कार्यालयमा तास खेल्दै गर्दा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

 कात्तिक १८, २०७५ आइतबार १३:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाको नोलाइटमा कार्यरत कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

आकस्मिक सेवामा कार्यरत कर्मचारी तास खेलिरहेको बेलामा शनिबार साँझ महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

कार्यकक्ष मै तास खेलिरहेको अवस्थामा नोलाइटमा कार्यरत इन्जिनियरद्धय आशिष नेपाल, अनिल अधिकारी, सुपरभाइजर देशबन्धु दाहाल र हेल्पर रमेश श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चारैजनालाई कार्यालय प्रमुख प्रज्वलमान श्रेष्ठको अनुरोधमा छोडिएको छ ।

प्रहरीका अनुसार कार्यालय प्रमुख श्रेष्ठले कतै विद्युतको लाइन बिग्रिए बनाउन जाने कर्मचारीसमेत उनीहरु नै भएकाले थुनामा राखेर मुद्धा चलाउँदा समस्या पर्छ भन्दै एक पटकलाई छाडिदिन अनुरोध गरेपछि छाडिएको प्रहरीले जानकारी दिएको छ ।

विद्युत प्राधिकरण भक्तपुर शाखामा यसअघि पनि धेरै गुनासोहरु आउने गरेको कर्मचारीको भनाई छ । विद्युतको मिटर लिन, मिटर जडान गर्नदेखि खम्बा सार्नसमेत कर्मचारीले पैसा माग्ने गरेको गुनासो बढेको छ ।

यसबारेमा कार्यालय प्रमुख श्रेष्ठले शनिबार आफू कार्यालय नगएकाले कर्मचारीले के गर्छन् भन्नेबारेमा जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले कर्मचारीलाई कडाइका साथ काम गर्न भनेको छु । गल्ती गर्ने कर्मचारीलाई कारबाही हुन्छ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया