नेविसंघको आह्वानमा काभ्रेका सबै विद्यालय बन्द

 कात्तिक २५, २०७५ आइतबार १०:२४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रेपलाञ्चाेक – नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाइको माग गर्दै आइतबार र सोमबार काभ्रेका सबै विद्यालय बन्दको घोषणा गरेको छ । 

प्रधानमन्त्रीको तस्बिर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालयको नेविसंघका इकाइ सभापति कृष्ण ढकाल पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले २५ र २६ गते सबै विद्यालय बन्द गर्ने घोषणा गरेको हो । 

१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो शेयर गरेका थिए । ढकाललाई रिहा गर्न माग गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भने २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्काजाम गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश वादेले जानकारी दिनुभयो । 

त्यस्तै, कृष्णले शेयर गरेको फोटो पुनः शेयर गरेको भन्दै पलपल अनलाइनका सञ्चालक कविराज ढकाललाईसमेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुविरुद्ध साइबर क्राइम अन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: कात्तिक २७, २०७५

तपाईको प्रतिक्रिया