तिहारको मुखमा भारत जानुपर्ने बाध्यता, भन्छन् – संघीयता नेताका लागि रहेछ, हाम्रा पीडा उस्तै

 कात्तिक १८, २०७५ आइतबार ११:७:५१ | निर्मला खडायत
unn.prixa.net

कैलाली – दिउँसोकोे २ बजेको थियो । धनगढी बसपार्कमा टिकट काउन्टरबाट एकजना मान्छे कराए–ʽल बेलुका तीन बजेको गाडीमा जानेहरु बसौं है, बस हिँड्नै थाल्यो ।’ कोही परिवारको साथमै आएका र कोही परिवार छोडेर आएकाहरुको एक हुल भारत जानका लागि धनगढी बसपार्कबाट भारतीय सीमा नाका गौरीफण्टासम्म जाने गाडीमा तँछाडमछाड गर्दै पसे । उनीहरु कामको खोजीमा भारत जाँदै थिए । 

तिहारको मुखैमा छोराछोरी, घरपरिवार छाडेर विदेशिनुपर्दाको पीडा उनीहरुको अनुहारमा झल्कन्थ्यो । ‘चाडपर्वको मुखैमा विदेशिने रहर कसलाई पो हुन्छ र ?’ रोजगारीका लागि भारतको मुम्बई जान लागेका बाजुराका मोहन बिसीले भन्नुभयो, ‘दसैँको विदामा आएको थिएँ, काम गर्न फेरि जाँदैछु ।’ 

मुम्बईमा उहाँ एउटा स्कुलमा चौकीचारको काम गर्नुहुन्छ । बस चढ्दै गर्नुभएका उहाँको अनुहारमा तिहारकै बेला विदेशिनु परेको नरमाइलो झल्कन्थ्यो । ‘छोराछोरीको पढाइ, घरखर्च चलाउन भए पनि काम गर्न जानु प¥यो । परिवारसँगै बसेर रमाइलो गरी तिहार मनाउने रहर नभएको कहाँ हो र ?’ बस चढ्दै गरेका उहाँले भन्नुभयो ।

तिहार सुरु हुनै लाग्दा पश्चिम नेपालको त्रिनगर–गौरीफण्टा नाकाबाट यतिबेला दिनहुँ सयौं नेपाली कामका लागि भारत गैरहेका छन् । दसैँका लागि मात्र बिदामा आएकाहरु पहिलेकै काममा फर्कन र कोही नयाँ कामको खोजीमा भारत हिँडेका हुन् ।

दसैँ मनाउन भारतबाट घर फर्केका अछामका लोकेश परियार पनि फेरि भारत जाँदै गरेको अवस्थामा भेटिनुभयो ।  असारमा धान रोपेर भारत पस्नु भएका उहाँ दसैँ मनाउन घर फर्किनु भएको थियो । दसैँमा घर फर्किदा कमाएको पैसा सकिएपछि अहिले फेरि कामका लागि भारत जान लागेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘काम खोज्न भारत पस्ने सबै नेपालीहरुका पीडा सधैं उस्तै त हुन् नि । कसलाई सुनाएर के हुने हो र ? भारत नगइ गुजारा चल्दैन, आफ्नै देशमा काम पाईंदैन ।̕

प्रदेश सरकारको योजना एकातिर, बाध्यता अर्कोतिर

मुलुक संघीय व्यवस्थामा गएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकार गठन भएको छ । तीन तहकै सरकारले रोजगारीलाई प्रमुख प्राथमिकता दिँदै आएको बताउने गरेका छन् । सुदूरपश्चिममा पनि प्रदेश सरकार गठन भएको एक वर्ष पुग्दै छ । प्रदेश सरकारले आफ्नै क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गर्न बजेटसमेत विनियोजन गरेको बताउँदै आएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त आफूले सपथ ग्रहण गरेकै दिन कामका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको थियो ।

राजनीतिक दलका नेता, स्थानीय र प्रदेश सरकारका प्रतिनिधिले पनि सार्वजनिक सभा, समारोहमा युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने भाषण गर्दै आएका छन् । तर सीमा नाकामा भारत जानेहरुको दिनहुँ भीड देखिन्छ । कामको खोजीका लागि भारत जानेको संख्यामा कमी आउन सकेको छैन ।

स्वदेशमा सामान्य मजदुरीको कामसमेत नपाउँदा तिहारको मुखमै सयौं नेपालीहरु विदेश गैरहेका छन् । भारत जानेको लहरमा विद्यालय उमेरका बालकदेखि वृद्धसम्म देखिन्छन् । 

‘चुनावका बेला नेताहरुले प्रदेशमा रहेको बेरोजगारी समस्या समाधानलाई मुख्य एजेन्डा बनाए ।’ रोजगारीकै लागि भारत जान लागेका बाजुराका १८ वर्षीय उपेन्द्र टमटाले भन्नुभयो, ‘अहिले त्यसका लागि पहल गर्दैन सरकार । तर, चिल्ला कुरा र भाषण भने अझै गर्न छोडेका छैनन् नेताहरुले ।’ चाडपर्वका बेला घरपरिवारको माया मारेर विदेशिनु परेकोमा उहाँको पनि मन साह्रै दुखेको छ । 

प्रदेशमा रोजगारीका पर्याप्त अवसरहरु नहुँदा उनीहरु भारततिर जान बाध्य छन् । दसैँको बेला परिवारको मायाले स्वदेश फर्केका उनीहरु प्रदेशमा कुनै परिवर्तन नपाएपछि तिहार नमानेरै भारत फर्किरहेका हुन् । १५ वर्षदेखि भारतमा काम गर्दै आएका कैलाली सुखडका जयबहादुर साउदले गाउँमै बस्न मन भए पनि धन कमाउन भारत जानु परेको बाध्यता सुनाउनुभयो ।

 ‘खेतीबाट खान मात्रै पुग्छ । अन्य खर्चका लागि आम्दानीको अरु केही स्रोत छैन ।’ उहाँले थप्नुभयो, ‘यहीँ काम पाएको भए विदेश जान्न थिएँ ।’ रोजगारी दिने भनेर चुनावका बेला नेताहरुले भोट मात्रै मागेको उहाँको गुनासो छ । ‘भोट माग्ने बेला रोजगारी दिन्छौं भने, चुनाव जितेकाहरु अहिले फर्केर आउँदैनन्, आए पनि पुरानै भाषण दोहोर्‍याउँछन्, रोजगारी दिन्छौं भनेर । तर सर्वसाधारणले काम पाएका छैनन् ।’

‘हामरा मुख्यमन्त्री भट्ट भोट माग्दा नौकरीका लागि अब भारत जान पड्डैन भन्नाछ्या, उटी केइ आश पलायाको छ्यो ।’ अछाम चौरपाटी गाउँपालिकाका बिक्रम साउदले दिक्क हुँदै आफ्नै भाषामा भन्नुभयो, ‘हाम्रा दिन फेरिन्ना सुच्या अझ जसाका त्यसाई ।’ 

स्वदेशमा रोजगारी नपाउँदा वर्षौंदेखि भारतमा मजदुरी गर्दै आएका उहाँ यो वर्ष पनि निराश हुँदै तिहारअघि नै भारत फर्कन थाल्नु भएको हो । 

गौरीफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाका बिभिन्न नाकाबाट अहिले दिनहुँ नेपालीहरु यसैगरी भारत गैरहेका छन् । प्रदेश सरकार गठन भएको वर्ष दिन पुग्न लाग्दा प्रदेशको बेरोजगारी उन्मूलन गर्ने खालका कुनै पनि योजना र कार्यक्रम नल्याउँदा रोजगारी पाइला भन्ने आशमा बसेका प्रदेशबासी अहिले खिन्न भएका छन् । 

‘क्षणभरको लोकप्रियताको लागि भाषण ठोक्ने नेताहरुलाई चाडवाडको मुखमा परिवारबाट छुट्टिएर हात–मुख जोर्न, धन कमाउनकै लागि प्रवासिनुको पीडा के थाहा ?’ कैलालीको जोशीपुर गाउँपालिका–२, का  रामबिलास कठरिया भन्नुहुन्छ, ‘घरखर्च चलाउन मुश्किल हुन्छ, नगएर के गर्नु ।’ 

‘चुनावका बेला मलाई जिताउनुस काममा लगाई दिन्छु भन्थे नेताहरुले तर अहिले मुखैमाको तिहार छोडेर झोला बोकी रोजगारी खोज्न पराई देश जानु परिरहेको छ ।’ यति भन्दा उहाँका आँखा रसाए । चुनावमा मीठा सपना बाँडेका नेताहरुले अहिले नागरिकहरुका वास्तविक मर्म बुझ्न नसकेको कठरिया बताउनुहुन्छ ।

‘प्रदेशको गरीबी, बेरोजगारीको आभाश गरेका नेताहरुले पनि सत्तामा पुगेपछि दुःख बिर्सदा रहेछन् ।’ तिहारका बेला बहिनीको हातको टिका नलगाइ भारत फर्किरहनु भएका सिद्धराज आउजी भन्नुहुन्छ, ‘अब त देश धान्ने नेताहरुकै विस्वास नै लाग्न छोडेको छ ।’ 

‘हाम्रा लागि राणा शासन आए पनि उस्तै, संघीयता आए पनि उस्तै’ उमेरले ५० कटेका गोपाल भुल भन्नुहुन्छ, ‘वर्षौैंदेखि हामी अर्काको देशमा सेवा गर्दै आइरहेका छौँ । हाम्रो सरकारले हाम्रो पीडा महसुस गरिदिएको भए, गाउँमा बसेर हामी हाम्रो गाउँ आफैं बनाउँथ्यौँ ।’ 

वर्षांैैदेखि भारतमा मजदुरी गर्दै आएका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिने वा स्वरोजगार बनाउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने कामको खोजीमा भारत जाँदै गरेका नेपाली कामदारहरुको माग छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि भारतको आप्रवशन व्यवस्थित पार्न ३० लाख रकम विनियोजन पनि गरेको छ । तर अहिलेसम्म न भारतको आप्रवाशन व्यवस्थितको प्रयास भएको छ, न सीमानाकामा भारत जानेहरुको तथ्यांक राख्ने काम नै । 

प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घ सोडारी भने अझै पनि शिक्षित र अशिक्षित सबैका लागि प्रदेश सरकारले रोजगारी सृजना गर्ने कार्यक्रम ल्याइरहेको आश्वासन दिनुहुन्छ । पैसा कमाउनकै लागि देश छोडेर परदेश जाने प्रदेशवासीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको  उहाँ दावी गर्नुहुन्छ । 

तर, वर्षौंदेखि नेताका झुटा आश्वासन मात्रै सुन्दै आएका युवाहरु भने अब आफूहरुलाई सरकार छ भन्ने महसुस समेत हुन छोडेको बताउँछन् । 

अन्तिम अपडेट: चैत ७, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया