यी गायक जसले गीत गाउन भाँडा माझे, अहिले मजदुरी गर्छन् (भिडियो सहित)

 कात्तिक १९, २०७५ सोमबार ७:५२:३२ | मिलन तिमिल्सिना
unn.prixa.net

कला र गला थपियो, तर ‘भाग्य’को तला थपिएन । यूट्युमा उनले गाएका गीत ‘हिट’ छन् । मोडलिङमा पनि उत्तिकै ‘फिट’ छन् । तर सांगीतिक क्षेत्रमा ‘हिट’ र ‘फिट’ भए पनि पैसा र पहुँचमा उनी ‘अनफिट’ भए । त्यसैले सुदूर र मध्यपश्चिमका संगीत पारखीहरुबीच चर्चित गायक नवराज विष्ट घरखर्च चलाउन र संगीतको तिर्खा मेटाउन काठमाडौंमा मजदुरी गर्न बाध्य छन् । 

गीत संगीतविना बाँच्नै नसक्ने उनले पहिले बाँच्नकै लागि होटलमा भाँडा माझे । गीतको एल्बम निकाल्ने रकम जुटाउन भारतका गल्लीगल्ली धाए । पाएसम्मका सबै काम गरे । अहिले काठमाडौंमा ज्यामी काम गर्छन् । दिनभरी ढुंगा, माटो र बालुवा खेलाएर कमाएको पैसाले घर खर्च चलाउँछन् । आफ्नो र परिवारको बिहान बेलुकाको भोक मेटाएपछि बचेको पैसाले गीत संगीतको भोक मेटाउँछन् । 

अपत्यारिला गायक

नयाँ भवन बनिरहेको ठाउँ कीर्तिपुरमा एकदिन एक युवा काम खोज्दै पुगे । सुपरभाइजर कृष्ण भट्टराईले उनको परिचय र घर ठेगाना सोधे । ती युवाले आफ्नो नाम नवराज विष्ट र घर दार्चुला, अनि आफू गायक पनि भएको बताए । ढुंगामाटो र बालुवा बोक्ने काम खोज्दै आएका उनी गायक हुन् भनेर सुरुमा भट्टराईलाई पत्यार लागेन ।

ज्यामी चाहिएकाले नवराजले त्यहाँ काम पाए । बिहानै काम गर्न आउने उनी ढुंगा, माटो र बालुवा बोक्दै गीत गुनगुनाउँथे । गीत त प्रायः सबैजसोले गुनगुनाउँछन्, तर नवराजको स्वर फरक र विशेष थियो । कुनै गायकले संगीतविना गीत गाएजस्तै सुनिन्थ्यो उनको स्वरमा । 

उनको स्वर सुनेर सुपरभाइजर भट्टराईलाई एकछिन बसेरै गीत सुन्न मन लाग्यो । नवराजलाई काम रोकेर गीत गाउन आग्रह गरे । नवराजले मीठो स्वरमा देउडा गीत सुनाए । उनको गीत सुनेर सँगै काम गर्ने अरु मजदुरसँगै भट्टराई पनि दंग परे । आफूले डेढ दर्जनभन्दा धेरै गीत गाएको र यूट्युबमा समेत गीत हेर्न सकिने नवराजले बताए ।

भट्टराईले उतिखेरै यूट्यब हेरे । यूट्युबमा नवराज विष्टको स्वरमा चर्चित देउडा र लोकदोहोरी गीत रहेछन् । यूट्युबका गीत भएका चाहिँ अर्कै हुन् कि जस्तो पनि लाग्यो । तर बालुवा बोक्दै गीत गाउने नवराज र यूट्युबका गीत गाउने नवराजको स्वर ठ्याक्कै मिल्यो । अनि सुपरभाइजर भट्टराईलाई पत्यार लाग्यो, ज्यामी काम खोज्दै आएका यी युवा साँच्चिकै गायक रहेछन् ।

नवराज विष्ट, सुदूर र मध्यपश्चिमका गीतसंगीत पारखीका लागि चर्चित नाम हो । २५ वर्षीय यी किशोरले डेढ दर्जनभन्दा बढी देउडा तथा लोकदोहोरी गीत गाएका छन् । केही गीतमा आफैंले मोडलिङ गरेका छन् । यति धेरै गीत गाउने मान्छे कुनै सांगीतिक कार्यक्रममा व्यस्त हुनुपर्ने हो । तर पहुँच र पैसा नभएपछि यी गायक ज्यामी काम गर्न बाध्य छन् । 

संगीतको लत

नवराजलाई सानैदेखि गीतमा रुची थियो । घाँसदाउरा र गोठालो जाँदा गीत गुनगुनाउँथे । उनको गीत सुनेर साथीहरु दंग पर्थे । एक दिन स्कुलमा साँस्कृतिक कार्यक्रम भयो । साथीहरुले उनलाई गीत गाउन आग्रह गरे । सुरुमा उनलाई सबैको अघिल्तिर उभिएर गीत गाउन लाज लाग्यो । लजाई लजाई गीत सुने । उनको स्वर सुनेर सबै मन्त्रमुग्ध भए । सबैले उनको स्वरको प्रशंसा गरे ।

‘त्यसपछि मलाई आँट आयो, गीत गाएर प्रगति गर्छु भन्ने लाग्यो’ कीर्तिपुरको नयाँ भवन बनिरहेको ठाउँमा बालुवा बोक्दै गरेका विष्टले भने । उनलाई एल्बम निकाल्ने रहर लाग्यो । तर गीत रेकर्ड गर्न र एल्बम निकाल्न धेरै पैसा चाहिन्थ्यो । घरको आर्थिक अवस्थाले यो सम्भव थिएन । एसएलसी दिएपछि उनी पैसा कमाउन भारतको बेंगलोर गए ।

भाँडा माझ्नेदेखि पाएको सबै काम गरे । अलिकति पैसा जुटेपछि फर्किए । अनि त्यही पैसाले एल्बम निकाले । सुदूर र मध्यपश्चिमका चर्चित गायक भानुभक्त जोशीले उनलाई साथ दिए । जोशीकै शब्द र नवराजको स्वर रहेको देउडा भाकाको गीत मध्य र सुदूरपश्चिममा चर्चित भयो । गीतकारहरुले उनलाई खोज्न थाले । देउडासँगै लोकदोहोरीमा पनि नवराज जम्न थाले ।

गीतले आफ्नो क्षेत्रमा चर्चा कमाउन थालेपछि नवराज काठमाडौं आए । तर काठमाडौंको सांगीतिक भीडमा संघर्ष गर्न सजिलो थिएन । पहुँच र पैसा नभई केही हुन्न भन्ने थाहा पाएका उनले पहिले पैसा कमाउने उपाय  खोज्न थाले । कीर्तिपुर सल्यानस्थानमा भाडामा जग्गा लिए र तरकारी खेती थाले ।

उनी अहिले पनि तरकारी खेती गर्छन् । श्रीमती र भाइ पनि सँगै छन् । तरकारी खेती श्रीमतीको भरमा छोडेर उनी र भाइ ज्यामी काम गर्छन् । ‘कमाएको पैसाले पहिले त घरखर्च चलाउने हो, अनि बचेको पैसा गीतमा लगानी गर्छु’ नवराजले भने ।

गीत गाएर मात्र बाँच्न सजिलो छैन भन्ने उनलाई थाहा छ । तर संगीतको लतमा डुबेका उनी गीत नगाईकन बाँच्नै सक्दैनन् । अलिकति पैसा हुनासाथ रेकर्डिङ स्टुडियो पुगेर गीत गाईहाल्छन् ।

‘विदेशमा बस्ने साथीहरुले गीत रेकर्ड गरेर पठाइदे भनेर आग्रह गर्छन्, दुईचार पैसा पनि पठाइदिन्छन्, उनीहरुको लागि पनि गाउँछु’ विष्टले सुनाए ।

बाटोमा हिँड्दा पनि उनी गीत गाउँछन् । गीत गाउँदा संसार जितेजस्तो लाग्छ । गीत संगितलाई निरन्तरता दिन उनी जे काम पनि  गर्न तयार छन् । भन्छन्, ‘सबैका आआफ्नै महत्वपूर्ण आवश्यकता हुन्छन्, मेरो महत्वपूर्ण आवश्यकता चाहिँ संगीत हो । संगीतको लागि जे पनि गर्न तयार छु। पहिले भाँडा मांझेंं, अहिले ज्यामी काम गर्छु ।’

गीत गाएरै खान पुगे हुन्थ्यो

आफूजस्तै गीत गाउने धेरै कलाकारले सांगीतिक क्षेत्रमै लागेर गुजारा चलाएका छन् भन्ने नवराजलाई राम्रोसँग थाहा छ । गीतसंगीतको नशाबाट फुत्कनै नसेका उनलाई पनि गीत गाएरै खान पुगे हुन्थ्यो भन्ने लाग्छ । तर भनेजस्तो भएको छैन ।

‘कतै कार्यक्रममा गएर गीत गाउन पाए त कमाई हुन्थ्यो नि, तर हामीजस्तो पहुँच नभएकालाई कसले बोलाउँछ र’ नवराजले दुखेसो पोखे । उनको स्वरको तारिफ गर्ने त धेरै छन्, तर गीत गाएरै गुजारा चल्ने बाटो देखाइदिने चाहिँ कोही छैनन् ।

‘गीत गाएरै गुजारा चल्ने भए त यस्तो काम किन गर्थें र’ नवराजले टाउको कन्याउँदै भने, ‘खर्चले पुग्ने भए सांगीतिक क्षेत्रमा ठूलो फड्को मार्न सक्छु भन्ने आँट छ ।’ 

उनलाई काम दिने सुपरभाइजर कृष्ण भट्टराईलाई पनि एउटा कलाकारले ज्यामी काम गरेको देख्दा नरमाइलो लाग्छ । ‘हुन त काम ठूलो सानो भन्ने हुँदैन, ज्यामी काम पनि सबैले गर्दा हुन्छ, तर उहाँजस्तो कलाकारले सांगीतिक क्षेत्रमै लागेर गुजारा चलाउन सकेको भए हुन्थ्यो जस्तो लाग्छ’ भट्टराईले भन्नुभयो, ‘सुदूर र मध्यपश्चिमका चर्चित कलाकार यसरी ढुंगामाटो र बालुवा बोक्न बाध्य भएको देख्दा दुःख लाग्छ ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया