अहिलेको सरकार पाँच वर्षसम्म ढल्दैन : नेता खनाल

 कात्तिक १८, २०७५ आइतबार १३:५२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

इलाम – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ने क पा का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार पाँच वर्ष नढल्ने दाबी गर्नु भएको छ ।

वरिष्ठ नेता खनालले उचित वातावरण बनेको भन्दै उद्योगधन्दाको विकासमा लागि पर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो । आइतबार इलाम नगरपालिकाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारमा रहेकाले विकास, निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गर्नुभयो ।

संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै वरिष्ठ नेता खनालले कानुनी राज्यको मान्यतालाई स्थापित गर्दै विकास, निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ने क पा संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङले संवैधानिक व्यवस्था अनुसार देशलाई समृद्ध बनाउने दिशामा काम गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण बनाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताउनुभयो । उपनेता नेम्वाङले इलामलाई समृद्ध बनाउन त्यहाँको प्राकृतिक स्रोत र साधनको उचित परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । 

अन्तिम अपडेट: मंसिर १०, २०७५

तपाईको प्रतिक्रिया