देशमुली निको भए, फेसबुकका मुला कहिले निको हुने ?

 कात्तिक १७, २०७५ शनिबार ८:२५:२१ | मिलन तिमिल्सिना
unn.prixa.net

देशका मुलीलाई रुघाखोकीले के च्यापेको थियो, सामाजिक सञ्जालमा फलेका केही मुलाहरुलाई चाहिँ दिमागी फ्लुले च्याप्न थालेछ । देशमुलीको छातीमा संक्रमण देखिँदा सञ्जालका मुलाहरुको चाहिँ दिमाग नै संक्रमण हुन थाल्यो । 

देशमुलीको शरीरमा चिनीको मात्रा असन्तुलन देखियो, सञ्जाल मुलाको चाहिँ दिमाग नै असन्तुलित देखियो । देशमुली अस्पताल भर्ना भए, सञ्जाल मुलाहरु फेसबुक र अन्टसन्ट साइटमा चौविस घण्टे ड्युटीमा भर्ना भए ।

अस्पताल भित्रबाट डाक्टरको रिपोर्ट आयो – देशमुलीलाई सुधार हुँदैछ । सञ्जाल मुलाहरुको दिमागी रिपोर्ट आयो – स्थिति झन् झन् खराब हुँदैछ । आत्मबल बलियो भएका देशमुली तंग्रँदै गए । सञ्जाली मुलाहरुको आत्मबल खलबल भयो ।  

देशमुलीले आफैं नास्ता खाए, दाह्री काटे । सञ्जाल मुलाहरुले मोबाईल र कम्प्युटरका भित्तामा बान्ता गरे, दाह्रा किटे र कुरा मात्रै काटे । देशमुली निको भएर काममा फर्किए । सञ्जाल मुलाहरु झन् थलिएर अस्पताल भर्ना भए ।

सामाजिक सञ्जाल चलाउने केही मुलाहरु यसैगरी अस्वस्थ हुँदै गएका छन् । उनीहरुलाई जाँच गरेका डाक्टरहरुका अनुसार सामाजिक सञ्जाल र अन्टसन्ट साइटमा जथाभावी लेख्ने यस्ता मुलाहरुलाई लागेको रोग निकै गम्भीर र खतरनाक छ । बिहान बेलुकी एक मुठा मुलाको साग र दुई कचौरा मुलाको चाना खुवाए पनि यिनीहरुको हर्कतले पार पाउन मुस्किल देखिन्छ ।

आफू बाहेक सबैको कुभलो चाहने यी मुलाहरुको दिमाग कहिल्यै सफा हुँदैन, दिमागले नकारात्मक कुरा मात्र सोचिरहन्छ । उनीहरु आफू एकदिन मर्नुपर्छ भन्ने कुरा बिर्सन्छन्, अरुलाई जिउँदै श्रद्धाञ्जली दिन्छन् । दिमाग र औंला ठीक ठाउँमा नभएपछि उनीहरु सामाजिक सञ्जालमा मनपरी लेख्छन् । अरुको सत्तोसराप गर्छन् । उनीहरुको दिमाग र औंलामा लागेको यो डरलाग्दो संक्रमणले समाजलाई पनि असर गर्न थालेको छ । उनीहरुकै कारण म जिउँदै छु भनेर बेलाबेला स्पष्टीकरण दिन धेरैजना बाध्य छन् ।

सामाजिक सञ्जालको यस्तो खतरनाक रोग लागेकाहरु आफ्नो कान छाम्दैनन्, अरुलाई पनि छाम्न दिंदैनन् । कागले कान लग्यो भनेर बेस्सरी कुद्छन् । यस्तो बेला दिमागले काम गर्दैन । दिमागको तार चुँडेको बेला फेसबुक खोल्दा औंला जता पनि थिचिन्छ । 

दिमाग र औंला ठेगानमा नभएपछि जे पनि लेखिन्छ । लेखेको कुरा उतिखेरै सबैतिर देखिने भएकाले देख्नेहरुलाई पनि सही, गलत छुट्याउन एकछिन मुश्किल पर्छ । कुरो के रहेछ भनेर घोत्लिन बाध्य पार्छ । महत्वपूर्ण काममा लागेकाहरु अनावश्यक कुरामा घोत्लिन थालेपछि उनीहरुको दिमाग र कामलाई समेत असर गर्छ ।

फेसबुके कुलतको संक्रमणबाट ग्रसित भएकाहरुको उपचारमा संलग्न डाक्टरहरुका अनुसार फेसबुक लगायतका सामाजिक सञ्जाललाई रीसबी पोख्ने र नकारात्मक कुरा मात्र ओकल्ने थलोको रुपमा प्रयोग गर्दा यस्ले दुनियाँलाई थिलोथिलो मात्र बनाउँदैन, आफ्नै दिमागलाई पनि भुत्ते बनाउँछ । भुत्ते दिमागले शरीरका तन्तु जोड्ने तार छिनाउँछ र मान्छेलाई असन्तुलित बनाउँछ । यसको समयमै रोकथाम गरिएन भने भविष्य अन्धकार हुन्छ । 

अस्पतालमा रोगसँग संघर्ष गर्दै गरेको मान्छेलाई स्वास्थ्यलाभको कामना गर्नुको सट्टा सुतेको सुत्यै होओस् भनेर सामाजिक सञ्जालमा कामना गर्ने मान्छे मनोरोगी हो । यसले समाजमा संक्रमण फैलाउँछ । सामाजिक सम्बन्ध र प्रेमलाई तहसनहस बनाउँछ । 

सामाजिक सञ्जाल, अन्टसन्ट साइट र अरु ठाउँमा यस्ता नकारात्मक कुरा फैलाउने र समाजलाई हानी गर्नेलाई ठेगान लगाउने काम अस्पतालबाट फर्किएका देशमुलीले नै हो भन्ने डाक्टरहरुको ठहर छ । 

देशमा नुनभन्दा बढी त कानुन नै होला । तर बिहान, दिउँसो, बेलुका नुन खाएझैं मान्छेले कानुन समेत खान थाले । कानुनदेखि डराउन छाडे । कानुनको खिल्ली उडाए । चुरोटको खिल्ली झैं कानुनको खिल्ली उडाउनेलाई टीबीभन्दा पनि खतरनाक रोग लाग्छ । जुन रोगले समाजलाई समेत संक्रमित बनाउँछ । 

यस्ता रोगीलाई उपचार र रोग लाग्नै नदिन उचित रोकथामको आवश्यकता छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया