चित्र बनाउन थालेपछि बुढेसकाल नै बिर्सन्छन् हेम

 कात्तिक १७, २०७५ शनिबार ११:५०:१० | सजना तिमल्सिना
unn.prixa.net

हातमा ब्रस र केही रंगसँगै खाली कागज लिएर बसेपछि उहाँलाई घण्टौं बितेको पत्तै हुँदैन । धेरैपटक त चिया सेलाएर हिउँजस्तो भैसकेको हुन्छ । खाना खान बोलाएको मान्छे कुरेको कुर्‍यै हुन्छन, ढिलो खान गयो भनेर गाली पनि खाइन्छ । ७८ वर्षीय हेम पौडेलको दैनिकी हो यो  ।

लौरो टेकेर हिँड्ने बेलामा पनि चित्रकारितामा उहाँको लगाव उत्तिकै छ । कपालका सबै केस्रा फुलेका छन्, शरीर कमजोर भएको छ तर आत्मविश्वास घटेको छैन । चित्र बनाउन थालेपछि उहाँ आफ्नो बुढेसकाल नै बिर्सनुहुन्छ । उहाँको सम्पूर्ण ध्यान चित्र र रंगमै हुन्छ । ‘कोही व्यक्तिसँग कुरा गर्दा पनि म चित्रबारे सोचिरहेको हुन्छु’, उहाँ थप्नुहुन्छ, ‘मेरो सोच त्यो चित्रमा कुन रंग भर्दा राम्रो हुन्छ । अनि के गर्दा त्यसलाई जीवन्त बनाउन सकिन्छ भन्नेमै हुन्छ । पाँच वर्षको उमेरमा नै हुस्सु लागेको बेलामा छोपिएको घाम आफूले बनाएको सम्झँदै उहाँ भन्नुहुन्छ, ‘घरमा बार्दली थियो, त्यतिबेला हुस्सु लाग्थ्यो, पहेंलो हुँदै घाम लाग्थ्यो म त्यही हुस्सुले छोपिएको पहेँलो घाम बनाउँथे ।’

वि.सं. १९९७ साल वैशाख ४ गते काठमाडौंको बत्तीसपुुतलीमा जन्मनुभएका पौडेल बाल्यकालदेखि नै चित्रकलामा लाग्नुभयो । २०१५ सालमा चन्द्रमान मास्केसँग एक वर्षे चित्रकलाको प्रारम्भिक शिक्षा लिएपछि पौडेलको चित्रकारिताले दरिलो जग पायो । 

आफ्नो गुरु भारतको कलकत्तामा डाक्टर पढ्न गएको तर आर्ट पढेर फर्किएको सम्झँदै पौडेल रमाइलो गरी सुनाउनुहुन्छ, ‘कलाकारको मन कमलो हुन्छ, तर डाक्टरले त चिरफार गर्नुपर्छ नि त, मेरो गुरु चन्द्रमान मास्केको मन पनि कमलो, घरबाट डाक्टर पढ्न गएको मान्छे चित्रकला सिकेर फर्कनुभयो ।’

त्यसपछि उहाँले २०१६ देखि २०१९ सम्म घरेलु शिल्पकला उद्योग त्रिपुरेश्वरमा जर्मन प्रशिक्षकबाट तीन वर्षे कमर्सियल आर्टमा डिप्लोमा सरहको कोर्ष पूरा गर्नुभयो । त्यो सिकाइलाई निकै महत्वपूर्ण  अनुभव भएको उहाँ बताउनुहुन्छ । नेपालमा आर्ट कलेज नै नखुलेको बेलामा आफूले सिक्न पाएकोमा उहाँ अहिले पनि निकै खुसी हुनुहुन्छ । 

डाक्टर फ्लेमिङका ‘बर्डस् अफ नेपाल’ नामको पुस्तकमा भएका चराका सबै चित्र पौडेलले नै बनाउनुभएको हो । त्यो क्षण सम्झँदै पौडेल भन्नुहुन्छ, ‘फ्लेमिङ सिनियर र जुनियर, ललितपुरको शान्तभवन अस्पताल (पाटन अस्पताल) नजिकै फ्लेमिङ हाउसमा बस्थे । उनीहरुले “बर्डस् अफ नेपाल” नामको पुस्तक लेखेका थिए । पुस्तकको सबै काम लगभग सकिएको थियो । त्यसमा चरा बनाउनुपर्ने थियो । चराको चित्र बनाउने प्रस्ताव आयो । मैले लैनसिंह वाङदेललाई चिनेको भरमा डाक्टर फ्लेमिङले मलाई त्यो चित्र बनाउने मौका दिए । काम नपाएर बसेको बेलामा काम गर्छौ भनेर सोध्न आएपछि नगर्ने भन्ने पनि हुन्छ र ? मैले सहजै गर्ने नि किन नगर्ने भने । त्यसपछि हिरण्यलाल र म भएर चार वर्ष लगाएर पेन्टिङ तयार गर्‍र्यौैं । उनीहरुले बम्बैमा लगेर भ्याकिल प्रेस भन्नेमा छपाए । खुब राम्रो भएर किताब छापियो । संसारभरि यो पुस्तक फैलँदा हाम्रो खुसीको सीमा नै रहेन ।” 

चराकै लागि जीवन समर्पण गरेका पौडेलका अनेक सम्झना छन् । जीवनको नबिर्सने क्षणको सम्झना पौडेल गर्नुहुन्छ । ‘डाक्टर फ्लेमिङले चरालाई मारेर अध्ययन गर्नुहुन्थ्यो । चरा मरेपछि गन्हाउँछ । मरेको चराको मासु झिकेर कपास हालेर छेउको ढुंगामा राख्यौँ । हामी नजिकै बसेर चिया पिउन थाल्यौँ । त्यहिबेला एउटा बाज आयो अनि ढुंगामा राखेको चरा झ्याप्प पारेर लिएर गयो’, त्यसपछि हाँस्दै फ्लेमिङले भन्नुभयो, ‘न त्यसलाई आहारा भयो । न हामीले अध्ययन गर्न पायौं । हाम्रो मिहेनत खेर गयो । त्यो एउटा कहिल्यै नबिर्सने क्षण हो ।’

नेपालमा चित्र किनेर राख्ने प्रचलन नभएको उहाँको बुझाई छ । ‘डाक्टर फ्लेमिङको पुस्तकमा छापिएपछि मेरा चराका चित्रहरु यूरोपतिर पनि माग्न थाले । सँगै मैले अरु काम पनि गर्न थालें । पत्रिकाको लागि पनि गरेँ । तर नेपालमा आर्ट किनेर राख्ने हैसियत कसैको पनि छैन’, उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ, ‘नेपालमा महंगो भनेर कसैले पनि किन्दैन । बाहिर पठाउन सक्दा त आम्दानी पनि छ । 

२०३१ सालमा दार्जीलिङमा आफ्नो पहिलो चित्र प्रदर्शनी गर्नुभएका पौडेलले त्यसपछि अहिलेसम्म झण्डै १५ वटा चित्र प्रदर्शनी गरिसक्नु भएको छ । 

चित्रकलाको क्षेत्रमा नेपालका विभिन्न संस्थासँग ८ वर्ष समय बिताउनुभएका पौडेलले साउदी अरबको अराम्को कम्पनीमा कमर्सियल आर्टिष्टको रुपमा चार वर्ष काम गर्नुभयो । डाक्टर रोबर्ट फ्लेमिङको ‘बर्डस् अफ नेपाल’ सँगै जोनाथन लिन्देलद्वारा लिखित ‘नेपाल एण्ड गोस्पेल अफ् द गड’ पुस्तक भित्रका सबै चित्र पौडेलकै हुन्  । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको प्रकाशन ‘नेपालका चराहरु’ २०३९ पुस्तक भित्रका सबै चित्र, द हिमालयन बड्र्स, चिल्ड्रेन मेमोरी गेम कार्ड प्रोजेक्ट २०६३ का सबै चराका चित्र र शान्तिको आलोक कविता संग्रह २०६२ उहाँका रचनाले भरिएका छन् । 

चित्र बनाएर कहिल्यै नथाक्ने पौडेल धेरै चित्र चराको कोर्नुहुन्छ । उहाँ मानिसलाई पनि कुशलताका साथ कागमा उतार्नुहुन्छ । उहाँले कुन तरिकाले बसिएको छ त्यसको आधारमा अनुहार अथवा कुनै आकृति हुबहु बनाउनुहुन्छ । अहिले पनि आफ्नै निवासमा ‘हेम आर्ट ग्यालरी’को स्थापना गरी चराका चित्रहरु बनाउन उहाँ सक्रिय हुनुहुन्छ । 

चित्रकार हेम पौडेलका चित्रकला नेपाल, भारत, जापान, बेल्जियम, जर्मनी, अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, साउदी अरब, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, चीन र रुसमा संग्रह छन् । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया