सोलुखुम्बुका किवि कृषकलाई बजारको चिन्ता

 कात्तिक २६, २०७५ सोमबार १०:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुका किवि कृषकलाई बजारको चिन्ताले सताउन थालेको छ । किवि खेती सुरु गरेका कृषकले बजार नपाउँदा चिन्ता बढ्न थालेको हो । 

भर्खरैमात्र उत्पादन सुरु गरेका किसानलाई किवि कसरी र कहाँ लगेर विक्रि गर्ने भन्ने नै थाहा छैन । सोलुखुम्बु मुक्लिका कृषक जगत बहादुर राई भन्नुहुन्छ ‘किवि उत्पादन त हुन्छ तर यसलाई कहाँ लगेर बेच्ने भन्ने नै हामीलाई थाहा छैन ।’

किविको बजारीकरणसम्बन्धी पर्याप्त ज्ञान नहुँदा बिक्री गर्न नसकेको अर्का कृषक ल्हाक्पा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो ‘सञ्चार माध्यमहरुमा किविको बजार राम्रो भएको भन्ने खबर सुने पनि बिक्री गर्न कहाँ र कसरी लैजाने भन्नेबारे थाहा नै छैन ।’

किविको बजारीकरणसम्बन्धी राम्रो ज्ञान नहुँदा विचौलीयाहरुले किसानहरुलाई ठग्ने हुन् कि भन्ने चिन्ता पनि यहाँका किसानहरुलाई पर्न थालेको छ ।

किवि प्रशोधन केन्द्र निर्माण गरिने

किवि भिलेज घोषणा गर्ने गरि काम गरिरहेको थुलुङदुधकोशी गाउँपालिकाले किवि प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ । 

गाउँपालिकाका प्रमुख अशिम राईले यही फागुनबाट एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिने बताउनुभयो । 

प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै जिल्लामा उत्पादीत किविको बजारीकरणमा कुनै समस्या नहुने गाउँपालिका अध्यक्ष राईले दावी गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया