पाटनलाई हराउँदै मेलौलीले जित्यो एनपीएलको उपाधि

 कात्तिक १६, २०७५ शुक्रबार २०:८:१२ | जयराज अवस्थी

बैतडी – बैतडीको देहीमाडौंमा सम्पन्न निंगलाशैनी प्रिमियर लिगको उपाधि मेलौली नगरपालिकाले हात पारेको छ । 

शुक्रबार सम्पन्न भएको फाइनल खेलमा पाटन नगरपालिकालाई ४९ रनले पाखा लगाउँदै मेलौलीले उपाधि हात पारेको हो । उपाधिसँगै मेलौलीले नगद एक लाख एघार हजार एक सय एघार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

यस्तै उपविजेता पाटन नगरपालिकाले नगद ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । शुक्रबार भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको मेलौलीले १६.५ ओभरमा सबै विकेट गुमाउँदै  १३७ रन बनाएको थियो । जसमा मेलौलीका मुकुन्द क्षेत्रीले २५ रन र कमल क्षेत्रीले २४ रनको योगदान गरे । बलिङतर्फ पाटनका सुभाष बिष्ट, दीपक बिष्ट र धिरेन्द्र चन्दले समान दुई–दुई विकेट लिएका थिए । 

१३८ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको पाटन १५.३ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । जसमा पाटनका लागि धिरेन्द्र चन्दले १९ र मदन चन्दले १५ रनको मात्रै योगदान दिन सके । पाटनलाई ८८ रनमै समट्ने क्रममा मेलौली जयराम भट्टले ३, कृष्णदेव भट्ट र विरेन्द्र बिष्टले दुई–दुई विकेट हात पारे । 

फाइनल खेलमा मेलौलीका जयराम भट्ट प्लेयर अफ् द म्याच घोषित भए । कार्तिक ८ गतेदेखि देहीमाडौंमा सञ्चालन भएको निङ्गलाशैनी प्रिमियर लिगमा मेलौलीका किरन ठगुन्ना प्लयेर अफ् द टुर्नामेन्ट घोषित भए । उनले ११ हजार १११ नगद,ट्रफी र प्रमाण पत्र हात पारे । उनले प्रतियोगिताभरि १२८ रन बनाएका थिए । त्यस्तै बलिङतर्फ उनले ६ विकेट लिएका थिए । 

यस्तै बेष्ट ब्याट्सम्यान शिवनाथका भानदेव ओझा, बेष्ट बलर मेलौलीका विरेन्द्र बिष्ट, सर्वाधिक छक्का दशरथ चन्द नगरपालिका ए का तेजबहादुर चन्द, सर्वाधिक चौका मेलौलीका किरन ठगुन्ना, उदयीमान खेलाडी पाटनका सन्दीप बिष्ट, फेयर प्ले टिम पुरचौडी नगरपालिका घोषित भए । 

निंगलाशैनी क्रिकेट क्लबको आयोजना र युवा समाजसेवी तेजबहादुर चन्दको प्रमुख प्रायोजकत्वमा सञ्चालन भएको प्रतियोगितामा निंगलाशैनी क्रिकेट क्लबका सदस्यहरुलाई सम्मान गरिएको छ । नेपालको तर्फबाट अन्तराष्ट्रिय प्रतिनिधित्व जनाएका खेलाडी मनोज जोशी, द्रोपती बोहरा र  बेस बल खेलाडी सुभाष बोहरालाई सम्मान गरिएको निंगलाशैनी क्रिकेट क्लबका सचिव तिलक बोहराले बताए । 

यस्तै एनपीएलका संस्थापक दीपक बोहरा, निंगलाशैनी क्लबका संस्थापक अध्यक्ष चक्रबहादुर बोहरा सम्मानित भएका थिए । प्रतियोगिताको समापन सत्रमा बोल्दै निंगलाशैनी प्रिमियर लिगका मुख्य प्रायोजक तेजबहादुर चन्दले आउँदो वर्ष प्रथम पुरस्कार ५ लाख ५५ हजार पुर्याउने घोषणा गर्नुभयो  । 

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया