बुद्धि तामाङको ६५ वर्षीय वृद्ध अनुभव

 कात्तिक १९, २०७५ सोमबार १२:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बुद्धि तामाङ पछिल्लो समयका निकै चर्चित हास्य कलाकारहरु मध्येका एक हुन् । हास्य टेलिचलचित्र मेरी बास्सैबाट दर्शकमा चिनिएका उनी अहिले ठूलो पर्दामा व्यस्त छन् । एक पछि अर्को चलचित्रमा व्यस्त हुँदै गएका बुद्धि महंगो पारिश्रमिक लिने हास्य कलाकार मध्यका एक हुन् ।

उनले २०६२ सालमा डबली थिएटरबाट नाट्ययात्रा सुरु गरेका थिए । डबली थिएटर मै रहेर उनले आफ्नो अभिनय कौशलतालाई अघि बढाएका थिए । उनी त्यस समय सडक नाटकमा निकै व्यस्त मानिन्थे । डबली थिएटरमा रहेर करिब ४ वर्ष काम गरे पछि एक्टर्स स्टुडियोमा काम सुरु गरे र आफ्नो अभिनय यात्रा अघि बढए । बुद्धि तामाङ अनुप बरालका विध्यार्थी हुन् । उनले अनुप बरालसँग अभिनयको तीन महिने प्रशिक्षण लिएका थिए ।

तीन महिनाको तालिम लिए पश्चात उनको अभिनय यात्रामा पहिले भन्दा निखारता आउन थाल्यो । तालिम लिइ सके पश्चात उनले अभिनय गरेको पहिलो नाटक ‘मलामी’ हो । ‘मलामी’ प्रोसिनियम थिएटरमा काम गर्न थाले पश्चातको  पनि पहिलो नाटक थियो । ‘मलामी’ नामक नाटकमा उनले ६५ वर्षका वृद्धको भूमिका निर्वाह गरेका थिए । यो उनको पहिलो अनुभव थियो । सुरुमा त उनलाई नसक्ने पो हो कि भन्ने पनि लागेको थियो । त्यस नाटकका निम्ति उनले वृद्ध मानिसको हाउभाउ शैलीलाई अभिनयमा उतार्नु पर्ने थियो । 

उनीहरुको हिड्ने, खाने, बोल्ने, बस्नेलगायतका कुराहरुलाई नाटकमा उतार्नु निकै चुनौती थियो । सुरुमा त आँट गर्न सकेनन् तर पछि हट्ने पनि उनलाई मन थिएन । अन्ततः उनले त्यो नाटकमा काम गर्ने निर्णय गरे । त्यसका निम्ति उनी सडक बाटोमा हिँड्ने डुल्ने गरेका बृद्ध मानिसहरुको हाउभाउ नियाल्न थाले । दिनभरी सडकमा गएर वृद्ध मानिस खोज्थे र उनीहरुको व्यवहार नियाल्थे । विस्तारै उनले वृद्ध मानिसहरुसँग सम्बन्ध बढाउन थाले । पहिले भक्तपुर बसोबास गर्ने भएका कारण त्यस ठाउँका वृद्धहरुसँग नजिक हुन उनलाई केही सहज पनि भयो ।

उनी दैनिक रुपमा भक्तपुरको पाँच तले नजिकै जान्थे र दिनभरी त्यहीँका बृद्धबृद्धा हरु सँग बस्थे उनीहरुको जिवन शैलीलाई नियाल्थे र बेलुका घरमा आएर त्यही कुरालाई अभिनयमा उतार्ने प्रयास गर्थे  । उनका हजुरबुवाको स्वर्गवास भइसकेको थियो तर हजुरबुवाले उनीसँग गर्ने गरेको व्यवहार, उहाँको हाउभाउ उनको दिमागमा ताजै थियो । त्यससँगै दिन भरी भेट भएका ज्येष्ठ नागरिकलाई सम्झिन्थे । उनीहरुको बोल्ने, हिँड्ने, खाने सबै कुरालाई सम्झिन्थे र त्यही कुरालाई अभिनयमा उतार्ने प्रयास गर्थे । 

केही समय पछि उनले त्यो नाटकलाई प्रस्तुत गर्ने समय आयो । थोरै डर अनि धेरै साहस बोकेर स्टेजमा प्रस्तुत भए । पहिलो शो बाट नै उनले गरेको अभिनयको चौतर्फी तारिफ भयो । सो अभिनयका कारण सबैबाट प्रशंसा पाए । उनले आफ्नो अभिनय यात्राको टर्निङ पोइन्ट नै उनी यही नाटकलाई मान्ने गर्दछन् ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया