वनमालाहरुको गुनासो : हाम्रो पेशा अरुले नै खाइदिए

 कात्तिक २०, २०७५ मंगलबार १४:३९:४६ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – तिहार आएसँगै बजारमा फूल र माला बेच्नेहरुको संख्या पनि एकदमै बढेको छ ।

लक्ष्मी देवीलाई चढाउनको लागि कमलका फूल र तिहारको लागि मखमली तथा सयपत्री फूलका मालहरु बिक्री भइरहेका छन् । कोही हातमा माला बोकेर बेचिरहेका छन् भने कसैले ठेलामा माला बेचिरहेका छन् ।

सयपत्रीका माला पनि बिक्रीको लागि ल्याइएका छन् । तर भाइटिकाको दिनसम्म मुर्झाउने भएकाले सयपत्रीका माला त्यति धेरै नराखेको बताउनुहुन्छ, पेप्सीकोलाकी इश्वरी भण्डारी ।

उहाँ गएको १२ वर्षदेखि तिहारको बेला माला बेच्दै आउनुभएको छ । अरुबेला घरधन्दामा व्यस्त हुने उहाँ तिहारको बेला भने केही आफ्नो बारीको र केही आसपासबाट किनेर उहाँ तिहारको तीनचार दिन माला बेच्न असन बजारतिर आउनुहुन्छ । यो छोटो समयमा पनि दशदेखि बाह्र हजारसम्मको माला बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

यस्तै अरुबेला विभिन्न कामधन्दामा व्यस्त हुनेहरु पनि तिहारको बेला भने माला बेच्ने काम गर्ने गरेका छन् । नुवाकोटका सुविन सिटौला अरुबेला सहकारीमा काम गर्छन् तर तिहारको बेला भने तीन दिन छुट्टी लिएर भए पनि घरबाट माला बनाउन लगाएर आफू दिनभरी माछापोखरीमा गएर बेच्छन् ।

अघिल्लो वर्ष उहाँले माला बेचेरै २६ हजार रुपैयाँ कमाउनुभएको थियो । यो वर्ष घरमा धेरै फूल नलगाएकोले १५ हजार जतिको मात्र बेच्न सकिने उहाँ बताउनुहुन्छ । यस्तै काठमाडौं उपत्यकाको आसपास मात्र होइन । तराईका जिल्लाहरुबाट काठमाडौं आएर पनि माला बेच्नेहरु छन् । अरुबेला मेखेन्दीको काम गर्ने बाराका अरुण कुमारलाई अहिले फूलका माला बेच्न भ्याइनभ्याई छ ।

उहाँले गाउँमा गएर होलसेलमा फूलहरु किनेर ल्याउनुहुन्छ र आफैले उनेर बजारमा बेच्नुहुन्छ । ‘एउटा माला बनाउन पन्ध्र रुपैयाँ लाग्छ, बिक्री ३० रुपैयाँमा हुन्छ’, उहाँले हातमा राखेको माला देखाउँदै भन्नुभयो, ‘हिजोदेखि बेच्न थालेको हो, एकहजार माला बेचिसकियो ।’

कति महंगो कमलको फूल

तिहारको अवसारमा कमलको फूल बेच्नेहरु पनि धेरै भेटिए । प्रत्येक वर्ष तिहारमा भारतको झारखण्डदेखि कलकत्ताबाट कमलको फूल ल्याएर नेपाली बजारमा बेच्ने गरिन्छ ।

यसवर्ष पनि बजारमा कमलको फूल बेच्नेहरु धेरै छन् । रौतहटका विकास महतोले यो तिहारमा दशहजारजति कमलका फूल बेच्ने सोचेका छन् । उनका बुवाले भारतको झारखण्डबाट फूल ल्याइदिनुहुन्छ, उनी बजारमा बेच्ने गर्छन् ।

एउटा फूलको तीसदेखि पचास रुपैयाँसम्म पर्छ । सानो कमलको फूल पचास रुपैयाँमा दुईवटा पाइए पनि उनीसँग ठूलो कमलको फूल भएकाले उनले पचास रुपैयाँमा एउटा फूल बेच्छन् ।

‘मान्छेहरु कति महँगो हो भाइ भन्छन् तर पनि अरुको भन्दा मसँग भएका कमलका फूलहरु राम्रा देखेर किनिहाल्छन्’, उनले हाँस्दै भने । उनीजस्तै भारतका विभिन्न ठाउँबाट कमलका फूलहरु ल्याएर यता बेच्नेहरु धेरै नै छन् । लक्ष्मीपूजाको दिन कमल चढाउँदा लक्ष्मी खुशी हुन्छिन भन्ने धार्मिक जनविश्वास रहिआएको छ ।

वनमालाको पेशा अरुले खाएपछि

वनमालाको पुख्र्यौली पेशा नै फूलका माला बनाएर बेच्ने हो । नेवार समुदायको यो जातले विशेषतः माला बनाउने भएकाले नै आफूहरुको थर वनमाला राखिएको बताउनुहुन्छ टाथलीका भगवान वनमाला ।

उहाँले भन्नुभयो, ‘वनमालाले बनाएको माला खुट्टामा कुल्चेको भए पनि शुद्ध नै हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।’ आफ्नो बावुबाजेदेखि चलिआएको चलन आफूले टार्न नसकेको वनमालाहरु बताउनुहुन्छ । तत्कालीन समयमा राजाहरुले चाडबाड तथा दसैंतिहारको लागि माला बनाउने जिम्मा दिएकोले वनमालाको यो पुख्र्यौली पेशा बनेको हो । 

आफ्ना बावुबाजेको पालादेखि नै गर्दै आएको माला बनाएर बेच्ने काम अहिले चटक्कै छाड्न नसकिने बताउनुहुन्छ, टाथलीका बावुराजा वनमाला । ‘छोरा कोरियामा छ, मलाई माला बनाएर बेच्नुपर्ने केही पनि छैन । तर पुर्खादेखि चल्दै आएको चलन छाड्न मनले मान्दैन’, उहाँले भन्नुभयो । 

अहिले बाहिरबाट आयात गरिएका फूलहरु तथा जोकोहीले पनि माला बनाएर बेच्न थालेपछि आफ्नो पेशा धरापमा पर्दै आएको वनमालाहरु गुनासको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया