ग्यास बोकेको ट्यांकरले ठक्कर दिँदा दुई बटुवाको मृत्यु

 कात्तिक २५, २०७५ आइतबार १४:२३:१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – खाना पकाउने ग्यास बोकेको ट्यांकरले पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका वडा न.-५ विशालटारमा आइतबार ठक्कर दिँदा दुई जना बटुवाको मृत्यु भएको छ ।

ठक्कर दिने क्रममा  ट्यांकर पल्टेको र ट्यांकरबाट ग्यास चुहिएपछि त्यस क्षेत्रमा खतरा पनि बढेको छ । 

भारतबाट काठमाडौतर्फ आउँदै गरेको यू पी ७५ एजे ५२०८ नम्बरको ट्यांकरले सडक किनारामा हिँडिरहेका बेनिघाट रोराङ गाउँपालिका वडा न.-५ की २१ वर्षीया सुनिता नेपाली र उनकी आमा ३५ वर्षीया गीता नेपालीलाई ठक्कर दिँदा ग्यास बुलेट पल्टिएको थियाे भने नेपाली आमा–छोरी घाइते भएका थिए । 

घाइते भएका आमा छोरीको गजुरी प्राथमिक स्थास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । 

दुर्घटनाग्रस्त ग्यास बुलेट बाटोबाट करिब २० मिटर तल पुगेको छ । पल्टेको बुलेटबाट ग्यास चुहिएर त्यस क्षेत्रमा त्रास पैदा भएको स्थानीय शिक्षक राममणि थपलियाले बताउनुभयो । 

प्रहरीले प्राविधिक टोलीको सहयोगमा चुहिएको ठाउँमा टाल्ने काम गरिरहेकोे जनाएको छ । प्रहरीले घटनास्थलमा उद्धारकर्ताबाहेकलाई जानसमेत प्रतिबन्ध लगाएको छ ।  

बुलेट ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरि हिरासतमा लिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया