‘क्षमताभन्दा बढी कैदी राखिरहनु परेको छ । साधन स्रोत पनि सीमित छन् त्यसैले हामीले चाहेर पनि केहीगर्न सकिरहेका छैनौं’ उहाँले भन्नुभयो ।

जेलभित्रै मोबाईल तथा अन्य सामान भित्रिने गरेको भन्ने सुनेको हो तर आफूहरुले त्यसलाई नियन्त्रण गर्ने पहल भने गरिरहेको उहाँ बताउनुहुन्छ । कैदीहरुलाई जेलमै रहेको टेलिफोनबाट कुराकानी गर्न दिने व्यवस्था छ । तर ती कुराकानीहरुको रेकर्ड भने राख्ने नगरेको कटुवाल बताउनुहुन्छ ।  

गोप्य रुपमा कसैले लगेर दुरुपयोग गरेको जानकारी आए तत्काल त्यस्तालाई नियन्त्रणमा लिने गरेको पनि उहाँले बताउनुभयो । ‘सीमित स्रोत साधनमा काम गर्नुपर्दा केही समस्या छन्,’ उहाँले भन्नुभयो, ‘हामी भएका साधन स्रोतको उच्चतम प्रयोग गर्दै यस्ता घटना नियन्त्रण गर्ने प्रयासमा छौँ ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया