श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ, चार छोराछोरीको बिचल्ली

 कात्तिक १८, २०७५ आइतबार १९:१६:५० | जनार्दन घिमिरे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गुल्मी –  श्रीमतीको हत्या गरी फरार भएका गुल्मी मालिका गाउँपालिका ६ बस्ने ३३ वर्षीया दुर्गाबहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।

पक्राउ परेका नेपाली बिहीबार राति आफ्नै श्रीमती ३६ वर्षीय सीता नेपालीलाई हत्या गरी फरार भएका थिए । नेपालीलाई इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षको कमाण्डमा खटिएकोे प्रहरी टोलीले शनिबार राति ११ बजे घर नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताउनु भएको छ ।

हत्याका अभियुक्त नेपालीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अभियुक्त नेपालीले आफ्नै घर नजिकै रहेको स्थानीय राजकुमार थापाको मान्छे नबस्ने खाली घरमा झ्यालबाट छिरेर आफ्ना चारजना बच्चाहरुसँगै सुतिरहेकी श्रीमती सीता नेपालीलाई आग्लोले हानेर बिभत्स तरिकाले हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।

नेपालीका डेढ वर्षदेखि १० वर्षभित्रका गरी तीन छोरा र एक छोरी छन् । आमाको हत्यापछि ती अबोध बालबालिकाहरु यतिबेला थप बिचल्लीमा परेका छन् । प्रहरीले नेपालीविरुद्ध जिल्ला अदालत गुल्मीमा आइतबार म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ ।   
 

अन्तिम अपडेट: चैत १३, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया