गुडेकै अवस्थाका गाडीबाट पार्किङ शुल्क असुल्ने क्रम रोकिएन

 कात्तिक १५, २०७५ बिहिबार १८:४७:५५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– पहाडी जिल्लाबाट राजधानी र तराई जाने सवारीमा कटारी नगरपालिकाले राजमार्गमा गुडेकै अवस्थामा लिँदै आएको पार्किङ शुल्कको चौर्तफी विरोध भए पनि रोकिएको छैन । 

नगरपालिकाले ठेक्का नै लगाएर सिद्धिचरण राजमार्ग र मध्यपहाडी राजमार्ग हुँदै पहाडका तीन जिल्लाबाट आउने सवारीमाथि मनपरि कर उठाउँदै आएको छ ।

पहाडका तीन जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बु आवतजावत गर्ने सवारीमाथि उदयपुरको घुर्मीमा सडकबाट रोकेर पटकै पिच्छे पार्किङ शुल्क भन्दै उठाउने गरिएको छ । ओखलढुंगाबाट राजधानीलगायत तराईका अन्य जिल्ला जान मध्यपहाडी राजमार्गको घुर्मी खण्डमा झण्डै तीन किलोमिटर सडक पर्छ । बाँकी ओखलढुंगा र सिन्धुलीको भाग पर्छ । तर उदयपुरको कटारी नगरपालिकाले राजमार्गमा नरोकिने सवारीलाई पनि एजेन्टमार्फत जवरजस्ती रोकेर पार्किङ शुल्क भन्दै रकम असुलिरहेको छ ।

अझ कर असुल्न तोकिएका व्यक्तिले सवार पिच्छे फरक–फरक रकम लिने गरेका पाइएको छ । जीप चालक राजु खत्रीले १० मिनेट गुड्दा रोकेर ४० रुपैयाँ टिपैपिच्छे असुल्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोकेर जबरजस्ती असुल्ने गरेका छन्, नदिए फेरि गुड्न नदेलान् र भनेर दिइन्छ ।’ रकम लिएपछि नगरपालिकाको रसिद दिने भए पनि रसिदपिच्छे फरक–फरक रकम उल्लेख गर्ने गरिएको पाइएको हो । 

यसरी लिइने कर नगरपालिका आफैले जारी गरेको आर्थिक ऐन विपरित छ । ०७५ असार २४ गतेको नगर सभाबाट पारित कटारी नगरपालिकाको आर्थिक ऐनको दफा ७ मा सवारी करसम्बन्धी व्यवस्था गरेको छ । त्यस ऐनमा नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी समधनमा सवारी कर लगाइने उल्लेख छ ।

तर, पहाडका तीन जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बु हुँदै राजधानी र तराईका जिल्ला जाने अधिकांश सवारी सम्बन्धित जिल्ला र केही काठमाडाैं र सिन्धुलीमा दर्ता छन् । ऐनमा नगरक्षेत्रभित्र दर्ता भएका सवारीमा कर लिने भनिए पनि देशभर चल्ने सबै सवारीमा मनपरि असुल्न थालेपछि विरोध भइरहे पनि ठेकेदार मार्फत रकम असुली हुँदै आएको छ ।

यो कस्तो पार्किङ शुल्क : पाँच मिनेट गुडेको सवारीबाट ४० रुपैयाँ असुलियो

निजी तथा सार्वजनिक सवारीबाट कटारी नगरपालिकाले दैनिक उठाउने करबाट व्यवसायी मारमा परेको उद्योग वाणिज्य संघ, ओखलढुंगाका सचिव निबन्ध श्रेष्ठले बताउनुभयो । यसरी असुलिने कर रोकिनु पर्ने उहाँको भनाइ छ । 

सडकमा गुडेका सवारीमाथि पार्किङ शुल्क लिएको विषयमा कटारी नगरपालिकाका सुचना अधिकारी ओमबहादुर मिश्रले नगरपालिकाले पार्किङ जोन तोकर त्यस क्षेत्रमा रोकिएका सवारीलाई मात्र कर लिएको दावी गरे । 

तर ठेकेदारले गुडेका सवारी जवरजस्ती रोकेर सिन्धिुलीको बादुरा खोलामै रकम असुली गर्दै आएका छन् । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया