१५ वर्षपछि नेपालगञ्जको रानी तलाउमा डुङ्गा सरर‍‍

 कात्तिक २०, २०७५ मंगलबार १७:३९:५४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जको रानी तलाउमा १५ वर्षपछि डुङ्गा चल्न थालेका छन् । 

मंगलबार दिउँसो प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुनर्निर्मित रानी तलाउको उद्घाटन गर्नुभएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाका अनुसार  २२ लाख ७८ हजार लागतमा रानी तलाउ पुनःनिर्माण गरिएको हो । डा. राणा पहिलो पटक मेयर हुँदा २०५५ सालमा रानी तलाउको निर्माण गरिएको हो । संयोगले अहिले राणा नै  मेयर हुँदा पुनः उद्घाटन भएको छ ।  रानी तलाउ सबैका लागि उपयुक्त गन्तव्य बन्ने प्रमुख राणाले बताउनुभयो ।

पहिले २०५४ सालमा रानी तलाउ बोटिङ विहारको निर्माण भएको थियो । पछि स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि नभएपछि रानीतलाउ जीर्ण भएको हो ।  

वर्षौैँदेखि जीर्ण अवस्थामा रहेको नेपालगञ्ज उपमहानगरपालिका –८, मा अवस्थित रानी तलाउ पुनर्निर्माणपछि त्यहाँ पुनः जलविहार सुरु हुन लागेको हो । जलविहार गर्न चाहनेका लागि मंगलबारदेखि नै खुला गरिएको छ । जल विहारका लागि प्लाष्टिकका चार वटा बोट (डुंगा) तयारी अवस्थामा छन् । पछिल्लो पटक तलाउलाई चारैतिरबाट पर्खालले घेरिएको छ । पर्खाल र जीर्ण बनेका अन्य भौतिक संरचनामा आकर्षक रङरोगन गरिएको छ । डीप बोरिङमार्फत तलाउमा पानी भरिएको छ भने वरिपरि पलाएका झारपात सफा गरेर चिटिक्क पारिएको छ ।  

बालबालिकाका लागि उद्यान, बटुवा बस्नका लागि कुर्सी, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ । दक्षिणतर्फ तीनवटा कटेज निर्माण गरिनुका साथै पूर्व र पश्चिमतर्फ रमणीय पार्क पनि स्थापना गरिएको छ । उपमहानगरपालिकाका अनुसार नगरभित्रको वाटरपार्क र कान्ति ताल पनि निर्माणको क्रममा रहेको छ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया