नरभक्षी चितुवा मार्न हतियारसहित ४५ जनाको सुरक्षा टोली खटियो

 कात्तिक १८, २०७५ आइतबार १८:३७:१८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – गएराति नरभक्षी चितुवाको आक्रमणबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९, ढिकुरामा चार वर्षीया बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न   प्रहरी परिचालन गरिएको छ ।

अर्घाखाँचीका विभिन्न  स्थानमा चितुवाको आक्रमण नरोकिएपछि चितुवा मार्न सशस्त्र प्रहरी र नेपाल प्रहरी साथै वनका सुरक्षकर्मीसहित ४५ जनाको टोली चितुवा मार्न खटाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको घरमा गई परिवारलाइ समवेदना पक्रट गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले स्थानीयको माग अनुसार चितुवा मार्न घटनास्थलबाटै सुरक्षाकर्मी  परिचालन गरेका हुन् । नरभक्षी चितुवा मार्न हतियारसहितको विशेष सुरक्षा टोली परिचालन गरिएको हो ।

चितुवाको आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक खिमबहादुर घम,  जिल्ला वन कार्यलयका प्रमुख अजय विक्रम मानन्धरसहितको टोली घटनास्थल पुगेर बालिकाका आफन्तसँग भेटघाट गरेका थिए । टोलीले समवेदना व्यक्त गर्दै आफूहरु चितुवा मार्न लागि पर्ने प्रतिबद्धता जाहेर पनि गरेका हुन् ।

अर्घाखाँचीमा चितुवा आक्रमण  र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।

चितुवा आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ४ वर्षदेखि बारम्बार  जीउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् ।

नरभक्षी चितुवाले पछिल्लो पाँच वर्षमा दुइ दर्जन बालबालिकामाथि आक्रमण गरेको छ । चितुवाको आक्रमणमा १८ जनाको ज्यान गएको छ भने ६ जना घाइतेको उपचार भएको छ । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीयबासिन्दा त्रसित भएका छन् । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया