सिस्नुपानी देउसी : प्रधानमन्त्रीदेखि नागरिकसम्मलाई व्यंग्य (भिडियोसहित)

 कात्तिक २५, २०७५ आइतबार ७:२१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रत्यक वर्षको दिपावलीको अवसर पारेर सिस्नुपानी नेपालले देउसी विशेष कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा देशमा भएको जल्दो बल्दो विषयवस्तुको उठान गरेर व्यंग्य प्रस्तुत गर्ने गर्छ । नेपालका मुख्य नेताहरुलाई नै सहभागी गराएर उनीहरुकै सामु चोटिलो व्यंग्य प्रस्तुत गर्ने गरेको छ ।

सिस्नुपानी नेपालले यस वर्ष पनि नेपाल सरकारसँगै सरकारसँग जोडिएका विभिन्न कुराहरुलाई खुराक बनाएर व्यंग्य प्रस्तुत गर्दै सिस्नुपानी देउसीको आयोजना गरेको थियो । यस वर्षको सीस्नुपानी देउसीमा सरकारकासाथै नागरिकलाई पनि चोटिलो व्यंग्य गरेको  । 

भन भन साथी – जनता
सबैभन्दा माथि –जनता
आँगन बढार्छ –जनता
सडकमा झार्छ –जनता
घुस दिन जान्छ –जनता
भ्रष्टाचार भन्छ –जनता

मान्छेलाई ठग्छ –जनता
ढुङ्गालाई ढोग्छ –जनता
बासी भात बेच्छ –जनता
अनुगमन छेक्छ – जनता

दलालकाँ जान्छ –जनता
तीन बल्ड्याङ खान्छ –जनता
खेत बाँझो राख्छ– जनता
चाउचाउ ताक्छ – जनता

नदीनाला मिच्छ –जनता
छोरी चेली बेच्छ–जनता
रक्सीमा बिक्छ – जनता
कर छल्न सिक्छ – जनता
झाँक्री भई काम्छ – जनता
बोक्सी भन्दै डाम्छ–जनता
दाइजो फलाउँछ– जनता
बुहारी जलाउँछ –जनता

तीनमहिना दर खान्छ –जनता
मोटाउन डर मान्छ –जनता
देश छोडी भाग्छ –जनता
फेसबुकमा जाग्छ –जनता

ऐनामा हेरौँ –जनता
ऐनामा हेरौँ –जनता
आफैँलाई फेरौँ –जनता 
आफैँलाई फेरौँ –जनता ।।

सिस्नुपानीको देउसीमा केपी ओली नेतृत्वको दुई तिहाई सरकारले नेपाली कांग्रेसका सभापती शेरवाहादुर देउवा प्रति गरेको व्यवहारलाई तासको माध्यमबाट चोटिलो व्यंग्य प्रस्तुत गरिएको छ । यता ओली सरकारले जनताको २ तिहाई मत प्राप्त गरे पनि बोले अनुसारको काम व्यवहारीक बन्न नसकेको भन्दै व्यंग्य गरिएको छ ।

नेकपा बैठक, कांग्रेसको विधान, संघीयता, प्रदेश सरकार, प्रदेश राजधानी, पुनर निर्माण लगायतका कुराहरुलाई बिचरा भनिएको छ ।

भन भन साथी हो– बिचरा
कठै बरा – बिचरा
नेकपा बैठक – बिचरा
कांग्रेसको विधान– बिचरा

संघीयता –बिचरा
प्रदेश सरकार –बिचरा
प्रदेश राजधानी –बिचरा
प्रदेश प्रमुख – बिचरा

पुनर निर्माण –बिचरा
स्मार्ट लाइसेन्स –बिचरा
शेरबहादुर तामाङ –बिचरा
सर्वेन्द्र खनाल – बिचरा

नारायण काजी –बिचरा
लालबाबु पण्डित– बिचरा
बाबुराम भट्टराई – बिचरा
रामचन्द्र पौडेल–बिचरा ।।

सिस्नुपानी देउसीको आशिषमा नेपालमा हुने गरेको जाम, जुवातास, लम्पसारवाद, विरोध, ढिलासुस्तीलगायतका कुरालाई सुधार गर्न आवस्यकता दर्शाइएको छ ।

एम्बुलेन्स जाममा नपरोस्, जुवाडे झ्यालबाट नझरोस्
टिको थाप्दा लम्पसार पर्नु नपरोस् ।

सरकारले विरोध पचाओस् आफूलाई पाँच वर्ष बचाओस्
ढिला सुस्ती गर्ने अङ्ग छिटो जँचाओस् ।

मार्सी खुवाउने खेत नहोस् एरपोर्टमा भिसी भेट नहोस्
नेकपाको एकता चङ्गा चेट् नहोस् ।

किला ठोकी सडकमा बलात्कारी बाँधियोस्
भोटे कुकुर छाडेजस्तो टिपर छाडियोस् ।

अहिले नगरे कहिले तिमीले नगरे कसले
इन्धन आयात घटाउला त यौटो बिजुली बसले ?

डाँडा काँडा काटो सेनाले बनायो बाटो
यस्तै कर्म गरोस् सधैं व्यापारको साटो ।

सत्यमोहनझैं शक्ति होस्, राष्ट्र कविझैं आयु होस् 
वागमती झैँ सफाइ होस्, स्वच्छ वायु होस् ।

हावाबाट बिजुली पाइपबाट ग्यास आउला 
भाइबर बाट दालभात खाउँला झ्याप्प निदाउँला ।

निजगढ एयरपोर्ट झरौँला, फास्ट ट्रयाकभित्र छिरौँला
मेची पुगी महाकाली आजै फिरौँला । 

पर्ख पर्ख मयालु म पनि त आउँला
चुच्चे रेलमा चढाएर रारा घुमाउँला ।

भन्ने दिन आएसी तिम्रो भर परौँला 
चन्द्र सूर्य झण्डा बोकी जय जय गरौँला ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया