फूलले मूल्य नपाउँदा किसान चिन्तित

 कात्तिक २१, २०७५ बुधबार १२:१७:१९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा फूलले मूल्य नपाउँदा किसान समस्यामा परेका छन् ।

चाडपर्व लक्षित गरी रोपेका फूल बिक्रीका लागि व्यवसायीले बजारमै ल्याउँदा समेत बिक्रीमा समस्या भएको फूल व्यवसायीहरुको दुखेसो छ ।

बारीका फूल बजारमा नै ल्याएर १० रुपैयाँ मुठो बिक्री गर्दा समेत बिक्री हुन नसकेको इलाम नगरपालिका वडा नम्बर १० का ६२ वर्षका फूल व्यवसायी धनमाया अछामेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यही दरका फूलका मुठा गएको वर्ष ८० रुपैयाँका दरले बिक्री गरेको थिए । भाइटिकाका दिन त मुठोको १०० रुपैयाँका दरले भाउ लागेको थियो । तर यस वर्ष भने फूल बोकेर बजार आउँदा लागेको गाडीभाडा उठाउन पनि मुस्किल परेको छ ।’

उहाँका अनुसार एक मुठोमा एउटा फूलको माला बन्ने फूलका थुङ्गा हुन्छन् । अछामेलाई जस्तै चिन्ता छ, यसवर्ष फूलखेतीमा लाग्नु भएका इलाम नगरपालिका वडा नम्बर ४ बरबोटेका किसान गणेश निरौलालाई पनि ।

बजारमा फूलले मूल्य नपाउँदा बारीमा फूलेका फूललाई कसरी बिक्री गर्ने भन्ने चिन्ता बढेर गएको किसान निरौला बताउनुहुन्छ । गएको वर्ष फूलको अभावको समस्या भएकै कारण यसवर्ष उहाँले बारीभरी फूल रोप्नु भएको थिायो । तर बजार व्यवस्थित नहुँदा फूल बिक्रीमा समस्या आएको छ ।

‘गएका वर्षभन्दा यस वर्ष माग कम फूल उत्पादनमा वृद्धि भएकाले बजारमा फूलको मूल्यमा गिरावट आएकै हो’, फूलसम्बन्धी जानकार प्राज्ञ डा. योगेन्द्रमान श्रेष्ठले बताउनुभयो ।

इलाममा २०६१ सालमा फूल खेतीमा रोगको संक्रमण भएकाले भारतबाट आयत गर्नु परेको थियो । तर अहिले इलाम फूल खेतीमा आत्मनिर्भर भइसकेको छ ।

गएको साल किसानले उत्पादन गरेको फूलले बजारको ८० प्रतिशत माग पूरा गरेको हरितनगर महिला समूहका अध्यक्ष रीना घिमिरेले जानकारी दिनुभयो । गएको वर्ष इलाम सदरमुकाममा फूलको मात्रै दुई लाख रुपैयाँको कारोबार भएको थियो ।

घरेलु तथा साना उद्योग विकास समिति इलामको तथ्याङ्क अनुसार जिल्लामा अहिलेसम्म २० वटा फूल नर्सरी उद्योग दर्ता भएका छन् । जसमा फूल खेतीका लागि मात्रै १० उद्योग दर्तामा छन् ।

यी मध्ये सबैभन्दा धेरै सूर्योदय नगरपालिकामा छन् भने सबै भन्दा कम माङ्गसेबुङ्ग गाउँपालिकामा रहेको समितिका नायब सुब्बा खड्ग बस्नेतले जानकारी दिनुभयो  ।

अन्तिम अपडेट: चैत ३, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया