पाटनलार्इ नमूना सहर बनाइने : अाश्वासन ठूलाे, प्रगति शून्य

 कात्तिक १७, २०७५ शनिबार १४:१६:५९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – नेपाल सरकारले २०६८ सालमा मध्यपहाडी लोकमार्ग अन्तर्गत दशओटा सहरलाई नमूना शहरको रुपमा विकसित गर्ने निर्णय गरेको थियो । 

तिनै १० ओटा नमूना शहर मध्येको दशौं सहरको रुपमा रहेको बैतडीको पाटनलाई विकसित गर्ने निर्णय भएको थियो । करिब २ लाख मानिसको बसोबास गराउने, आधुनिक शहरका सुविधासहित व्यवस्थित सहर बनाउने निर्णय हुँदा पाटनबासी निकै खुसी भएका थिए । 

नमूना सहर बनाउने घोषणा भएको सात वर्ष बितिसक्दा समेत यो शहरमा विकास निर्माणका कामले खासै गति लिन नसकेकोमा स्थानीयवासी दुखित भएका छन् । 

नमूना सहर बनाउने सरकारको योजना पछिल्लो समयमा अलपत्र परेको छ ।

पाटन नमूना सहर बन्छ भन्दा धेरै खुशी लागेको र अहिले नयाँ सहर निर्माण कार्यले गति नलिँदा निराशा छाएको पाटन नगर विकास समितिका पूर्व अध्यक्ष जंगवीर बिष्टले बताउनुभयो । 

‘पाटन नयाँ शहरको काम सोचे अनुसार अघि बढ्न नसकेको र विकास निर्माणका कामले समेत खासै गति लिन नसकेको उहाँले बताउनुभयो ।’

देशको दशौं नमूना शहरको रुपमा विकसित गर्ने सरकारले घोषणा गरेको भएपनि नयाँ शहरको काम अपेक्षा गरेअनुसार अघि नबढेको पाटनका स्थानीय कृष्ण पन्तले बताउनुभयो । 

सुविधासम्पन्न अस्पताल, खानेपानी, विद्युत लगायतका आधारभूत विकासका कुराहरु अघि बढ्ने आशासमेत गरेको उहाँले बताउनुभयो । 

नयाँ सहर आयोजना अन्र्तगत गएको सालसम्म केही काम भए पनि चालु आर्थिक वर्षमा प्रदेश सरकारमा बजेट गएपछि कुनै पनि काम अघि बढ्न नसकेको साविकको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रविण शाहले बताउनुभयो । 

पाटन नयाँ शहरमा जग्गा प्लटिंगको कामसमेत अघि बढ्न सकेको छैन । जग्गा प्लटिङको काम अघि नबढ्दा नयाँ शहरको काम पनि अघि बढ्न सकेको छैन । जनप्रतिनिधिहरुले समेत अपेक्षाकृत रुपमा काम गर्न नसकेको स्थानीयबासीको गुनासो छ । 

ऐतिहासिक शहरको रुपमा रहेको पाटनलाई नमूना शहर बनाउने भने पनि नमूना शहर निर्माणका अधिकाँश कामहरु अलपत्र परेका छन् । 

पाटन प्राकृतिक हिसाबले रमणीय ठाउँ हो । यसको चारैतिर डाँडाकाँडा र बीचमा मैदानी फाँट रहेको खेत छ । ऐतिहासिक रुपमा पनि पाटनलाई देवता र असुरबीचको लडार्इँ भएको ठाउँको रुपमा चिनिन्छ । 

देवता र असुरबीचको लडाईँ भएकाले बीचमा बग्ने नदीको नाम सुर्नया रहेको किंम्वदन्ती रहेकोे छ । 

यो ऐतिहासिक सहरलाई आधुनिक बनाउने काममा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने पाटनका स्थानीयवासिन्दा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो । 

पाटन नयाँ सहरको काम अघि बढाउनका लागि सरोकारवालाहरु सबैले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पाटन नयाँ शहर अन्तर्गतका रिंगरोड, कभर्ड हल निर्माण, बसपार्क निर्माण, ढल निकासका कामहरु अझै पनि सम्पन्न हुन नसकेको स्थानीयवासीहरुले बताएका छन् । 

पहाडी क्षेत्रकाट तीव्र रुपमा भइरहेको बसाइँ–सराइ रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएको भए पनि नमूना शहर निर्माणको काम भने अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन । 

सरोकारवालाहरुले नयाँ सहरको कामलाई तीव्रता दिएर अघि बढाउनुपर्ने स्थानीयहरुले बताएका छन् । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया