टपरीको कथा : नवलपरासीदेखि पशुपतिसम्म

 कात्तिक १७, २०७५ शनिबार ७:४५:४७ | मोहन पौडेल

काठमाडौं – घरको कामबाट फुर्सद भएपछि नवलपरासी कुसुण्डेकी स्मृति दराई घर नजिकैको जंगल पुग्नुहुन्छ । सालका पात टिप्नुहुन्छ र घरमा ल्याउनुहुन्छ ।  

घरको धन्दा सकेर दुनाटपरी गाँस्नुहुन्छ, अनि बेच्नुहुन्छ । घरको काम गर्दै टपरी गाँस्दा दिनमा एक सयवटा भन्दा धेरै टपरी तयार हुन्छ । टपरी एउटाको साढे दुई रुपैयाँ र दुना चाहिँ एउटाको एक रुपैयाँको दरले बेच्नुहुन्छ । 

घरको कामबाट फुर्सद भएको बेला दुनाटपरी गाँस्दा पनि दिनमा २ सय ५० रुपैयाँ कमाई हुन्छ । घरमा अरु काम नभएको बेला दुईसय वटा टपरी गाँसेर ५ सय रुपैयाँ कमाउनुहुन्छ स्मृतिले । 

सानो छँदा घरमा आमाले टपरी गाँसेको देख्नुभएको थियो । आफूले पात र सिन्का समाउनुभएको थिएन । स्मृतिको माइती चितवन । बिहे गरेर नवलपरासी पुगेकी उहाँका श्रीमान् रोजगारीका लागि कतार जानुभएको छ । दुई महिनामा कहिले ५० हजार त कहिले ६० हजार रुपैयाँ पठाउनुहुन्छ । 

श्रीमान् विदेश गएपछि घर र छोरी सम्हाल्ने जिम्मेवारी थपियो स्मृतिको । केही समय त त्योभन्दा बाहिर अरु केही सोच्नुभएन । खेतबारीको काम बाहेक अरु केही देख्नु पनि भएको थिएन । तर गाउँबाट विदेश जानेका परिवारलाई कमाउने र जोगाउने तरिका सिकाउने वित्तीय साक्षरता कक्षा गाउँमा आएपछि स्मृतिले गर्न सकिने धेरै काम देख्नुभयो । 

कक्षामा बस्ने कसैले कुखुरा पाले । कसैले गर्दै गरेको खेतीलाई नै व्यवसायीक बनाए । स्मृतिले चाहिँ टपरी बुन्न थाल्नुभयो । टपरी नै रोज्नुको कारण ? जवाफमा स्मृती भन्नुहुन्छ  ‘घरको काम पनि गर्न भ्याइने अनि लगानी पनि नलाग्ने, त्यही भएर’ 

उहाँले भने जस्तै टपरी बनाएर बेच्न थालेको एक वर्ष भए पनि अहिलेसम्म उहाँले लगानी गर्नु परेको छैन । टपरीका लागि चाहिने पात जंगलबाट ल्याउनुहुन्छ । सिन्का पनि अहिलेसम्म उहाँले माइतबाटै ल्याउनुभएको छ । दिनभरी काम अरु काम नगरी बस्दा स्मृतिले दुई सय टपरी गाँस्नुहुन्छ ।  उहाँले गाउँमा टिपेका पात र गाँसेका टपरी अरुणखोला र डण्डासम्म ल्याउनुहुन्छ, बिक्री गर्न । अरुणखोला र डण्डामा टपरी बनाउने उद्योग छ । 

उद्योग चलाउनुभएको छ, सञ्जय गिरीले । उहाँको ५० वटा मेसिन छन् । जुन मेसिनले दिनमा एक लाख वटा टपरी उत्पादन गर्छन् । उद्योगमा ६५ जनाले काम गर्छन् । स्मृति दराई जस्ता घरमा टमरी बुनेर ल्याउनेहरु तीन सय भन्दा धेरै छन् । 

यहाँबाट उत्पादन भएका टपरी भैरहवा, बुटवल, पोखरा मात्रै होइन काठमाडौंसम्म पुग्छन् । नवलपरासी, चितवन अनि मकवानपुरको हेटौंडाबाट ल्याइएका पात र टपरी आइपुग्ने काठमाडौंको ठाउँ हो बसन्तपुर ।

भिडियाे कथा हेर्नुहाेस्

बसन्तपुरका व्यापारीले बिक्री गरेको टपरी कहीँ भोजमा प्रयोग हुन्छ । तर धेरै चाहिँ पितृ कार्य अथवा काजकिरीया र श्राद्धमा । जसको मुख्य थलो हो, काठमाडौंको पाशुपत क्षेत्र । 

नवपरासीको कुसुण्डेमा टिपिएको पातले अरुणखोला र बसन्तपुर हुँदै पशुपति क्षेत्रमा केहीलाई खर्च जुटाउने मेलो बनाइदिएको छ । पशुपति क्षेत्रमा टपरी गाँस्नुहुन्छ, गुहेश्वरीकी गायत्री वाग्ले । 

उहाँको पुख्र्यौली थलो ओखलढुङगा हो । ओखलढुङगाबाट १३ वर्षअघि काठमाडौं आउनुभएकी गायत्री वाग्लेले पशुपतिमा टपरी बनाएर बेच्न थालेको १२ वर्ष पुग्यो । किरियापुत्री भवनमा टपरी गाँस्ने गायत्रीले महिनाको १५ हजार रुपैयाँ यही कामबाट कमाउनुहुन्छ । 

उहाँले बनाएका टपरी किरियापुत्रीसँगै श्राद्ध गर्नेहरुले प्रयोग गर्छन् । नवलपरासीमा पात  टिपेर टपरी बनाएपछि सुरु भएको टपरीको कथा पशुपतिमा आएर सकियो । 
 

अन्तिम अपडेट: मंसिर ४, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया