मन्त्रिपरिषद बैठकको निर्णयको सूचना लुकाएको कि व्यवस्थित गर्न लागेको ?

 कात्तिक २६, २०७५ सोमबार १४:५६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सँधै झैँ सार्वजनिक गर्दै आउनु भएको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबारको बैठकपछि भने सार्वजनिक गर्नुभएन । 

बैठकलगत्तै सञ्चारकर्मीमाझ आएर बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्ने प्रवक्ता बास्कोटाले आइतबारको निर्णय सार्वजनिक नगर्दा सरकारले सूचना लुकाउन लाग्यो भन्ने टिप्पणी आयो । 

कतिपय निर्णयहरु बैठकलगत्तै बाहिरिँदा विवादमा परेका घटनाले पनि आइतबार गरिएका निर्णय सरकारले सार्वजनिक नगरेको श्रोतले जनाएको छ । केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले नीलकण्ठ उप्रेतीलाई भारतको राजदूत सिफारिस गरेको निर्णय विवादमा परेको थियो ।  

निर्णय माइन्यूट नहुँदै सार्वजनिक गर्दा विवाद आउने भएकाले अबदेखि बैठक लगत्तै निर्णय सार्वजनिक नगरी व्यवस्थित र नयाँ विधिसहित सार्वजनिक गरिने प्रवक्ता बास्कोटाले बताउनुभयो ।    

मन्त्रिपरिषदका निर्णयहरु अबदेखि पत्रकार सम्मेलन गरेरै जानकारी दिने तयारी सरकारले गरेको छ । बैठक सकिनेबित्तिकै बाहिर निस्केर जानकारी दिने प्रचलन अव्यवस्थित देखिएकाले अबदेखि त्यसलाई व्यवस्थित गर्न पत्रकार सम्मेलन गरेरै जानकारी दिने तयारी थालेको सरकारले जनाएको छ । 

‘मन्त्रिपरिषदको आइतबारको बैठकमा भएका निर्णयहरु सरकारले सार्वजनिक नगर्दा सूचना लुकाउन लागेको भनेर आलोचना भए पनि हामीले त्यसलाई अझ व्यवस्थित ढंगले सूचना सार्वजनिक गर्न थालेका हौँ’, प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले भन्नुभयो ।

अर्यालका अनुसार पत्रकार सम्मेलन गरेरै मन्त्रिपरिषदका निर्णयहरु तथा सरकारका दृष्टिकोणहरु सार्वजनिक गर्ने तयारीमा आफूहरु जुटेको अर्यालले बताउनुभयो ।  
बैठकका निर्णय तत्काल सार्वजनिक गर्दा कतिपय कुराहरुमा विवाद आउने र कतिपय निर्णयहरु परिपक्व नहुने हुँदा बैठकले गरेका निर्णयहरु बैठक बसेको केही दिनपछि पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने पद्धति विकास गर्न लागिएको उहाँले बताउनुभयो । 

‘मन्त्रिपरिषद बैठक रेगुलर बसिरहन्छ, निर्णय पनि भइरहन्छ त्यसैले अब मन्त्रिपरिषद्का निर्णयका साथै सरकारका कामकारबाही र सरकारको दृष्टिकोण सबै पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिन्छ’, अर्यालले बताउनुभयो । 

‘सरकारले सूचना लुकाउन नभई सबै निर्णयहरु पारदर्शी र व्यवस्थित बनाउन यस्तो गर्न लागेको हो’, उहाँले भन्नुभयो, ‘अबदेखि सबै निर्णय वेबसाइटमा पनि राखिन्छ । पत्रकार सम्मेलन गरेर पनि सबैमाझ सार्वजनिक गरिन्छ ।’ 
  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया