ढल्केवरमा हात्ती आतंक, दर्जनौं घर र बालिनालीमा क्षति

 जेठ २६, २०७५ शनिबार १३:९:५५ | शैलेन्द्र महतो

धनुषा – मिथिला नगरपालिका–७, ढल्केवरमा तीन दिनदेखि जंगली हात्तीले आतंक मच्चाएको छ ।

गएको बुधबार राति जंगलबाट गाउँ पसेको तीन हात्तीले दुई घर भत्काउनुको साथै किसानको बालीनाली समेत नष्ट गर्ने गरेका छन् । अहिलेसम्म ढल्केवर, एकलेबर र केवलीपुर गरी तनवटा टोलमा दुई दर्जनभन्दा बढी घरहरुमा हात्तीले क्षति पुर्याएका छन् भने किसानको बालीनालीलाई समेत नष्ट गरेका छन् ।

 

बुधबार राति गाउँ पसेका तीन हात्तीलाई इलाका प्रहरी कार्यालय ढल्केवरले पाँच राउण्ड गोली हावाई फायर गरी धपाएर जंगल छिराएको थियो । तर पनि तीनै वटा हाती राति नै पुनः गाउँमा पसेर आतंक मच्चाउने गरेको स्थानीय विष्णु बस्नेतले गुनासो गर्नुभयो ।

अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि दुई दर्जनभन्दा बढी घर र किसानहरुको बालीनालीमा क्षति पुगेको स्थानीबासिन्दाले दुखेसो पोखेका छन् । हात्ती राति गाउँ पसेर आतंक मच्चाएपछि स्थानीयबासिन्दा त्रसित हुँदै सुत्न समेत छाडेका छन् । रातभरि जग्राम बसेर स्थानीय बासिन्दा जीउधनको सुरक्षा गर्न थालेको स्थानीयबासिन्दा जितेन्द्र सिंहले बताउनुभयो । 

गाउँबासीले हात्ती धपाएर शान्तिसुरक्षा कायम गरिदिन प्रशासनसँग गुहार समेत गरेका छन् । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया