ओखलढुङ्गाको दुर्गम क्षेत्र तालकोटमा सडक पुगेपछि छमछमी नाचे सांसद सुनुवार

 कात्तिक १७, २०७५ शनिबार १८:१:२२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – ओखलढुंगाको अति दुर्गम गाउँ पात्लेको तालकोटसम्म सडक पुगेपछि स्थानीयले फूलमालाले स्वागत गरेका छन् ।

ओखलढुंगा सदरमुकामबाट पहिलो पटक सडकको ट्रयाक तालकोटसम्म पुगेको हो । सडकको ट्रयाकसँगै सवारीसहित पुगेका अतिथिहरुलाई स्थानीयले फूलमालाले स्वागत गरेका हुन् ।

साविक पात्ले गाविसको बागचिन्दो–रचने–तालकोट सडक उद्घाटनमा स्थानीयले नाचगानसहित खुसियाली समेत मनाए छन् । ५ किलोमिटर सडक २४ लाखमा खनिएपछि मोलुङ गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेको छ । वडा कार्यालय नजिकै सडक पुगेपछि आवत–जावत् र ढुवानीका लागि सहज भएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो ।

आफ्नै गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेपछिको खुशीयालीमा प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार गायिक सिता माझीसँगै छमछमी नाच्नुभयो । उहाँले भन्नुभयो, ‘चुनावमा अर्को पटक आउँदा गाडी चढेर आउँछु भनेको थिए, अहिले म खुशी छु ।’

गाउँमा सडक पुगेपछि स्थानीय खुशी भएका छन् । सडकले गाउँको जीवनस्तर सुधार गर्ने अपेक्षा लिइएको दलित अगुवा पदम परियारले बताउनुभयो । सडक उद्घाटनमा प्रतिनिधिसभाका सांसद सुनुवार, प्रदेशसभाका सांसद अम्बीरबाबु गुरुङ लगायतका अतिथिहरु पुगेका थिए । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया