प्रवर्द्धन बोर्डका एक दशक : ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी

 कात्तिक १७, २०७५ शनिबार १७:५:३० | रासस

काठमाडौं – वैदेशिक रोजगार  प्रवर्द्धन बोर्ड स्थापना भएको एक दशक पुरा भएको छ ।  वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार  प्रवर्द्धन बोर्ड आजदेखि दशौँ वर्षमा प्रवेश गरेको हो । 

बोर्डले यो अवधिमा रोजगारीका लागि खुला गरिएका १ सय १० गन्तव्य देशमा श्रम गरिरहेका बेला ज्यान जाने लगायत भवितव्यमा परी ज्यान गुमाएका ६ हजार ७ सय ९० जनाका परिवारलाई बीमा र कल्याणकारी कोषको रकम गरी  डेढ अर्ब आर्थिक सहायता उपलब्ध गराएको छ । 

आव २०६७/६८ देखि २०७४/७५ सम्म विभिन्न देशमा पाँच हजार ८ सय ३२ कामदारको मृत्यु तथा ७ सय ८७ कामदार अङ्गभङ्ग तथा गम्भीर बिरामी परेको तथ्याङ्क छ । यो अवधिमा मलेसियामा दुई हजार १ सय २५ पुरुष र २७ महिला गरी २ हजार १ सय ५२ नेपाली कामदारको मृत्यु भएको बोर्डले जनाएको छ ।

 यस्तै साउदी अरेबियामा १ हजार ६ सय ३४ पुरुष र तीन महिला, कतारमा १ हजार १ सय ९१ पुरुष र आठ महिला, युएईमा ४ सय ५६ पुरुष र २९ महिला, कुवेतमा १ सय ४९ पुरुष र ३७ महिला, बहराइनमा ७५ पुरुष र दुई महिला, दक्षिण कोरियामा ७४ पुरुष, लेबनानमा चार पुरुष र १६ महिला तथा श्रीलङ्कामा दुई पुरुषको रोजगारीका क्रममा मृत्यु भएको छ । 

बोर्डले वैदेशिक रोजगारीका क्रममा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका १ हजार २ सय २ जनालाई सहायता प्रदान गरेको छ । कामदारको मृत्यु तथा अङ्गभङ्ग हुँदा प्रदान गरिने आर्थिक सहायता र उपचार खर्च  एक लाख ५० हजारबाट बढाएर सात लाख पुर्‍याइएको कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

विभिन्न गन्तव्य देशमा अलपत्र परेका १ सय ५ जनाको उद्धार गरिएको, २ सय ६ वटा शव झिकाएको, १ हजार ३ जनाको शव ढुवानी गरिएको बोर्डले जनाएको छ । पीडित कामदार र तीनका आफन्तलाई प्रदान गरिने सहायता निवेदन दिएको दिनमा उपलब्ध गराउने, कामदारको उद्धार तथा सहयोगका लागि बोर्ड सचिवालयमा अलगै कक्षको व्यवस्था गरी शीघ्र उद्धारको व्यवस्था गरिएको बोर्डले जनाएको छ । 

कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा बोर्डबाट ५० हजार रुपैयाँ औषधोपचार खर्च उपलब्ध गराइने उहाँले बताउनुभयो । कामदारको वैदेशिक रोजगागर जीवन बीमा वृद्धि गरी १५ लाख रुपैयाँ पुर्‍याइएको, वैदेशिक रोजगारीमा हुँदा नेपाली कामदारलाई लाग्न सक्ने १५ प्रकारका रोगको उपचारका लागि  पाँच लाख रुपैयाँको स्वास्थ्य उपचार बीमाको व्यवस्था मिलाएको छ । 

कार्यकारी निर्देशक श्रेष्ठले बोर्ड स्थापनादेखि बीमामा लाग्दै आएको बीमा मृत्यु कर हटाइएको र विदेशमा विभिन्न अभियोग लागेर जेलमा रहेका नेपालीलाई निःशुल्क कानूनी प्रतिरक्षाका लागि सहयोग प्रदान गर्न निर्देशिका जारी गरिएको बताउनुभयो ।  

श्रेष्ठले शैक्षिक वर्ष २०७३ देखि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका कामदारका छोराछोरीलाई विद्यालय तहसम्मको शिक्षामा सहयोग पुर्‍याउन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । हालसम्म १ हजार २ सय ५५ जनालाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । 

कल्याणकारी कोषमा साढे चार अर्ब सञ्चित 

कामदारलाई विपद् पर्दा तथा रोजगारीका लागि अभिमुखीकरण दिनका लागि बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन गर्दै आएको छ । आव २०७४/७५ सम्म यो कोषमा चार अर्ब ५० करोड सञ्चित भएको छ । 

चालु आवको अन्त्यसम्म कोषमा पाँच अर्ब ७८ करोड ५० लाख सङ्कलन हुने बोर्डको अनुमान छ । बोर्डले आव २०७५/७६ मा  एक अर्ब २८ करोड ५० लाख रुपैयाँ आम्दानी र १ अर्ब २३ करोड ७५ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरेको छ । 

बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा परिवारलाई आर्थिक सहयोग, विदेशमा अलपत्र परेको अवस्थामा उद्धार, मृतक कामदारको शव स्वदेश ल्याउन, वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालीम प्रदान गर्न कल्याणकारी कोषमा सञ्चित रकमबाट सहयोग गर्दै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया