अपांगता भएकी महिलालाई करणी गर्ने सशस्त्र प्रहरी जवानलाई १० वर्ष कैद

 जेठ २६, २०७५ शनिबार १४:९:२८ | रासस

कपिलवस्तु – जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष र राजु चौधरीलाई ३ वर्षको कैद सजाय तोकेको छ । 

जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको इजलाशले २०७३ साल जेठ ३० गते बोल्न नसक्ने ४० वर्षकी थारु महिलालाई अवस्थीले करणी गरेको पुष्टि गर्दै कैद सजाय सुनाएको हो ।

शिवराज नगरपालिका–१० मा रहेको सशस्त्र प्रहरी गणको पश्चिपट्टिको गेटनजिकै भैंसी चराइरहेका बेला अवस्थीले ती महिलालाई करणी गरेको अदालतले ठहर गरेको अदालतका श्रेस्तेदार डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौटामा कार्यरत अवस्थीबाट ती महिलालाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत अदालतले फैसला गरेको छ । 

श्रेस्तेदार शर्माका अनुसार अवस्थीलाई जवरजस्ती करणीमा पाँच बर्ष र शारीरिक रुपमा अस्वस्थ महिलालाई करणी गरेकाले थप ५ वर्ष थप गरि १० वर्षे कैदको फैसला सुनाइएको हो । 

थारुले भने करणी गर्न अवस्थीलाई मद्दत गरेको पाइएकोले त्यसै अनुसारकाे सजाय ताेकिएकाे श्रेस्तेदार शर्माले बताउनुभयो । 

पीडित महिला बोल्न नसक्ने भए पनि अवस्थी र थारुले आफुलाई बलात्कार गरेको औंलाको इसाराले बताएकी थिइन् । घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो । ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया