रोनाल्डोको गोलले पनि सम्हालिएन युभेन्टस, म्यान्चेष्टर युनाइटेडसँग २ गोलले पराजित

 कात्तिक २२, २०७५ बिहिबार ७:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा युभेन्टसलाई पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

गएराति भएको खेलमा घरेलु मैदान एलियान्ज एरिनामा सुरुआती अग्रता लिएर पनि युभेन्टसले खेल आफ्नो पक्षमा पार्न सकेन । पहिलो हाफ गोलरहित बराबरी खेले पनि ६५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लबविरुद्ध उत्कृष्ट गोल गरेका थिए । तर खेलको अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा युभेन्टसले समूहको दुई खेल अगावै नकआउट चरणमा पुग्ने अवसर गुमायो ।

युनाइटेडका लागि जुहान माटाले ८६ औं मिनेटमा शानदार फ्रि किकमा बराबरी गोल गरेका थिए । त्यसको तीन मिनेटपछि युभेन्टसले आत्मघाती गोल गर्न पुग्यो ।
पाउल पोग्वाले प्रहार गरेको फ्रि किक युभेन्टसका एलेक्स सान्द्रोलाई छोएर गोल हुन पुगेको थियो ।

जितपछि समूह एचमा रहेको युनाइटेडको ७ अंक भएको छ भने शीर्ष स्थानमा रहेको युभेन्टसको ९ अंक छ । गएराति नै स्वीट्जरल्याण्डको योङ ब्वाइजलाई ३–१ गोलले हराएको भ्यालेन्सियाको ५ अंक छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया