घरमा पुगेर सिस्नेधाराको पानी पिएपछि डाक्टर उपेन्द्र हाँसे, अरु रोए

 जेठ २६, २०७५ शनिबार २१:२४:४६ | किरण लोहनी

गोरखा - पित्तथैलीको क्यान्सरको उपचारका लागि बेलायतमा हुँदा नै नेपाल फर्केपछि एकपटक जन्मथलो गोरखाको बोहोरागाउँ पुग्ने इच्छा थियो, डाक्टर उपेन्द्र देवकोटाको ।

तर गम्भीर स्वास्थ्य अवस्थाका कारण भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्थाका उहाँलाई इच्छा अनुसार जन्मथलो पु-याउनु कठिन काम थियो । उहाँको स्वास्थ्य अवस्थाका बारेमा सामाजिक सञ्जालहरुमा भ्रमपूर्ण खबर फैलिएको भोलिपल्टै आज उहाँलाई हेलिकप्टरबाट जन्मगाऊँ पुर्याइयो ।

डाक्टर देवकोटालाई बोहोरागाऊँ ल्याइँदैछ भन्ने कुरा सीमित आफन्तहरुलाई मात्रै थाहा भएपनि एकछिनमै हल्ला फैलियो । हेलिकप्टर अवतरण गर्ने ठाऊँमा डेढ घण्टाअघिदेखि आफन्त र शुभेच्छुकहरु जम्मा भएका थिए । 

शुरुमा आएको अल्टिच्युड एयरको हेलिकप्टरमा डाक्टर देवकोटाका तीनजना छोरीहरु मेधा, मञ्जरी र वसुधा तथा न्युरो अस्पतालका एक चिकित्सक थिए भने नेपाली सेनाको नाइन एन एआरआई कलसाइनको भिभिआईपी हेलिकप्टरमा देवकोटा, उहाँकी पत्नी डाक्टर मधु दिक्षित र केही चिकित्सक थिए ।

देवकोटालाई हेलिकप्टरको सिटभित्र पनि सुविधायुक्त स्ट्रेचरमा राखिएको थियो, मुखमा अक्सिजन लगाइएको थियो । 

हेलिप्याड छपक्कै छोप्नेगरि जम्मा भएका शुभचिन्तकको भीड प्रहरीको सहयोगमा पन्छाउँदै उहाँलाई स्ट्रेचरमा ६ जनाले बोकेर झण्डै २० मिनेट तल रहेको उहाँको घरसम्म पु-याइएको थियो । त्यसअघिनै घरमा छरछिमेक आफन्तजन र शुभचिन्तक जम्मा भैसकेका थिए ।

तिनैमध्येकी एक थिइन्, डाक्टर देवकोटाले बिरामी हुनुअघि गरेको अन्तिम शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेकी पालुङटार ५ कि १३ वर्षकी राधिका बस्नेत । देवकोटा थला परेको केहीदिनपछि न्युरो अस्पताल पुगेका बेला बोलचाल समेत गर्न पाएकी बस्नेतसँग मात्रै होइन, योपटक देवकोटा कसैसँग पनि बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो ।

पछिल्लो भेटको स्मरण गर्दै राधिकाले भन्नुभयो, ‘तिमीलाई कस्तो छ अहिले? राम्रोसँग पढ, म जस्तै डाक्टर बन्नुपर्छ है भन्नुभाथ्यो ।’ सयौं शुभेच्छुक एक झलकसम्म भएपनि देवकोटाको अनुहार हेर्न चाहन्थे । जसले हेरे, उनीहरु रुँदै फर्किए । बेलाबेला आफै रुँदै आँशु पुछ्दै गरिरहेकी पत्नी मधुले पो शुभेच्छुकहरुलाई सम्झाईबुझाई गर्नुपरेको थियो । 

देवकोटाको मुख्य धोको भने परम्परागत सिस्नेधाराको पानी खाने थियो । उहाँका दुई छोरीहरु मञ्जरी र वसुधाले ५-७ मिनेट परेको सिस्नेधाराबाट बोतलमा पानी ल्याए, पत्नी मधुले गिलासमा राखेर खुवाइदिनुभयो ।

पानी पिइसकेपछि देवकोटाको मुहारमा छुट्टै चमक देखिएको काठमाण्डौंबाट आएका चिकित्सक डाक्टर सञ्जय कार्कीले बताउनुभयो । ‘सरको इच्छा पूरा भएको छ, हामीले उहाँको मुहारमा चमक देखिएको छ, म घर आइपुगेको छु, आँगनमा थुप्रै मान्छे जम्मा भएका छन् भन्ने उहाँलाई थाहा छ’, कार्कीले पछिल्लो स्वास्थ्य अवस्थाबारे भन्नुभयो,‘सबैलाई थाहा छ, उहाँको अवस्था चाहिँ गम्भिर नै छ ।’

३० सालमा आगलागीका कारण पुरानो घर जलेपछि बनाइएको नयाँघर पनि भुकम्पले क्षति ग-यो, पुरानो घरको स्वरुप नबिग्रनेगरि देवकोटाले गतवर्ष घर पुननिर्माण गर्नुभयो । त्यही घरको पिँढीमा राखिएको खाटमा झण्डै एकघण्टा आराम गरिरहँदा देवकोटाका आफन्त र साथीभाई भने उहाँसँगका पुराना क्षणको सम्झना गरिरहेका थिए ।

देवकोटाका भाई (सानिमाका छोरा) प्रदिपचन्द्र देवकोटाले १५ दिनअघि मात्रै न्युरो अस्पतालमै गाऊँको धाराको पानी लगिदिएको स्मरण गर्नुभयो । ‘पानी पिउनु त भएन, तर शीरमा सेचन गर्नुभएको थियो ।’

कोही देवकोटाको सामाजिक सेवाको चर्चा गर्दै थिए भने कोही स्कुले जीवनमा उहाँका स्वाभावको । कतिपयले उहाँलाई घमण्डी भन्ने गरेकोमा असहमत हुँदै स्थानीय बासिन्दा आशिष देवकोटाले भन्नुभयो, ‘उहाँ ख्याल ठट्टा गर्न कति रमाइलो हुनुहुन्थ्यो भन्ने त संगत गरेकाहरुलाई मात्रै थाहा छ, उहाँ घमण्डी होइन स्वाभिमानी हो ।’

एकघण्टा आरामपछि देवकोटालाई जसरी घरसम्म ल्याइएको थियो, उसैगरि हेलिकप्टरसम्म लगियो । फर्कनेक्रममा घर नजिकैको जयन्तीदेवी मन्दिरको टिका लगाइयो । आफन्त र सयौं शुभेच्छुकको उपस्थितिका विच पतिको पुख्र्यौली थलो पुग्ने इच्छा पूरा गर्न पाएकोमा पत्नी डाक्टर मधु दिक्षितले पनि सन्तोष ब्यक्त गर्नुभयो ।

‘बेलायतमा हुँदा पनि गोरखा जाने भन्नुहुन्थ्यो, जटिल अवस्थाका कारण ल्याउन सकेका थिएनौं, आज ल्याइयो, उहाँको इच्छा पूरा भएको छ’ मधुले भन्नुभयो । 

अन्तिम अपडेट: मंसिर २१, २०७५

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । उहाँलाई  फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया