पर्यटकको आकर्षण बन्दै महसिकार : ‘महसुर’ले मात्रै गर्न सक्छन् सिकार !

 कात्तिक २४, २०७५ शनिबार १७:२१:४५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– आङै सिरिङ्ग हुने उच्च भिरपहरा । त्यही भिरपहरामा  महसिकारीले निडरताका साथ मह काढेको दृश्य । जोकोहीलाई अवस्मिरणीय लाग्न सक्छ । रोचक लाग्न सक्छ ।

विश्वमै विरलै हुने गर्दछ, कहालीलाग्दो भिरपहरामा हुने ‘हनी हन्टिङ’ अर्थात् महसिकार । ‘आँटिला’ सिकारीले मात्रै महसिकार गर्ने हिम्मत गर्छन् । 

लमजुङका गुरुङ समुदायको परम्परागत पेशा पनि हो, महसिकार । जंगलका आसपालमा बस्दै आएका गुरुङ समुदायका मानिसहरुको आम्दानीको श्रोत बन्ने गरेको महसिकार पछिल्ला वर्षमा पर्यटक तान्ने एक आकर्षण समेत बनेको छ ।

महसिकार आन्तरिक तथा बाह्य दुवै पर्यटक लोभ्याउने राम्रो माध्यम बनेको पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउनुहुन्छ ।  ‘भिरपहरामा पाइने मौरीको संरक्षण गर्नु आवश्यक छ । उचित तवरबाट महसिकार गर्न सकिए स्थानीयको आम्दानीमा वृद्धि हुनसक्छ । महसिकारकै माध्यमबाटै स्वदेशी तथा विदेशी पर्यटक तान्न सकिन्छ । त्यसैले महशिकारलाई पर्यटन प्रवद्र्धनको रुपमा विकास गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो ।   

महसिकार गर्न गाह्रो

महसिकारको सिजन सुरु भएसँगै जिल्लाका भिरपहराहरुमा महसिकार भएका छन् । जानकारहरुका अनुसार प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा भिरमाहुरीको मह काढिन्छ । 

लमजुङका विभिन्न ठाउँमा रहेका ‘छङ्गाछुर’ अग्ला ठाडा भिरपहरामा हुने महशिकार हेर्दा जति डर लाग्छ । सिकार गर्न झनै गाह्रो छ । र पनि ‘निडर’ हनी हन्टरहरु आफ्नो ‘ज्यानको बाजी’ लगाउँदै पहरामा महसिकार गर्दै आइरहेका छन् । परापूर्वकालदेखि नै भिरपहरामा पाइने भिरमौरीको सिकार गर्न गाउँलेको हानाथाप चल्ने गर्दथ्यो । तर अहिले त्यस्ता ‘महसुर’ शिकारी भेट्टाउनै मुश्किल पर्ने पुरानापुस्ताका महसिकारीहरु गुनासो गर्छन् ।   

‘सीप हस्तान्तरणको अभावमा महसिकार पेशा संकटमा पर्न सक्छ । यसमा नयाँ पुस्तासँगै सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ’, २२ वर्षअघि देखि महसिकार गर्दै आएका दिलबहादुर गुरुङले भन्नुभयो ।

महसिकारलाई सरकारी तहबाट नै विशेष प्राथमिकतामा राख्नुपर्ने जानकारहरु बताउँछन् । प्रविधिको विकाससँगै नयाँ पुस्तालाई महसिकारसम्बन्धी आवश्यक तालिम र आधुनिक सामग्री उपलब्ध गराउनु आवश्यक रहेको अर्का महसिकारी मिनबहादुर गुरुङको भनाई छ । 

जिल्लाको ताघ्रिङ, घनपोखरा, भुलभुले, भुजुङ, दूधपोखरीलगायतका भिरपहराहरुमा भीर माहुरी प्रशस्तै पाईन्छ । महसिकार गर्ने प्रचलन निकै पुरानो हो । तर पर्यटक आकर्षणका लागि पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा ‘हनी हन्टिङ फेस्टिवल’ रुपमा महसिकार हुँदै आएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया