अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला भएको छैन : अर्थमन्त्री खतिवडा

 कात्तिक १९, २०७५ सोमबार १३:३६:२१ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणधीन रहेको बहुचर्चित अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले बताउनु भएको छ ।

सोमबार सदरमुकाम खाँदबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले निर्माणधीन अरुण तेस्रोको बारेमा तत्कालै रिभ्यू गर्ने बेला भइनसकेको बताउनु भएको हो । 

अरुण तेस्रोको निर्माण कार्य चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसको बारेमा पुनरावलोकन गर्ने भन्दा पनि कार्यप्रगतिको आधारमा सरकारले सहयोग गर्नु पर्ने उहाँको भनाई थियो । अहिलेको अवस्थामा अरुण तेस्रोप्रति सरकार सन्तुष्ट रहेको समेत मन्त्री खतिवडाले बताउनुभयो । 

राष्ट्रिय गौरवको जलबिद्युत्त आयोजनास्थलसम्म सडक पहुँच मार्ग राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरेको अर्थमन्त्री खतिवडाको भनाई थियो । उहँले भन्नुभयो, ‘स्थानीय नागरिकको समेत पहुँच बढाउदै लैजाने र जलविद्युत्तको आयोजनास्थलसम्म मध्य पहाडी लोकमार्गले छुवाएर लैजाने गरी नीति बनाएको स्मरण गर्दै त्यसबीचमा छिटो–छिटो सरकार परिवर्तन हुँदा कार्यान्वयन हुन नसकेको हो ।’

अरुण तेस्रो जलविद्युत्त आयोजनालाई लक्षित गरेर कोशी राजमार्गको विस्तार भए पनि आयोजनास्थलसम्म पुग्ने सडकको अवस्थामा राम्रो नहुँदा आयोजना प्रभावित हुन सक्ने प्रति स्थानीयहरुले चिन्ता व्यक्त गरेका थिए । मध्यपहाडी लोकमार्गको पहुँच जलविद्युत्त आयोजनास्थलसम्म सरकारले पुर्‍याउने दायित्व रहेको बताउनुहुँदै त्यस सडकले विद्युत्त आयोजनालाई मात्रै फाइदा पुग्ने भन्दा पनि स्थानीयबासीहरुले त्यो सडकको फाइदा लिन सक्नु पर्ने मन्त्री खतिवडाको भनाई थियो । त्यो सडक पहुँचमा रहेको स्थानीयहरुले कृषि उत्पादन बढाउने, वनजन्य र प्राकृतिकजन्य वस्तुको उत्पादन बढाउने र यसलाई जतिसक्दो साधान स्रोतको उपयोग गरि फाइदा लिन सक्नु पर्ने उहाँको जोड थियो ।    

अर्थमन्त्री खतिवडाले राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने र त्यहाँ लामो समयदेखि स्थापना हुन नसकेको भन्सार कार्यालय, राजश्व कार्यालय, सीमा प्रशासन र सुरक्षाका हिसाबले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कार्यालय स्थापना गर्ने सोचका साथ सरकार अगाडि बढेको समेत मन्त्री खतिवडाले बताउनुभयो । 

फरक प्रसंगमा अर्थमन्त्री खतिवडाले करको विषयमा तल्लो तहमा नकारात्मक सन्देश गएकाले त्यसको वास्तविकता बुझ्न आग्रह गर्नुभयो । अहिले बजारमा हल्ला भएजस्तो सरकारले साधारण खर्च बढी नभएको बरु राजश्व संकलन बढी भएको मन्त्री खतिवडाले बताउनुभयो । 

गएको भदौ ३१ गते देखि संखुवासभाको सदरमुकाम खाँदबारीमा स्थापना भएको आन्तरिक राजश्व कार्यालय धरान अन्तर्गत करदाता सेवा कार्यालयको उद्घाटन गर्न मन्त्री खतिवडा आइतबार खाँदबारी आइपुग्नु भएको हो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया