जन्मघर पुगेर फर्केपछि उपेन्द्र देवकोटाको आत्मबल बढ्यो

 जेठ २७, २०७५ आइतबार ९:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको शरीर रोगले गाल्दै लगेपनि आत्मबल भने बढेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।  उहाँको उपचारमा संलग्न मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार शनिबार जन्मघर पुगेर फर्केपछि देवकोटाको आत्मबल बढेको हो ।

जन्मस्थानमा पुगेर फर्केपछि डा. देवकोटामा आत्मबल बढेको महसुस आफूले गरेको डा. कार्कीले बताउनुभयो । स्थिति गम्भीर भए पनि आत्मबल भने उच्च रहेको उहाँको भनाई छ । 

बाँसबारीमा रहेको न्युरो अस्पतालको आइसियु कक्षमा डा. देवकोटाको उपचार भैरहेको छ । पित्तनलीको क्यान्सरका कारण सिकिस्त बिरामी हुनुभएको डा. देवकोटाको स्वास्थ्य केही दिनदेखि गम्भीर हुन थालेको हो ।

उहाँलाई शनिबार उहाँको जन्मस्थल गोरखा आँपपिपलको बाहुनडाँडा लगेर फेरि काठमाडौंमै ल्याइएको छ । डा. देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पुर्‍याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि फेरि काठमाडौँ ल्याई न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ । 

डा. देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उहाँसँगै गोरखा जानुभएका मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार घर नजिकै हेलिकोप्टर अवतरण गरी विशेष खालको म्याट्रेसमा राखेर ३५ मिनेट बोकेर बाहुनडाँडास्थित घर पु¥याइएको थियो । 

उहाँले भन्नुभयो, “डा. देवकोटालाई घरतर्फ लैजाँदै गर्दा आफूले पढेको लुर्इँटेल स्कुल पनि हातको इशाराले देखाउनुभएको थियो, त्यहाँ पुगेपछि उहाँमा छुट्टै खालको खुशी, उत्साह देखिन्थ्यो, चार/पाँचसयको संख्यामा मानिस उहाँलाई हेर्न जम्मा भएका थिए ।” 

डा. देवकोटाले आफूलाई भेट्न आएका बृद्धबृद्धालाई हात दिएर तथा बच्चाको टाउकामा हात राखेर खुसी व्यक्त गर्नुभएको थियो । जन्मस्थान पुगेपछि डा. देवकोटाले आफ्नो वरिपरि रहेकालाई हेरेर ‘आइ फिल भेरी ह्याप्पी’ र ‘आइ फिल एमेज्ड’ अर्थात म अत्यन्त खुशी छु भन्दै खुसी व्यक्त गर्नुभएको डा. कार्कीले बताउनुभयो ।

याे पनि पढ्नुहाेस् । 

डाक्टर उपेन्द्र देवकोटा : जन्मघरमा पानी खाएपछि उज्यालो भयो अनुहार, तर बोली आएन

घरमा पुगेर सिस्नेधाराको पानी पिएपछि डाक्टर उपेन्द्र हाँसे, अरु रोए
 

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया