गाउँपालिकालले गाउँमै रोजगार दिएपछि पलाँतावासी विदेश गएनन्

 कात्तिक २२, २०७५ बिहिबार ९:१८:५ | मनिराज पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कालिकोट – गाउँमै रोजगारी पाएपछि पलाँताका स्थानीय यसवर्ष विदेश गएनन् ।

रोग भोक र अशिक्षाको बिम्ब बन्दै आएको पलाँता फेरिँदै गएको छ । बर्सेनि एक घर एक विदेश जाने यहाँका स्थानीय यस वर्ष गाउँमै रोजगार गरेर बसेका छन् ।

पलाँतामा सञ्चालन आएक विभिन्न विकास निर्माण आयोजनामा यहाँका स्थानीयले सहजै काम पाएपछि पेट पाल्नकै लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको हो ।

घर खर्च र बालबालिकाको पढाइ लेखाइ खर्च धान्न प्रत्येक वर्ष दसैँपछि भारतको गडवाल पुग्ने पलाँता ९ का कृणबहादुर बम गाउँमै रोजगारी पाएपछि यस वर्ष विदेश गएनन् । उनी भन्छन, ‘जहाँ गएर पनि काम गर्ने हो, यहीँ काम पाए विदेश किन जानु ?’

उनी वडा नम्बर ९ खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाका अध्यक्ष छन् । पलाँता गाउँपालिकाले शिक्षा, सम्वृद्धि र आर्यआर्जनका लागि सञ्चालन गरेको गरिबी उन्मुलनः पलाँताका महिलाहरुका लागि अवसर र अधिकार परियोजनामा पलाँताकै २३ जनाले रोजगारी पाएका छन् ।

त्यस्तै समृद्ध पलाँता बनाउने उद्देश्यले तयार गरिएको पलाँता विकास निर्माण कार्यदलमा १ सय ५० जनाले रोजगारी पाएका छन् । स्थानीय उपभोक्ता समिति मार्फत कामको आधारमा भुक्तानी पाउने गरी पलाँता विकास निर्माण कार्यदलले काम गरिरहेको छ । कार्यदलले अहिले खानेपानी, विद्युत, सडक र सिँचाइमा कार्य अघि बढाई रहेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।

स्थानीय सरकारले वडा समिति, गाउँपालिका र स्वास्थ्यमा ७४ जना स्थानीय योग्यता पुगेका उम्मेदवारहरुलाइ रोजगारी दिएको छ ।  गाउँपालिकाले करार कर्मचारी छनोट कार्यविधि तयार गरी कर्मचारी छनोट गर्ने गरेको पलाँताका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्माले बताउनुभयो । 

प्रत्येक वडामा साना–ठूला गरी तीन–चार वडा योजनाहरु छन् । ती योजनाहरुका स्थानीयले नै काम गर्ने मौका पाएका छन् । कार्यदल निर्माणमा आफ्ना मान्छेहरु राखेको भन्ने आरोप खेपिरहेका गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छा भने योग्यता र क्षमता हुनेहरुका लागि कोही कसैले रोकावट गर्न नसक्ने बताउनुहुन्छ ।

कार्यदल निर्माणपछि पलाँतामा देखिने गरी विकास भएको जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाहीले बताउनुभयो । बेरोगारीको अन्त्य र समृद्ध गाउँपालिका निर्माणका लागि २७ सय घरधुरीमा शुद्ध खानेपानी धारा, ३ वर्षमा वडा–वडामा सडक, निःशुल्क र अनिर्वाय शिक्षा, सबै गाउँ झिलिमिली विद्युत, एक वडा एक स्वास्थ्य संस्था लगायका महत्वपूर्ण विकास कार्य गाउँपालिकाले अघि सारेको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया