कर्णालीका मुख्यमन्त्रीको मासिक तलब ६० हजार, अरुकाे कति ?

 कात्तिक १८, २०७५ आइतबार १९:४७:५९ | मुना हमाल
unn.prixa.net

कर्णाली प्रदेशसभाकाे भवन

सुर्खेत – कर्णाली प्रदेशले मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा सदस्यहरुको पारिश्रमिक र सेवासुविधा तोकेको छ ।

आइतबार बसेको प्रदेशसभाको बैठकले कर्णाली प्रदेशसभाका सदस्यहरुको सेवासुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक  र मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

विधेयक पारित भएसँगै अब मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० रुपैयाँ र मन्त्रीहरुको ५२ हजार रुपैयाँ हुनेछ । विधेयकमा मुख्यमन्त्री र मन्त्रीहरुले आवश्यकता अनुसार एकजना विषयगत सल्लाहकार राख्न पाउनेछन् ।

यस्तै प्रदेशसभाका सभामुखको मासिक पारिश्रमिक ५३ हजार, उपसभामुखको ५० हजार तोकिएको छ । यस्तै प्रदेशसभा सदस्यहरुको ४४ हजार, दलका प्रमुख सचेकको ४८ हजार र विपक्षी दलका नेताको ५० हजार तोकिएको छ ।

प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभाको बैठक बसेको दिन प्रतिदिन पाँच सय यातायात खर्च उपलब्ध गराउने, सचिवालय व्यवस्थापन, फर्निचरका लागि पाँच वर्षका लागि एक पटक १५ हजार उपलब्ध गराउने, सवारी इन्धन, सञ्चार सुविधालगायतका सुविधाको पनि व्यवस्था गरिएको छ ।

प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेशसभा सदस्यहरुलाई सरकारी आवासको व्यवस्था गरिएको छ । वीरेन्द्रनगर घर भएका सदस्यहरुलाई घर मर्मत सम्भारका लागि ५० प्रतिशत आवास सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया