डोल्पा जीप दुर्घटना अपडेट  : मृतक सबैको परिचय खुल्यो

 कात्तिक १९, २०७५ सोमबार १८:४५:४ | मनिराज पाण्डे
unn.prixa.net

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै तस्बिर - सुशील बुढाकाे फेसबुकबाट

कालिकोट – डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुशी साट्न नपाउँदै डोल्पाली जनतामाझ दुखद घटना घटेको छ । 

सोमबार डोल्पामा भे १ च १६१० नंम्बरको जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । डोल्पाली जनतालाई सुविधा दिनको लागि हेलिकप्टरबाट ल्याएर सञ्चालनमा ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै जुफाल सञ्चालित थिए । १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जीप करिब २ बजेर ३० मिनेटमा ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कालागौँडा नजिकैको बतासे ओढारमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ७ जना पुरुष र ३ जना महिलासहित १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

मृतक सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –१, त्रिपुराकोट बस्ने ४५ वर्षीय हेमराज हमाल, त्यसै ठाउँकी १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, वडा नम्बर २ बस्ने १३ वर्षीया अस्मिता रोकाय, २४ वर्षीय कुमार रोकाय, वडा नम्बर ३ बस्ने ४५ वर्षीय बुध धराला, , वडा नम्बर ५ बस्ने १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका –५, बस्ने ३० वर्षीय भद्र रोकाय र ठूदीभेरी नगरपालिका –३ बस्ने अन्दाजी वर्ष १७ की मनिसा धराला रहेको जिल्ला प्रहरी कार्यालयले डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले जानकारी दिनुभयो ।

घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –२, बस्ने नन्द बहादुर थापा र त्यही नगरपालिका –३, बस्ने चालक दिनेश बोहोरा रहेका छन् । थापाको अवस्था सामान्य भए पनि बोहोराको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै शवहरु जिल्ला अस्पतालमा राखिएको र मंगलबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने बताइएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया