घर उज्यालो बनाउने सपना अझै पूरा भएन

 कात्तिक २६, २०७५ सोमबार ८:४६:५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– नजिकै ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशय छ । आयोजनाको छेउमै रहेको बेसीशहर नगरपालिका–११, बरबोटको चेपाङ बस्तीका केही घर अझै अन्धकारमा छन् ।  
          
गाउँ नजिकैका सबै घर उज्यालो भए पनि आफूहरु अन्धकारमा बस्न बाध्य भएको चेपाङबस्तीकी ५७ वर्षिया डिलमाया  चेपाङले भन्नुभयो । ‘बिजुली किन्ने पैसा छैन । छिमेकीको घरबाट बिजुली ल्याउन दिंंदैनन् । अन्धकारमै बस्नुपरेको छ,’ उहाँले भन्नुभयो ।

आर्थिक अवस्था कमजोर रहेको चेपाङ बस्तीका बासिन्दाले अध्याँरोमा नै जीवन बिताउनुपरेको स्थानीय अमृता चेपाङले बताउनुभयो । ‘चेपाङ बस्तीका नागरिकको  बिजुली बालेर घर–आँगन उज्यालो बनाउने सपना वर्षौंदेखि पूरा हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।    

पछिल्लो समय जिल्लामा थुप्रै जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् । मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाले २०६५ सालदेखि विद्युत उत्पादन सुरु गरेको हो । यस आयोजनाको बाँधस्थल चितीमै पर्छ । बाँधस्थलबाट सबैभन्दा नजिकको गाउँ हो, चितीको बरबोट । लमजुङमा २०५३ सालमा सामुदायिक विद्युतीकरण सुरु गरिएको हो ।   

२०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाले हाल लमजुङ र तनहुँ गरी २८ हजार भन्दा बढि ग्राहकलाई विद्युत वितरण गरिरहेको छ । बरबोटमा रहेका चेपाङवस्तीको १० घरमध्ये ३ घरले बिजुली जडान गरेका छन् । बाँकी ७ घर अझै अन्धकारमै रहेको स्थानीय कोपिला चेपाङले बताउनुभयो ।    

उहाँका अनुसार चेपाङ समुदायमा केही हुनेखानेले मात्रै बत्ती बालेका छन् । आर्थिक अवस्था कमजोर भएकाले टुकीकै सहारा लिएका छन् । लमजुङको चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ गरी लमजुङमा चेपाङ समुदायको १४ घर रहेको छ ।     
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया