पत्रकार खशोग्गीको हत्याबारे बुझ्न साउदी टोली इस्तानवुलमा

 कात्तिक २०, २०७५ मंगलबार ७:४:५४ | रासस
unn.prixa.net

आफ्नो देशका पत्रकार जमाल खशोग्गीको हत्या बारे थप अनुसन्धान गर्न साउदी अरबले एउटा टोली टर्कीतर्फ पठाएको छ ।  खशोग्गीको हत्या भएको ठाउँ टर्कीको राजधानी इस्तानवुलतर्फ टोलीलाई पठाइएको अधिकारीहरुले जनाएका छन् । 

रसायनशास्त्री र विषविज्ञान विज्ञ पनि रहेको टोलीले हत्याका प्रमाणहरु खोजी गर्ने टर्कीको पत्रिकाले सोमबार लेखेको छ । पत्रकार खशोग्गीको हत्यामा साउदी अरबको राजदरबारकै संलग्नता रहेको आशंका र आरोप लागिरहेका बेला साउदी अरबले अनुसन्धान टोली पठाएको हो । 

टर्कीका अधिकारीहरुले पत्रकार खशोग्गीको हत्यासम्बन्धी डरलाग्दो विवरणहरु रहेको जनाएका छन् । 

इस्तानवुलमा रहेका महावाणिज्य दूतावासमा गएका बेला ५९ वर्षीय पत्रकार खशोग्गीको हत्या भएको सार्वजनिक भए पनि शव भने अहिलेसम्म भेटिएको छैन । 

टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजातहरू लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका बेला हत्या भएको थियो । 

टर्कीको सरकार पक्षीय सवाह दैनिकले गत अक्टोबर ११ तारिखका दिन नै साउदी अरबले ११ सदस्यीय टोली टर्की पठाएको समाचार लेखेको छ । स्वघोषित अनुसन्धान टोलीमा रसायन शास्त्री अहमद अब्दुल्लाजिज अल्जानोबी र विषज्ञान शास्त्री खालेद याह्या अल जाहरानी रहेको पत्रिकाले जनाएको छ । 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने साउदी अरबकै उच्च तहको संलग्नतामा खशोग्गीको हत्या भएको आरोप लगाएका छन् । त्यसैगरी टर्कीका अनुसन्धानकर्ताहरूले पनि निर्वासित जीवन बिताइरहेका पत्रकार खशोग्गीको घाँटी अठ्याएर हत्या भएको दावी गरेका छन् । 

दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गरेका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध बिग्रिएको थियो । 

राजपरिवारबाट टाढा भएपछि उनले अमेरिकामा निर्वासित जीवन बिताउँदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आएका थिए । आलोचक भएकैले उनकाे हत्या भएको आशंका छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया