एनपीएलः उपाधिका लागि पाटन र मेलौलीबीच प्रतिस्पर्धा हुने

 कात्तिक १५, २०७५ बिहिबार २०:१५:२६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – पाटन नगरपालिका बैतडीको देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन उपाधि नजिक पुगेको हो । 

निंगलासैनी  खेल मैदान देहीमाडौंमा पहिला ब्याटिंग गरेको सिगास १६ दशमलव ४ ओभरमा ७९ रनमा अल आउट भयो । जसमा लोकेन्द्र रावलले व्यक्तिगत २७ रनको योगदान गरे भने पाटनका सुभाष विष्टले ३ विकेट हात पारे । 

८० रनको सामान्य विजय लक्ष्यका साथ मैदान उत्रेको पाटनले ११ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । पाटनका विकास विष्टले अविजित ३४ रन बनाए । 

यो हारसँगै सिगासको अगामी यात्रा टुंगिएको छ भने पाटन अपराजित यात्रा कायम गर्दै फाइनलमा पुगेको छ । 

यस्तै बिहीबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा किरन ठगुन्नाको उत्कृष्ट प्रदर्शनले दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउँदै मेलौली नगरपालिका पनि फाइनल प्रवेश गरेको छ । 

टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द ‘सी’ ले सुरेन्द्र बिसीको ४८ तथा नरेश नाथको ३७ रनको मद्दतमा २० ओभरमा ७ विकेटको क्षतिमा १४८ रन बनायो । मेलौलीका किरन ठगुन्ना र जयराम भट्टले एक एक विकेट हात पारे । 

१४९ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको मेलौलीले १४ दशमलव ३ ओभरमा ३ विकेटको गुमाउँदै लक्ष्य भेट्टायो । जसमा किरन ठगुन्नाले ५० रन जोडे भने कृष्णदेव भट्टले अविजित ४९ रन बनाए । 

खेलका म्यान अफ द म्याच मेलौलीका किरन ठगुन्ना चुनिए । शुक्रबार पाटन र मेलौली नगरपालिकाबीच उपाधिका लागि प्रतिस्प्रर्धा हुने भएको छ ।  

निंगलासैनी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिताको  प्रथम पुरस्कार १ लाख ११ हजार १११ रहेको छ ।  

विक्रम सम्बत २०५६ सालमा स्थापना भएको निङ्गलासैनी क्रिकेट क्लब (एनसीसी) विकास, अनुशासन र गतिशीलता भन्ने मूल भावका साथ बैतडीमा सक्रिय छ ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया