नेपालको यस्तो गाउँ, जहाँ काँक्रो मात्रै फलाउँछन् किसान

 कात्तिक २३, २०७५ शुक्रबार ८:८:४७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – बेसीशहर नगरपालिका–५, चालिसघडेरी गाउँका किसानहरुले बारीमा काँक्रो फलाएका छन् ।

उत्पादित काँक्रो बेचेरै उनीहरुले आम्दानी गर्दै आएका छन् । गाउँमा जम्मा १३ घरधुरी रहेको छ । गाउँका सबैले काँक्रो फलाउँछन् । उत्पादित काँक्रो गाउँमै बिक्री हुने गरेको कृषकहरु बताउँछन् । ‘गाउँमा मानिसहरुको आवतजावत भइरहने भएकाले पनि उत्पादित काँक्रो गाउँमै बिक्री हुने गरेको छ,’ स्थानीय किसान सिंहरास तामाङले भन्नुभयो ।

उहाँका अनुसार गाउँमा पलिहेदेखी नै परम्परागत रुपमा काँक्रोको खेती हुँदै आएको छ । विगतमा काँक्रो छिमेकी गाउँमा लगेर अन्नपातसँग साट्ने चलन थियो । पछिल्लो समय उनीहरुले नगदमै काँक्रो बेच्ने गरेका छन् । उनीहरुले प्रतिकिलो ५० रुपैयाँ दरले काँक्रो बेच्दै आएका छन् ।

सस्तोमा ‘अर्गानिक’ काँक्रो पाउँदा खुशीसाथ ग्राहकहरुले पनि काँक्रो खरीद गर्छन् । ‘सिजनको बेला काँक्रो बिक्रीबाट दैनिक झण्डै हजार रुपैयाँ जति आम्दानी हुन्छ,’ स्थानीय किसान आशमाया तामाङले भन्नुभयो । तिहारसम्म आफूहरुले उत्पादन गरेको काँक्रोले राम्रो बजार र मूल्य पाउनेमा कृषकहरु ढुक्क छन् ।

चार लाखको काँक्रो फलेको अनुमान

यसवर्ष गाउँमा झण्डै ४ लाख रुपैयाँ बराबरको काँक्रो फलेको स्थानीयले अनुमान गरेका छन् । उत्पादित काँक्रो स्थानीयले बेच्नुका साथै गाउँघरमै उपभोग गर्छन् ।
आफन्त, इष्टमित्रलाई काँक्रो ‘कोसेली’ रुपमा समेत पठाउने गर्दछन् । पूर्णरुपमा व्यावसायिक उत्पादन, व्यवस्थापन र बजारीकरण गर्न सके काँक्रोबाट राम्रो आम्दानी गर्न सकिने स्थानीय कृषक सन्तबहादुर तामाङले बताउनुभयो ।

चालिसघडेरी गाउँ नाल्मा, पुरानोकोटदेखि उत्तरी भेगको बाग्लुङपानी, घलेगाउँ, भुजुङसम्मको विभिन्न गाउँ जाने पुरानो नाका बाख्रेजगत नजिकैको पुरानो तामाङवस्ती हो । गाउँको आसपासमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको गाउँ–शहर, काउलेपानी, पुरानोकोट गढी, ऐतिहासिक तथा धार्मिक महत्वको तुर्लुङकोट गढी, पुरानोकोट ‘रक क्लाईम्बिङ’ लगायतका स्थान भएकाले पनि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दो छ ।

उत्पादित काँक्रोका मुख्य ‘क्रेता’ तीनै पर्यटक नै हुन् । गाउँमा उत्पादित तरकारी तथा फलफूल गाउँसम्म पुग्नेहरुको रोजाईमा पर्ने गरेको चालिसघडेरी पुग्नुभएका बेसीशहरमा व्यवसाय गर्दै आउनुभएका प्रमोद अधिकारीले बताउनुभयो ।

व्यावसायिक रुपमा खेती गर्ने तौरतरिकाका साथै उचित बजारीकरणको व्यवस्था हुन सके स्थानीयले कृषिजन्य उपजबाटै मनग्य आम्दानी गर्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।    
 

अन्तिम अपडेट: चैत ९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया